चेतनाको आकाशमा ग्रहणः खगोलीय छायाँ कि आत्म–मन्थनको अवसर ?

Devghat Online

शेयर गरौ

रामचन्द्र ढकाल
(अन्वेषक, इतिहास एवं संस्कृतिविद्)

हाम्रो ऋषि परम्पराको एउटा अत्यन्तै प्रसिद्ध र गहिरो अर्थ बोकेको सूत्र छ, “यत् पिण्डे तत् ब्रह्माण्डे ।” अर्थात्, जे यो लघु ब्रह्माण्ड रूपी शरीरमा छ, त्यही नै विशाल ब्रह्माण्डमा छ । जब हामी आकाशमा सूर्य वा चन्द्रमालाई छायाले ढाकेको देख्छौँ, त्यो केवल एउटा भौतिक वा खगोलीय परिघटना मात्र होइन । सूक्ष्म दृष्टिले हेर्ने हो भने, त्यो प्रकृतिको एउटा यस्तो ऐना हो, जसले हाम्रो आन्तरिक जगतको उथलपुथल र चेतनाको अवस्थालाई प्रतिबिम्बित गरिरहेको हुन्छ ।

आधुनिक खगोल विज्ञानले राहु र केतुलाई ‘नोड्स’ ( Ascending and Descending Nodes ) का रूपमा परिभाषित गर्छ, जहाँ पृथ्वी र चन्द्रमाको कक्ष काटिन्छन् । तर, हाम्रा ऋषिहरूले यसलाई ‘राक्षस’ को संज्ञा दिएर मानव मनोविज्ञानको एउटा गहिरो पाटोलाई उजागर गरिदिएका छन् ।

राहु त्यो शक्ति हो । जसको टाउको छ तर शरीर छैन । यो ‘अतृप्ति’ को प्रतीक हो । टाउको मात्र भएकाले यसले जति खाए पनि अघाउँदैन, किनकि यसको भोक मेट्ने आधार (पेट) छैन । यो हाम्रा ती अनियन्त्रित र बाह्यमुखी इच्छाहरू हुन्, जसले हामीलाई सधैँ बाहिर दौडाइरहन्छन् । अर्कोतर्फ, केतु शरीर हो तर टाउको छैन । यो भित्री अनुभव र वैराग्यको प्रतीक हो ।
जब ग्रहण लाग्छ, अर्थात् जब राहुले सूर्य (आत्मा) वा चन्द्र (मन) लाई छोप्छ, त्यसले एउटा स्पष्ट संकेत दिन्छ । अत्याधिक सांसारिक चाहनाले हाम्रो विवेक र स्पष्टतालाई केही समयका लागि अन्धकारमा पार्न सक्छ ।

उपनिषद्ले परमात्मालाई “ज्योतिषामपि तज्ज्योतिः” अर्थात् ‘ज्योतिहरूको पनि ज्योति’ भनेको छ । ग्रहणको समयमा बाह्य प्रकाश कम हुँदा ऋषिहरूले ’अन्तश्चक्षु’ (भित्री आँखा) खोल्न सुझाव दिएका छन् ।

यसको ऐतिहासिक र शास्त्रीय आधार पनि उत्तिकै बलियो छ । ऋग्वेदमा अत्रि ऋषिले ‘स्वर्भानु’ (राहु) द्वारा सिर्जित अन्धकारलाई हटाएर सूर्यको रक्षा गरेको प्रसङ्ग आउँछ । यो कुनै भौतिक युद्धको कथा होइन, बरु ध्यान र मन्त्रको ऊर्जाद्वारा अज्ञानको अन्धकारमाथि विजय प्राप्त गर्ने प्रतीकात्मक मार्ग दर्शन हो । यसले के सिद्ध गर्छ भने, प्राचीन ऋषिहरूलाई ग्रहणको समय र त्यसले मानव मस्तिष्कमा पार्ने सूक्ष्म प्रभावको पूर्ण ज्ञान थियो ।

तन्त्र शास्त्रको दृष्टिमा हाम्रो शरीर ऊर्जाको एउटा सञ्जाल हो । यहाँ सूर्य नाडी (पिङ्गला) र चन्द्र नाडी (इडा) प्रवाहित छन् । ब्रह्माण्डमा हुने ठुला उथलपुथलले हाम्रो शरीरको ‘बायो–म्याग्नेटिक’ क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्छ ।

ग्रहणको समयमा बाहिर देखिने अन्धकारले हामीलाई एउटा ठुलो पाठ सिकाउँछ । संसारमा केही पनि स्थायी छैन । जसरी केही समयको अन्धकारपछि सूर्य पुनः आफ्नो पूर्ण चमकका साथ प्रकट हुन्छ, त्यसरी नै साधक वा सामान्य मानिसको जीवनमा आउने कष्ट र अज्ञान पनि अस्थायी हुन् । यो समय भनेको ती कष्टहरूसँग डराउने होइन, बरु धैर्य र साधनाद्वारा ऊर्जालाई रूपान्तरण गर्ने समय हो ।

हामी भन्छौँ, “मौनता पनि एउटा प्रार्थना हो ।” ग्रहणको बेला जप, ध्यान र मौन बस्नुको पछाडि वैज्ञानिक कारणहरू पनि लुकेका छन् । विकिरणमा आउने परिवर्तनले हाम्रो स्नायु प्रणालीलाई उत्तेजित बनाउन सक्छ । यस्तो बेला मौन बस्नु र ध्यानमा लीन हुनुले हाम्रो स्नायु प्रणालीलाई शान्त राख्न र ब्रह्माण्डीय ऊर्जालाई सकारात्मक रूपमा ग्रहण गर्न मद्दत गर्छ ।

अतः ऋषि परम्पराले ग्रहणलाई कहिल्यै ‘डर’ वा ‘त्रास’ को विषय मानेन, बरु यसलाई एउटा दुर्लभ ‘अवसर’ को रूपमा व्याख्या ग¥यो । यो त्यो विशेष क्षण हो, जहाँ हामीले आफ्ना राहु (लोभ) र केतु (भ्रम) बाट माथि उठेर सूर्य (आत्म–ज्ञान) तिर फर्कने प्रयास गर्नुपर्छ । शास्त्र र विज्ञानको यो सुन्दर समन्वय नै हाम्रो सनातन संस्कृतिको जग हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू