महेश आश्रम देवघाटका पिठाधिशद्वारा हुने बृहत् पाशुपत पदयात्राको घोषणापत्र पारित

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत ८

बृहत् पाशुपत पदयात्रा २०८२ का सङ्कल्पकर्ता देवघाटधाम स्थित महेश सन्यास आश्रमका पिठाधिश स्वामी रमणानन्द गिरिले पदयात्रा सम्बन्धी पञ्चसूत्रीय सङ्कल्प पत्र जारी गरेका छन् । शङ्कराचार्यमठ पशुपतिमा आयोजित पदयात्रा सम्बन्धी विमर्श सभामा स्वामी रमणानन्द गिरिले प्रस्तावित पाँचसूत्रीय सङ्कल्पपत्र बारे जानकारी गराए ।

विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाको प्रतिनिधिमूलक सहभागिता रहेको उक्त समारोहमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्मा, आध्यात्मिक अभियन्ता डा. वासुदेव कृष्णशास्त्री, अनुसन्धाता सूर्य माखिम, शोधार्थी श्यामकृष्ण सुवेदी, हिमवत्–आर्ष प्रज्ञाकी अध्यक्ष कल्पना घिमिरे, नेपाल वेदविद्याश्रमका पूर्व प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल, वाल्मीकी विद्यापीठका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरे, महेश–छात्र परिषद्का प्रतिनिधि पं.राममणि कुइँकेल, नाद–संगीत,पशुपतिकी प्रशिक्षिका सरिता मिश्र, आध्यामिक साधिका अलका लम्साल लगायतको सहभागिता रहेको उक्त समारोहको अध्यक्षता महेश सन्न्यास आश्रमका पीठाधीश एवम् महेश संस्कृत गुरुकुलम्, देवघाटधामका अध्यक्ष स्वामी रमणानन्द गिरिले गरेका थिए ।

समारोहमा श्रीपशुपति क्षेत्रविकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माद्वारा सन्तको सङ्कल्पमा आयोजना हुन लागेको राष्ट्रिय महोत्सवरूप पाशुपत–परिक्रमालाई भव्यताका साथ सम्पन्न गर्नका लागि पशुपति क्षेत्र विकास कोषले सहयात्री तथा आयोजकका रूपमा यथाशक्य सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । योगी नरहरिनाथ तथा बालखिलेश्वर जस्ता सन्त–महात्माको उदाहरण पेस गर्दै सदस्य–सचिव शर्माद्वारा सन्तद्वारा सत्सङ्कल्पित ‘बृहत् पाशुपत पदयात्रा’ राष्ट्रका लागि महोत्सव हुँदाहुँदै संसारमै दैवी शक्ति उजागर गर्न, तत्तत् ज्योतिर्लिङ्ग, मठ मन्दिरको संरक्षण र जीर्णोद्वार गर्न, सनातन धर्म संस्कृतिप्रति नेपाली जनमानसमा जागरण ल्याउन सफल हुने धारणा राखिएको थियो ।
त्रिभूवन विश्वविद्यालयबाट ‘स्वदेशीय प्रज्ञाको अनुसन्धान’ विषयमा विद्यावारिधि–अनुसन्धानरत सूर्य माखिम लिम्बूबाट विचार–विमर्शका क्रममा हाल नेपालमा तामसिक कार्यक्रममा जनताको भिड हुने तर यस किसिमका सात्त्विक ज्ञान समारोहमा जनमानसको चासो नरहने स्थितिप्रति चिन्ता प्रकट गर्दै ६४ ज्योर्तिलिङ्गको दर्शनसहितको ‘बृहत् पाशुपत पदयात्रा’ ले सनातन प्रज्ञालाई उजागर गर्न सफल रहोस भन्ने शुभकामना व्यक्त गरे ।

साथै पशुपति ऊर्जालाई धार्मिक दृष्टिले मात्र नभई राजनीतिक, सांस्कृतिक, प्राज्ञिक दृष्टिले समेत व्याख्या गर्नु आजको आवश्यकता हो भन्ने विचार माखिमद्वारा व्यक्त भएको थियो । हिमवत्–आर्ष प्रज्ञाकी अध्यक्ष तथा अध्यात्म–साधिका कल्पना घिमिरेद्वारा स्वामीज्यूको दिव्य सङ्कल्पमा पाशुपत क्षेत्र तथा वाग्मती नदीको पवित्रता तथा स्वच्छताको दीर्घकालीन लक्ष्य तथा समस्त नेपालीलाई पाशुपत क्षेत्रको महिमाबारे शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस पशुपति–परिक्रमा पशुपतिनाथको आशीर्वादले भव्यताका साथ सम्पन्न हुने विश्वास प्रकट गर्दै ‘पाशुपत पदयात्रा’ को सहजताका लागि दक्षिणास्वरूप रू.१,५०,००० (एकलाख पचास हजार) स्वामी रमाणनन्द गिरिको करकमलमा समर्पण गरिएको थियो । ‘बृहत् पाशुपत परिक्रमा’ मूल आयोजक समितिका सचिव श्यामकृष्ण सुवेदीबाट चतुषष्टी ज्योतिर्लिङ्गको शास्त्रीय महत्त्व र स्थलगत जानकारी एवम् अनुमानित ४० दिवसीय पैदल यात्राका सम्बन्धमा प्रकाश पारिएको थियो । सुवेदीका अनुसार नेमुनिको मार्गनिर्देशमा विरूपाक्षले आदिलिङ्ग कुशेश्वरबाट प्रारम्भ गरी ६४ सिद्ध लिङ्गहरूको दर्शन गरेको पौराणिक क्रम अनुसार नै यो पाशुपत परिक्रमा तथा सिद्धलिङ्ग दर्शन– यात्रा सम्पन्न हुने छ ।

‘बृहत–पाशुपत पदयात्रा’ का सङ्कल्पकर्ता तथा विमर्श समारोहका सभाध्यक्ष स्वामी रमणानन्द गिरिबाट समस्त ज्योतिर्लिङ्गका शिरोभाग तथा महाज्योतिर्लिङ्ग भगवान् श्रीपशुपतिनाथलाई राष्ट्रदेवका रूपमा पाउनु हामी नेपालीको अहोभाग्य हो भने सोही पशुपतिक्षेत्रलाई राजनीतिक नेतृत्व र पशुपतिको रूद्राभिषेकका लागि शिवजीको जिह्वाबाट अमृतद्रवका रूपमा निस्किएकी वाग्वती (वाग्मती) नदीलाई मानवीय गतिविधिबाट प्रदूषित बनाउनु हामी नेपालीको अक्षम्य अपराध हो भन्ने हृदयङ्गम गर्दै शिवापराध क्षमापनका लागि यही चैत्र १६ गते (आदिलिङ्ग कुशेश्वर पूजन) देखि ६४ सिद्धलिङ्गको दर्शन तथा ‘पाशुपत– पदयात्रा’ आयोजना गर्न लागिएको बताए ।

वि.स. २०५० को दशकको प्रारम्भ देखि वाग्मति प्रदूषित भएको र त्यही प्रदूषित जलले समेत पशुपतिको जलाभिषेक गरिएकाले नेपालीलाई शिवापराध लागेको अनि शिव शिव रूष्ट भएकाले दरवार हत्याकाण्ड, राजनीतिक खिचातानी, हत्या– हिंसा, आपसी वैमनस्य, बेमेल, विद्वेष, प्राकृतिक प्रकोप (बाढी, पहिरो, भूकम्प, कोरोना आदि) जस्ता समस्याले राष्ट्र आक्रान्त भएको हुन सक्ने साधु अन्तःस्तलमा आभास तथा अनुभव हुनगएकाले रूद्रस्वरूप भगवान् पशुपतिनाथ समक्ष क्षमायाचना गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको पाशुपत– पदयात्रा तथा चतुःषष्ठी ज्योतिर्लिङ्गको दर्शनको आयोजना गरिएको विचार स्वामी रमणानन्दवाट प्रकट भएको थियो ।

राष्ट्रकै अपराधले गर्दा देश र देशवासीले भोग्नु परेका दैवी विपत्ति तथा प्राकृतिक प्रकोप एवम् राजनीतिक विषम परिस्थितिको उपशम (शान्ति) का लागि राज्य र जनस्तरबाट क्षमायाचना (माफी–प्रार्थना) गर्नु अनिवार्य भएकाले यस महा–अभियानमा तैँले वा उसले आयोजना गरेको भन्ने नठानीकन सबै धार्मिक संघ–संस्था, राज्यका सम्बन्धित निकाय र समस्त नेपाली सहभागी हुन पर्ने धारणा स्वामी रमणानन्दबाट आह्वान भएको थियो ।

उक्त सभामा स्वामी रमणानन्दबाट प्रस्तावित पाँचसूत्रीय सङ्कल्पपत्रः

‘बृहत् पाशुपत पदयात्रा तथा पशुपति–घोषणापत्र’

राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ र जगज्जननी गुह्यकाली युगलरूपमा विराजित पवित्र पाशुपतक्षेत्र सम्पूर्ण ज्योतिर्लिङ्गहरूको शिरोभाग र आध्यात्मिकताको सहस्रारस्थानको रूपमा वैदिक सनातन धर्मावलम्बीका लागि सबैभन्दा पवित्र तीर्थक्षेत्र रहेको तथा शिवको जिह्वाबाट अमृतद्रवको रूपमा प्रकट भएकी वाग्वती (वाग्मती) को महिमा भागीरथीगङ्गाभन्दा पनि सय गुणा बढी रहेको पौराणिक तथ्यलाई मनन गर्दै पाशुपत क्षेत्रलाई विगतकै भव्यतम पौराणिक स्वरूपमा संरक्षित गर्न राज्य र जनस्तरमा विविध अभियान सञ्चालन गर्ने सङ्कल्पका साथ प्रस्तुत पशुपति घोषणापत्र पारित गर्दछौँ ।

प्रस्ताव नं–१– क्षमायाचना

वाग्वतीलाई मलीन (प्रदूषित) बनाई शिवजीलाई नित्य रुद्राभिषेक गर्न नसक्ने बनाउने र पाशुपत क्षेत्रलाई दलीय गुटबन्दीको शिकार बनाउने जस्ता कुकृत्यहरूले गर्दा समग्र राष्ट्रलाई शिवापराध लागी राष्ट्रमा परस्पर विद्वेष, हिंसा र असहिष्णुता सँगै राष्ट्र–विप्लवको खतरा बढिरहेकाले यसको क्षमापनका लागि सबै मिली राष्ट्रदेवसँग क्षमायाचना गर्ने ।

प्रस्ताव नं.२– राज्यलाई खबरदारी

पाशुपतक्षेत्रलाई फोहोरजन्य मानवीय प्रदूषण र राजनैतिक प्रदूषणबाट मुक्त राखी विश्वभरिकै वैदिक तीर्थाटनको केन्द्रविन्दु बनाउन विविध योजना कार्यान्वयन गर्नका लागि राज्यलाई खवरदारी र पृष्ठपोषण प्रदान गर्ने ।

प्रस्ताव नं. ३– आध्यात्मिक समन्वयको सन्देश

शिवको किराँतीरूप किराँतेश्वरदेखि वर्षमा एकपटक अवलोकितेश्वरका रूपमा बुद्धको मुकुट चढाउने प्रचलनसमेत यही पाशुपत क्षेत्रमा मात्र रहेकाले विश्वभरिका धार्मिक द्वन्द्वरत राष्ट्र र सङ्गठनहरुलाई आध्यात्मिक समन्वयको सन्देश दिने गुरुराष्ट्रको रूपमा नेपाललाई नेतृत्व दिलाउन पहल गर्ने ।

प्रस्ताव नं.४– व्यवस्थाको अनुगमन

पाशुपत क्षेत्रमा स्थापित विविध मन्दिर र देवविग्रहहरूको नित्यपूजा, श्रीयुतशिवको पूजामा शुद्ध पञ्चामृत र जलको प्रयोग एवम् तपस्वी साधुसन्तहरूको साधनात्मक निवासको समुचित व्यवस्था गर्न प्रेरणा दिने उद्देश्यले अधिकार प्राप्त संस्थाहरूसँग अन्तःसंवाद तथा अनुगमन गर्ने ।

प्रस्ताव नं. ५– अभियान सञ्चालन

चौसट्ठी सिद्धलिङ्ग दर्शनसहितको पूर्ण पाशुपतक्षेत्र परिक्रमा र वाग्मती परिक्रमा लगायत यस क्षेत्रका सिद्ध पीठहरूको दर्शन–यात्राका साथ जनजनमा आस्था वृद्धि गर्ने उद्देश्यले साधुसन्तहरूको अगुवाइमा पदयात्रा, रथयात्रा, महोत्सव आदि विविध अभियान सञ्चालन गर्ने ।
राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ र जगज्जननी गुह्यकाली युगलरूपमा विराजित पवित्र पाशुपतक्षेत्र सम्पूर्ण ज्योतिर्लिङ्गहरूको शिरोभाग र आध्यात्मिकताको सहस्रारस्थानको रूपमा वैदिक सनातन धर्मावलम्बीका लागि सबैभन्दा पवित्र तीर्थक्षेत्र रहेको तथा शिवको जिह्वाबाट अमृतद्रवको रूपमा प्रकट भएकी वाग्वती (वाग्मती) को महिमा भागीरथीगङ्गाभन्दा पनि सय गुणा बढी रहेको पौराणिक तथ्यलाई मनन गर्दै पाशुपत क्षेत्रलाई विगतकै भव्यतम पौराणिक स्वरूपमा संरक्षित गर्न राज्य र जनस्तरमा विविध अभियान सञ्चालन गर्ने सङ्कल्पका साथ प्रस्तुत पशुपति घोषणापत्र पारित गर्दछौँ ।

कार्यक्रमका सभाध्यक्ष स्वामी गिरिले समस्त ज्योतिर्लिङ्गका शिरोभाग तथा महाज्योतिर्लिङ्ग भगवान् श्रीपशुपतिनाथलाई राष्ट्रदेवका रूपमा पाउनु हामी नेपालीको अहोभाग्य हो भने सोही पशुपतिक्षेत्रलाई राजनीतिक नेतृत्व र पशुपतिको रूद्राभिषेकका लागि शिवजीको जिह्वाबाट अमृतद्रवका रूपमा निस्किएकी वाग्वती (वाग्मती) नदीलाई मानवीय गतिविधिबाट प्रदूषित बनाउनु हामी नेपालीको अक्षम्य अपराध हो भन्ने हृदयङ्गम गर्दै शिवापराध क्षमापनका लागि यही चैत्र १६ गते (आदिलिङ्ग कुशेश्वर पूजन) देखि ६४ सिद्धलिङ्गको दर्शन तथा ‘पाशुपत–पदयात्रा’ आयोजना गर्न लागिएको बताए ।

चैत्र–१५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन समारोह, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ हुने पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट हुने छ । कुशेश्वरबाट दोलखा भिमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ्ग, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रे, जनकपुर आदिक्षेत्रमा विद्यमान सिद्धलिङ्गको दर्शन पैदलबाट नै गरिने भएकाले कम्तीमा ३५–३६ दिनमा तीर्थयात्रा सम्पन्न हुने अनुमान गर्दै आआफ्नो क्षमता अनुसार पूर्ण वा कुनै पायक तीर्थस्थलमा सहभागी भई ज्योतिर्लिङ्ग दर्शन तथा पदयात्री साधु–महात्मा भक्तजनको स्वागत आयोजकले जनसमुदायलाई आह्वान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय