फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १९

फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई मन्दिरमा भक्तजनको भीड लागेको छ । सोमबार फागुपूर्णिमाको अवसर पारेर करिब १० हजार भक्तजनहरूले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका थिए । धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मानिने यस मन्दिरमा विशेष गरी फागुपूर्णिमा, दशैं र अन्य पर्वहरूमा ठूलो संख्यामा श्रद्धालुहरू पुग्ने गर्छन् ।

आबुँखैरेनी गाउँपालिका–५ मा रहेको बुढीदेवी–छिम्केश्वरी माई मन्दिर समुन्द्र सतहदेखि दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको धार्मिक स्थल हो । यहाँबाट हिमशृङ्खला, हरियाली पहाड र आसपासका रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक आस्था मात्र होइन, प्राकृतिक सौन्दर्यका कारण पनि यो स्थान आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ ।

छिम्केश्वरी मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । छिम्केश्वरी महाभारत पर्वत श्रृङखलाको उच्च भागमा रहेको पर्वतीय श्रृङखला हो । पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ ।

पछिल्लो समय छिम्केश्वरीमा पूजाआजा र दर्शनका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । छिम्केश्वरीमा अन्य दिनमा दैनिक ५० देखि एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ विशेषगरी नयाँवर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा दश हजार भक्तजनले पूजाआजा गरेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले जानकारी दिए ।

यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवनबाट पनि भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउछन् । उनका अनुसार एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा पनि छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाईमा पूजा गरेपछि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय दश पर्यटकीय गन्तव्यमा सूचीकृत छिम्केश्वरीमा रु ४५ लाखको लागतमा छिम्केश्वरी मन्दिर पुनर्निर्माण हालै पूरा भएको छ । प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५–७६ मा रु ४१ लाख ६३ हजार सात सयको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६–७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनर्निर्माण भएको छ । यसको थप विकासका लागि योजना बनाउँदैछौ ।’ छिम्केश्वरीसम्म पुग्ने सडकमा कालोपत्र भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस खण्डमा कालोपत्र गरिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र संघ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको थियो ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिए । हिलेखर्कमा रहेका दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि गत कात्तिक ८ गतेदेखि १५ गतेसम्म आबुँखैरेनीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सन्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी