भक्तजनलाई आकर्षित गर्दै भर्जन कालिका मन्दिर, दैनिक सयौं भक्तजन

Devghat Online

शेयर गरौ

विष्णु मगर/गोमा न्यौपाने
देवघाट । चैत १०

देवघाट गाउँपालिका वडा नम्बर ५ को पिपलटारमा रहेको भर्जन कालिका मन्दिर पछिल्लो समय भक्तजनको आकर्षणमा परेको छ । प्यागोडा शैलिको निकै कलात्मक रुपमा निर्माण गरिएको उक्त मन्दिरको दर्शन तथा पुजा गर्न भक्तजनको उल्लेख्य उपस्थिती हुन थालेको मन्दिर संरक्षण समितिले जनाएको छ ।

भर्जन कालिका मन्दिरमा गत चैत ५ गते चैत्र शुक्लपक्षको दिनबाट नवरात्र मेला तथा पुजा र आरधाना भईरहेको हुँदा सो अवसरमा टाढाटाढाबाट भक्तजनहरु आएको मन्दिर संरक्षण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए । नवरात्र मेला चैत १९ गतेसम्म चल्नेछ । यस अवसरमा विहान ६ बजेबाट ११ बजेसम्म नित्य चण्डीपाठ, भजनर्कितन तथा साँझ ७ देखी ९.३० बजेबाट आरती र भजनकिर्तन भईरहेको अध्यक्ष न्यौपानेले बताए ।

टाढाटाढाबाट भक्तजन आउन थालेपछि मन्दिरको प्रचार प्रसार पनि स्वभाविक रुपमा बढ्ने भन्दै न्यौपानेले मन्दिरको ऐतिहाँसिक र धार्मिक महत्वको बारेमा अझ बढि प्रचार प्रसार गर्नु आवश्यक रहेको बताए । देवघाटकै दोश्रो पुरानो उक्त मन्दिरको बारेमा थप प्रचार प्रसार गर्ने तथा थप आर्थिक संकलन गर्ने उद्देश्यले आगामी बैशाख ५ गतेदेखी १३ गतेसम्म विराट ज्ञान महायज्ञ तथा देवी भागवत हुने भएको छ ।

डिपिआर अनुसारको निर्माण सम्पन्न गर्नको आर्थिक सहयोग जुटाउने उद्देश्यले मन्दिर संरक्षण समितिको आयोजनामा विराट ज्ञान महायज्ञ एवं देवी भागवत आयोजना गर्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष न्यौपानेले बताए । उक्त कलात्मक मन्दिर निर्माणको लागि हालसम्म एक करोड २५ लाख खर्च भईसकेको र डिपिआर अनुसारको निर्माण कार्य गर्न ३ करोड ७६ लाख रुपैयाँ आवश्यक पर्ने भन्दै महायज्ञबाट उक्त रकम संकलन गर्ने अपेक्षा गरिएको बताए ।

हालसम्म खर्च भएको रकम मध्ये १३ लाख देवघाट गाउँपालिकाले र २ लाख देवघाट क्षेत्र विकास समितिले उपलब्ध गराएको थियो भने बाँकी रकम स्थानीय सामुदायिक वन समुह, टोल विकास संस्था, युवा क्लव, आमा समुह, स्थानीय दानविर भक्तजनहरुले उपलब्ध गराएको न्यौपानेले बताए । २०८१ सालमा देवघाटमा माघ महिनाभर लागेको देवघाट महामहोत्सवको समयमा देवघाटको वेणी संगममा स्टल राखी चन्दा संकलन गर्दा ५० लाख भन्दा बढि रकम संकलन भएको भन्दै न्यौपानेले सोही रकमले नै मन्दिर निर्माण गर्न सकिएको बताए । त्यसबाहेक देवघाटमा लाग्ने मकर संक्रान्ति मेला, बाला चतुदर्शी मेला लगायतको महत्वपुर्ण मेलामा पनि स्टल राखेर चन्दा संकलन गर्दै आएको न्यौपानेले बताए ।

उक्त मन्दिरको डिपिआर अनुसारको निर्माण सम्पन्न हुँदा धर्मशाला निर्माण, सचिवालय, ढुङ्गेधारा तथा अमृत जलकुण्ड निर्माण, भक्तजनहरुले स्नानको लागि जलकुण्ड तथा जैविक विविधता संरक्षणकोलागि पानी पोखरी निर्माण, पुष्प वाटिका निर्माण तथा नेपालमै पहिलो मणिदिप क्षेत्रको निर्माण गर्ने उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताए ।

भर्जन कालिका मन्दिर निकै ऐतिहाँसिक मन्दिर रहेको र यहाँ शुद्ध मनले भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । गाउँपालिका अध्यक्ष थापाले भर्जन कालिका मन्दिरको निकै ठुलो महत्व रहेको हुँदा यसको प्रचार प्रसार, सम्बद्र्धन र संरक्षण गाउँपालिकाले सहयोग गर्ने बताए । उनले स्थानीय सरकारसँग श्रोत र साधन निकै कम भएको हुँदा संघीय सरकारसँग उक्त मन्दिरको लागि बजेट बिनियोजन गर्न पहल गर्ने समेत बताए ।

मन्दिर भित्रको जलकुण्डमा देवी बिराजमान रहनुभएको विश्वास गरिन्छ । मन्दिरको प्रराम्भिक निर्माण कार्य पुरा भएसँगै अव दैनिक पुजा र साँझमा आरती गरिने अध्यक्ष न्यौपानेले बताए । धार्मिक तिर्थस्थलको रुपमा अन्य तिर्थस्थलसँग जोडेर भक्तजनलाई ल्याउने, हरेक वर्षको आश्विन शुक्ल प्रतिपदादेखी पुर्णिमासम्म र चैत्र शुक्लपक्षको प्रतिपदाको दिनदेखी पुर्णिमासम्म विशेष मेला, पुजा र आराधना गरिने र त्यसकोलागि मन्दिरको चारवटै ढोका खोलिने अध्यक्ष न्यौपानेले बताए ।

मन्दिरको इतिहाँस र धार्मिक मान्यता पानीसँग जोडिएको छ । विगतमा देवघाटमा खानेपानीको अभाव भएपछि पानीको श्रोत खोज्ने क्रममा देवघाट गाउँपालिका वडा नम्बर ४ काफलस्वाँरा बस्नुहुने धनबहादुर झिमाल नामको झाँक्री आई देउता बस्ने क्रममा स्वयम कालिका माताले ‘यस ठाउँमा मेरो ठुलो मुर्ती छ, त्यो कोही कसैबाट संरक्षण भएको छैन यदि मलाई कालिका माइको नाममा त्यस मुर्तीको संरक्षण गरि पुजा गरेमा त्यस ठाउँमा पानी निस्कनेछ’ भनेबमोजिम २००६ साल मंसिर ११ गते धान्यपुर्णिमाको दिन उक्त स्थानमा देबीको पुजा सुरुगरेपछि पानी निस्कन थालेको स्थानीय बृद्धहरुले बताएका छन् ।

झाँक्रीले भनेवमोजिमको स्थानमा पानिको मुल निस्किएपछि पिपलटार तथा कालिमाटीका गाउँलेहरुले त्यही मुल कुवाको पानी खाने गर्न थालेको र उक्त स्थानमा भर्जनकालिकाको मन्दिर निर्माण गरिएको हो । दैवी शक्तिले त्यसठाउँमा पानीको मुहान निस्किएपछि त्यसदेवीको नाम नै भर्जन कालिका देवी राखि प्रत्येक वर्ष मंसिर धान्यपुर्णिमाको दिन पन्चवली सहितको विशेष पुजा गर्न थालिएको मन्दिर निर्माण समितिले जनाएको छ ।

भर्जन कालिका माई मन्दिरमा भाकल तथा दर्शन गर्नाले आफ्नो मनोकांक्षा पुरा हुने स्थानीयहरु बताउँछन् । मन्दिर भित्रको जलकुण्डमा देवी बिराजमान रहनुभएको विश्वास गरिन्छ । हाल मन्दिरको पुननिर्माण गरि आकर्षक कलात्मक शैलीको मन्दिर निर्माण गरिएको छ । जसले पर्यटकलाई आकर्षित गरि धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बैशाख २४ पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध