‘पाँच वर्ष भित्र पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनमा सबैको समान अवसर र पहुँच स्थापना गर्ने’
तनहुँ । फागुन ६



नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले आफ्नो प्रतिबद्धता पत्र सार्वजानिक गरेकी छिन् । न्यौपानेले मंगलबार सामाजिक सन्जाल मार्फत आफ्नो प्रतिबद्धता पत्र सार्वजानिक गरेकी हुन् ।
न्यौपानेले प्रतिबद्धतापत्रमा न्यौपानेले हरेक मतले हाम्रो संविधान, लोकतन्त्र र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने बताएकी छिन् । ‘पाँच वर्षभित्र पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनमा सबैको समान अवसर र समान पहुँच स्थापनार्थ तपाईंले प्रत्यक्ष अनुभूति गर्ने गरि कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले भनेकी छिन् ‘फाल्गुन २१ मा आफ्नो मताधिकार प्रयोग गरी नेकपा (एमाले) को तर्फबाट उम्मेदवार म भगवती न्यौपानेलाई आफ्नो अमुल्य मत दिनुहोस् तपाईंको मतले हाम्रो साझा सपना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा साकार गर्न सहयोग पुग्नेछ ।’
सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा निर्माण गरिएको नेपालको संविधान अन्तर्गत प्रतिनिधिसभा सभाको तेस्रो निर्वाचन हुन लागेको भन्दै उनले गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बिचमा हुन गइरहेको यस निर्वाचनको विशेष महत्व रहेको बताएकी छिन् । हामीले खसाउने प्रत्येक मतले मुलुकको आगामी बाटो र भविष्यको फैसला गर्ने भन्दै न्यौपानेले आज राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छ भन्दै उनले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने कि बाह्य सम्बन्धमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात पु¥याउने कुन ध्रुव रोज्ने यस निर्वाचनले स्पष्ट फैसला गर्नुपर्ने उल्लेख गरेकी छिन् ।

मतदाताको एक मतले देशको भाग्य कोर्ने भएकाले आफ्नो अमूल्य मत खसाल्नुअघि विभिन्न विषयमा गम्भीरतापूर्वक विचार गर्न अनुरोध गरेकी छिन् । नेपालको अग्रगतिका लागि अस्थिरता, अव्यवस्था र शक्ति केन्द्रहरूको चलखेल सधैंभरि मुख्य बाधकका रूपमा रहँदै आएको बताइन् । यो केवल मत र प्रतिनिधि चयनको प्रक्रिया होइन, यो हाम्रो लोकतान्त्रिक अधिकार, संविधानको रक्षा, राष्ट्रिय एकता र जनताको समृद्धि सुनिश्चित गर्ने निर्णायक क्षण भएको उनले बताइन् । विगतका वर्षहरूमा राजनीतिक अस्थिरता, योजना कार्यान्वयनको ढिलाइ र जनताको अपेक्षित जीवनस्तरमा सुधार नआउनुमा सवै राजनैतिक दल र राजनैतिक व्यक्तिहरुको कहिँ न कहिँ दोष पक्कै छ भन्दै उनले तर आज हामीसँग आगामी पाँच वर्षमा तपाईं–हामी सबैले प्रत्यक्ष अनुभूति गर्न सक्ने विकास र सेवा प्रवाह मार्फत सकारात्मक परिवर्तन गर्ने सु अवसर प्राप्त भएको बताइन् ।
जेन–जी युवाहरूको शान्तिपूर्ण प्रदर्शनका क्रममा केही षड्यन्त्रकारी तत्वहरूले हिंसा मच्चाउँदा निर्दोष युवाहरूले ज्यान गुमाउनु परेको घटनाले मलाई अत्यन्तै पिडाबोध भएको भन्दै उनले त्यस घटनाका नकारात्मक असरबाट आज मुलुक आक्रान्त बनेको बताइन् । ‘हरेक दृष्टिले मुलुक सङ्कटको सँघारमा छ, लोकतन्त्रको धज्जी उडाइएको छ र अग्रगतिको यात्रालाई उल्ट्याउने काम गरिएको छ । विकास र समृद्धिको यात्रा अवरुद्ध गरी देशलाई ओरालोतिर धकेलिएको छ ।’ उनले भनिन् ‘यस गतिहीनता, अवरोध र उल्टो यात्रालाई रोकी देशलाई शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा अग्रसर गराउनु छ । राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्नु छ । यस घटनाले देखाएको सत्य यही हो कि हाम्रो संविधान, हाम्रो कानून र हाम्रो सुरक्षा संरचना कुनै भीड वा षड्यन्त्रकारी तत्वको दबाबमा कमजोर हुनु हुँदैन । संविधानको रक्षा र लोकतन्त्रको सम्मान गर्नु हामी सबैको जिम्मेवारी हो ।’

आगामी फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचन, यस सङ्कटको चक्रब्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर भएको भन्दै न्यौपानेले षडयन्त्रपूर्ण ढङ्गले विस्थापित गरिएको जनादेशलाई पुनस्र्थापित गर्ने मूल्यवान मौका भएको हुँदा आफ्नो देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौं भनी संसारलाई देखाउने अनुकूल समय हो । यस मौकालाई सदुपयोग गर्न हामी सार्वभौम नेपाली जनतासमक्ष न्यौपानेले अनुरोध गरेकी छिन् ।
संविधानको पूर्ण कार्यान्वयन र कानूनी शासन सुनिश्चित, संघीय, प्रादेशिक र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहयोग, सबै तहमा सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रशासन, राष्ट्रिय स्वाधीनता, सुरक्षा र सार्वभौमिकता सुनिश्चित, सामाजिक न्याय, समान अवसर र समावेशी विकासको प्रवद्र्धन, ग्रामीण तथा शहरी क्षेत्रमा जीवनस्तर सुधार र आधारभूत सेवा उपलब्धताको सुनिश्चितता, शिक्षा, स्वास्थ्य र रोजगारमा गुणस्तरीय पहुँच सुनिश्चित, महिला, बालबालिका, युवा र विपन्न वर्गको अधिकार संरक्षण, प्राकृतिक स्रोतको संरक्षण र दिगो वातावरणीय नीति लागू, कृषि, उद्योग, पर्यटन र नवप्रवर्तनमा प्रोत्साहन, सांस्कृतिक, ऐतिहासिक र राष्ट्रिय गौरवको संरक्षण, आपतकालीन अवस्थामा द्रुत राहत र सामाजिक सुरक्षा सुनिश्चित, पारिवारिक मूल्य, स्थानीय समुदाय र धार्मिक सहिष्णुता प्रवद्र्धन, प्रवासी नेपालीको हित र सुरक्षित रोजगारी सुनिश्चित र जनप्रतिनिधिहरूको जवाफदेहिता र स्थानीय विकासमा प्रत्यक्ष सहभागिता एमालेको प्रतिबद्धता भएको न्यौपानेले जनाएकी छिन् ।

त्यसैगरि आफ्नो निर्वाचन क्षेत्रगत प्रतिवद्धताहरुमा न्यौपानेले पूर्वाधार विकास, कृषि, सिँचाइ र ग्रामीण अर्थतन्त्र तर्फ अन्तरपालिका जोड्ने प्रमुख सडक सञ्जालको स्तरोन्नति, सुरक्षित र दिगो पक्कि पुलमार्फत प्रत्येक गाउँ–सहरलाई जोड्ने योजना, निर्वाचन क्षेत्र भित्रका सम्पूर्ण ग्रामिण बस्तिहरुमा बार्दै महिना सवारी चल्न सक्ने गरी सडक संरचना निर्माण तथा विद्यमान सडकहरुको मर्मत, सुधार गर्दै पक्की संरचना निर्माणमा पहल, आपतकालीन पहुँच सुनिश्चित गर्ने ब्रिज तथा सडक संरचना निर्माण, जलविद्युत र सिँचाइ योजनाहरुमा समन्वय गर्दै सडकपूर्वाधार विकास, बस्ति संरक्षणमा पहल, ग्रामीण र कृषि सडक विस्तार, उत्पादन र बजार पहुँच सहज बनाउने, डिजिटल पूर्वाधारसँग समन्वय गरी स्मार्ट सडक तथा स्मार्ट सिटिको निर्माण योजना, किसानको आय बढाउने र कृषि आधुनिकीकरणमा जोड, गाउँमा आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माण, नदी, खोल्सा र मुहानमा आधारित स्थायी सिँचाइ भुमिगत सिंचाई आयोजना निर्माण गर्नु रहेको बताएकी छिन् ।
त्यसैगरि खाद्यन्नबालि, फलफुल खेती, मौरीपालन तथा पशुपन्छीपालनका लागि विशेष कार्यक्रम अन्तर्गत न्यूनतम समर्थन मूल्य लागू गरी सहकारी र बजार व्यवस्थापन, कृषि उपज संकलन केन्द्र र आधुनिक चिस्यान भण्डारण केन्द्र स्थापना, गाउँ–सहर जोड्ने कृषि सडक विस्तार, कृषि व्यवसायमा संलग्न महिला र युवालाई सहुलियत ऋण र अनुदानमा पहल, प्राविधिक तालिम र नवप्रवर्तन प्रवद्र्धनका कार्यक्रममा जोड दिनु रहेको बताएकी छिन् । यसबाट पाँच वर्षभित्र किसानले आफ्नो उत्पादनको उचित मूल्य र स्थिर आम्दानी प्राप्त गर्ने उनको अपेक्षा रहेको छ ।
त्यसैगरि रोजगारी, युवा र उद्यमशीलता विकास अन्तर्गत स्थानीयस्तरमा सिपमा आधारित रोजगारी सुनिश्चित कार्यक्रममा जोड, युवाका लागि सीपमूलक तालिम र व्यावसायिक प्रशिक्षण, कृषि, पर्यटन, निर्माण र सेवाक्षेत्रमा स्थानीय श्रमलाई प्राथमिकता, वैदेशिक रोजगारीबाट फर्किएका युवाको पुनःस्थापना र रोजगारी, स्टार्टअप, नवप्रवर्तन र साना उद्यमका लागि सामुहिक युवा उद्यम कार्यक्रम संचालन, युवालाई आफ्नै क्षेत्रमा व्यवसाय र भविष्यको अवसर सिर्जना, रोजगार सिर्जना गर्न निजी र सहकारी क्षेत्रहरुसंग साझेदारी तथा उद्योग स्थापनामा प्रोत्साहन, महिला, दलित, आदिवासी तथा विपन्न युवाका लागि विशेष रोजगारी कार्यक्रम, डिजिटल, सूचना प्रविधि र नव प्रवर्तनमूलक काममा अवसर विस्तार गर्ने आफ्नो योजना रहेको उनले बताइन् ।
महिला सशक्तिकरण र सामाजिक न्याय तर्फ महिला, पुरुष दुवैलाई समान अवसर, सम्मान र सहभागिता सुनिश्चित, महिलाको आर्थिक सशक्तिकरणका लागि सहकारी, उद्यम र सीप विकास, हिंसा पीडित, एकल र विपन्न महिलालाई सुरक्षा र पुनःस्थापना कार्यक्रम संचालन, नीति र निर्णय तहमा महिलाको अर्थपूर्ण सहभागिता, दलित, जनजाति, अपाङ्गता भएका नागरिक र पिछडिएका समुदायको समावेशी पहुँच, रोजगारीका विभिन्न क्षेत्रहरुमा महिला, बालबालिकाको विशेष संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय प्रवद्र्धन र नेतृत्व क्षमता विकासमा प्राथमिकता तथा स्थानीय तहमा महिला उद्यम, स्वरोजगार र वित्तीय पहुँचलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
शिक्षा र स्वास्थ्य अन्तर्गत पाँच वर्ष भित्र सामुदायिक विद्यालयको सुदृढीकरण र गुणस्तर सुधार, प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार र प्राविधिक शिक्षालय स्थापनामा पहल, सामुदायिक विद्यालयमा डिजिटल कक्षा र शिक्षक क्षमता विकास, विद्यालयस्तरमा छात्रवृत्ति तथा प्रतिभा पहिचान कार्यक्रम सन्चालन, आधुनिक शिक्षण सामग्री र प्रविधिमा पहुँच सुनिश्चित, विद्यालय पूर्वाधार र खेलकुद सुविधामा सुधार, बालबालिका र युवामा नवप्रवर्तनात्मक शिक्षा प्रवद्र्धन, स्थानीय भाषामा गुणस्तरीय शिक्षा सुनिश्चितमा पहल, महिला र पिछडिएका समुदायका लागि विशेष कार्यक्रमहरु संचालन, निर्वाचन क्षेत्र भित्रका नगर अस्पतालहरुको सुदृढीकरण, निर्वाचन क्षेत्र भित्रका नागरिकहरुलाई पायक पर्ने स्थानमा एउटा विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न अस्पताल निर्माणमा पहल, स्वास्थ्य चौकीहरुको विस्तार र गुणस्तरीय सेवा सुनिश्चित, विशेषज्ञ सेवा र टेलिमेडिसिनको पहुँच, मातृ, बालबालिका र जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रमहरुको विस्तार, निःशुल्क औषधि र स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताका लागि पहल, आकस्मिक स्वास्थ्य सेवा र आपतकालीन राहत कार्यक्रमहरु सन्चालन, स्थानीय स्वास्थ्यकर्मी प्रशिक्षण र क्षमता विकास कार्यक्रम सन्चालन र ग्रामीण क्षेत्रमा मोबाइल स्वास्थ्य सेवा र पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाइन् ।

धर्म, संस्कृति र सामाजिक सद्भाव तर्फ स्थानीय धार्मिक स्थलहरुको संरक्षण र पूर्वाधार विकासमा जोड, मेला, पर्व र जात्राको व्यवस्थित प्रवद्र्धन, धार्मिक पर्यटनमार्फत स्थानीय रोजगारी सिर्जना, सबै धर्म, संस्कृति र आस्थाप्रति समान सम्मान, सांस्कृतिक सम्पदा संरक्षण र स्थानीय कला प्रवद्र्धन, ऐतिहासिक स्थल र सम्पदाको दिगो व्यवस्थापनमा जोड, सामाजिक सद्भाव, सहिष्णुता प्रवद्र्धन तथा स्थानीय भाषा, कला, नृत्य र परम्परा संरक्षण गर्ने बताएकी छिन् ।
त्यसैगरि पर्यटन विकास तर्फ छाव्दि बराह, थानिमाई, बन्दीपुर, छिम्केश्वरी, देवघाट पर्यटन सर्किट विकास, पर्यटकिय स्थानहरुमा होमस्टे तथा होटलहरुको प्रवद्र्धन, पर्यटनसँग जोडिएका युवालाई तालिम र क्षमता विकास, नवप्रवर्तन र साना पर्यटन व्यवसायका लागि सहुलियत ऋण र प्रवद्र्धन, स्थानीय कला, संस्कृति र खानाको ब्रान्डिङ कार्यक्रम सन्चालन, ऐतिहासिक र प्राकृतिक स्थलको संरक्षण, पूर्वाधार विकास र आकर्षण वृद्धि, सुरक्षित, दिगो र वातावरणमैत्री पर्यटन, ग्रामीण पर्यटन मार्फत समुदायको आर्थिक सशक्तिकरण र सूचना तथा प्रविधि प्रयोग गरी पर्यटकिय सेवा र पहुँचमा सुधार गर्ने आफ्नो योजना रहेको बताइन् ।
त्यस्तै सुशासन, जवाफदेहिता तर्फ भ्रष्टाचारप्रति शून्य सहनशीलता, सेवा प्रवाहमा पारदर्शिता, सरलता र समयसीमा सुनिश्चित, जनप्रतिनिधि र नागरिकबीच नियमित संवाद र प्रत्यक्ष जवाफदेहिता, पाँच वर्षभित्र सबैले अनुभूति गर्ने परिवर्तन सुनिश्चित, सुशासन, नियम र कानुनको सम्मान गर्दै संविधानको संरक्षण र पूर्ण कार्यान्वयन, सार्वभौमसत्ता र स्वाधीनता सुरक्षित, लोकतन्त्र र नागरिक अधिकारको प्रवद्र्धन, काँधमा काँध मिलाएर समृद्ध नेपाल, सुखी नेपालीको साझा सपना साकार पार्ने आयोजना योजना रहेको उम्मेदवार न्यौपानेले प्रतिबद्धता पत्रमा उल्लेख गरेकी छिन् ।












