तनहुँ । फागुन ५
नेकपा एमाले तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले विगतमा एमालेले यस क्षेत्रको प्रतिनिधित्व गर्दा देखिने गरि काम भएको बताएका छन् । एमालेले २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा तथा प्रदेश सरकारमा सहभागिता हुँदा क्षेत्र नम्बर २ मा देखिने गरि काम भएको सिग्देलले बताए । चुनावी अभियानका क्रममा मंगलबार भिमाद नगरपालिकाको भानुमती पुगेका सिग्देलले स्थानीय मतदाताहरुसँग कुरा गर्दा भिमाददेखी भानुमती जोड्ने भिम भैरव मोटर मार्ग एमालेको पहलकदममीमा कालोपत्रे भएको बताए ।




यसैगरि जरेवर देखि रिट्टाभन्ज्याङ हुदै सिमलभञ्याङ देखि मानपुर जोड्ने उत्तर दक्षिण मार्गको स्तरोन्ती गरि कालोपत्रे गर्ने योजनालाई आगामी दिनमा प्राथमिकतामा राखेको सिग्देलले बताए । विगतमा पनि यो मार्गको स्तरोन्नतीका लागी पहल भएको तर निवर्तमान जनप्रतिनिधिले त्यसमा तदारुकता नदेखाएकोले अलपत्र परेको सिग्देलले आरोप लगाए ।

तनहुँ क्षेत्र नम्बर २ को भुगोल समेत ज्ञान नभएका उम्मेदवारहरु मतदाताको माझ आएको हुदाँ भुगोलसँग भिजेको जनप्रतिनिधि चुन्न उनले आग्रह गरे । ‘एमालेले जित्दा विकास निर्माणका कामले गति लिएको थियो, अहिले एमालेले गरेको कामको जस लिने होड चलेको हुदाँ त्यसमा आम जनता चनाखो बन्नुपर्छ’ सिग्देलले भने ‘चुनावको मुखमा कनिका छरेझै छरेर जनतामा भ्रम पैदा गरेको हुदाँ जनताले त्यस्तो भुगोलसँग साईनो नभएको व्यक्तिको चिप्लो कुरामा फस्नु हुँदैन ।’ जनता र भुगोल प्रति कुनै साईनो नभएका व्यक्तिहरुले चुनावका मुखमा केही समाग्री दिएर मतदातालाई छल गरको समेत उनले आरोप लगाए ।
एमालेको विगतमा जनप्रतिनिधिले करोडौको योजना यो क्षेत्रमा विनियोजन गरि काम गरेको सिग्देलले बताए । ‘एमालेलेका पहलमा करोडौको पुल बनेको छ, बाटाघाटा बनेका छन् तर अहिले आएर भएको कामको जस अहिलेको जनप्रतिनिधि र उम्मेदवारले लिन खोजेका छन्’ सिग्देलले भने ‘तर नभएका र अधुरा काममा एमालेलाई देखाउने अराजनैतिक काम भएको हुदाँ जनताले त्यसलाई चिर्नुपर्छ ।’

दोभानको पुल, क्याक्मीको पुल होस वा बाटो घाटो एमालेको पालामा वनेको भन्दै यो यथार्थलाई सबैले मनन गरेर पुनः एमालेका उम्मेदवारलाई जिताएर बाँकी रहेको विकास निर्माणको काम पुरा गर्नुपर्ने सिग्देलले बताए । जनताको सामिप्यतको आधार नै आफनो जितको आधार भएको भन्दै सिग्देलले जनपक्षिय उम्मेदवार चिन्ने समय आएको बताए ।












