विष्णु मगर । देवघाट, चैत १
डिभिजन वन कार्यलय तनहुँ तथा सब डिभिजन बन कार्यलय देवघाटको आयोजना एवं सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ देवघाटको समन्वयमा देवघाटमा आइतबार वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।



वन डढेलो व्यवस्थापन सप्ताह २०८२ को अवसरमा आयोजित उक्त कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत नविन विश्वकर्माले अवको तीन महिना डढेलोवाट वन जोगाउनको लागि सबै उपभोक्ता समितिहरु सचेत बन्नुपर्ने बताए । आगलागी हुँदा सामुदायिक वनमा करौडोको नोक्सान हुने कुरा जनसमुदायमा चेतनाको बिकास नहुदा वनमा आगलागी हुने गरेको उनले बताए ।

वन डढेलोबाट बचाउन उपभोक्ताहरुको मुख्य हात हुने भन्दै उनले वनको संरक्षण र विनासमा उपभोक्ताको भुमिका हुने बताए । आगलागी हुनको लागि जल्ने, जलाउने बस्तु र हावा चाहिने हुदा यी चिजहरुलाई कम गराउन पर्ने विश्वकर्माले बताए । वन डढेलो व्यवस्थापन सप्ताहको क्रममा सातै दिन सचेतनाका कार्यक्रम सन्चालन गर्नुपर्ने उनको भनाई थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले भौगोलिक हिसावले पनि माथिल्लो वन क्षेत्रमा परेको वनहरुबाट आगलागी हुने गरेको भन्दै ती ठाउँहरुमा धेरै भन्दा धेरै जनचेतना फैलाउनुपर्ने बताए । सामुदायिक वन समुहहरुले आगलागी हुने समयमा आगो निभाउनको लागि आवश्यक पर्ने साम्रागीहरु पर्याप्त मात्रामा राख्नुपर्ने न्यौपानेले बताए ।

उक्त कार्यक्रममा देवघाटका सबै सामुदायिक वन समुहको प्रतिनिधित्व गर्दै रानिवन सामुदायिक वन समुहका अध्यक्ष टुकनाथ अधिकारीले यो तीन महिना भरी आगलागी हुने सम्भावना बढी रहेको हुँदा यसमा सबै वनका कार्यसमिति, उपभोक्ताहरु सचेत हुनुपर्ने बताए । एउटा वनमा मात्र आगलागी भए सबै वनमा आगलागी सल्किने हुने भएकोले आगलागी हुनासाथ सबै उपभोक्ताहरुले आगो निभाउन जानुपर्ने अधिकारीको भनाई थियो ।

सो कार्यक्रममा मधुवन सामुदायिक वन समुहका अध्यक्ष डिल्लीराम गिरीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा सामुदवायनिक वन उपभोक्ता महासंघ देवघाटका अध्यक्ष प्रविण कार्कीले पनि मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन रानिवन सामुदायिक वनका सचिव इन्द्रा माया थापाले गरेकी थिइन् ।
यसैअवसरमा देवघाटमा सबै सामुदायिक वन समुहका उपभोक्ताको सहभागितामा आगलागीबाट वन जोगाउने सचेतना सहितको प्लेकार्ड सहितको ¥याली निकालिएको थियो ।












