तनहुँ । फागुन १९
प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन तोकिएका सवारी साधन मात्र सन्चालन हुने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएका सवारी साधनलाई मात्र सन्चालनको अनुमति दिईएको जनाएको छ ।



निर्वाचन आयोगको मिति फागुन १३ गतेको निर्णय र आयोगकै फागुन १६ गतेको प्रेस विज्ञप्ति तथा गृह मन्त्रालयको पत्रानुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को दिन अर्थात् २०८२ फागुन २१ गते मतदानको दिनमा अत्यावश्यक सेवा र सवारी पास लिएका सवारी साधन वाहेक अन्य सार्वजनिक तया निजी सवारी साधनहरु २०८२ फागुन २० गते राती १२ः०० बजे देखी फागुन २१ गते मतदान कार्य समास भए पश्चात साँझ ७ः०० बजे सम्मका लागि रोक लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचनको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्यांकर, दुध, फलफूल, तरकारी, माछा, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (सवारी साधनको देखिने स्थानमा अत्यावश्यक सेवा र सम्वन्धित सेवाको स्टिकर टाँसेर हिड्ने), दुरसन्चार सेवा, खानेपानी, विद्युत, ढल मर्मतका लागि प्रयोग हुने सवारी साधन (परिचयपत्र साथमा राख्नुपर्ने), स्वास्थ्य तथा अस्पताल सेवाका सवारी साधनहरु अस्पतालका चिकित्सक र सवास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पताल देखि घरसम्म आवतजावत गर्न सकिने र सोको लागि कर्मचारीको परिचयपत्र अनिवार्य रुपमा साथमा राख्नुपर्ने तथा हिडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै चच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रुपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेको सवारी साधनलाई पास नचाहिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरि नम्बर प्लेटमा सीडी उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन, आयोगबाट जारी भएको पर्यवेक्षक परिचयपत्र बाहक पर्यवेक्षकका लागि प्रयोग गर्ने सवारी साधन (सो परिचयपत्रमा उल्लेखित स्थानमा मात्र। राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन/पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारी साधन र प्रेस पास भएका पत्रकारका सवारी साधनलाई पनि पास नचाहिने प्रशासनले जनाएको छ । तर उल्लेखित सवारी साधनहरु सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्नुहुन र असम्बन्धित यात्रुहरु नवोक्न प्रशासनले जनाएको छ ।
त्यसैगरि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको सिफारिसमा उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय तनहुँवाट पास जारी भई रहेको भन्दै प्रशासनले जारी भएको अनुमति प्राप्त सवारी साधन सम्बन्धित व्यक्ति बाहेक अरुले प्रयोग गर्न नपाउने व्यहोरा समेत जनाएको छ ।
उल्लेखित व्यवस्था विपरित हुने गरी कोही कसैले अन्य सवारी साधन चलाएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।












