तनहुँ । चैत १६
म्याग्दे गाउँपालिका तनहुँको आयोजना तथा लोकवाणी पब्लिकेशन प्रालिको सहजिकरणमा चालु आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार वडा नम्बर ५ को कार्यालय परिसरमा सम्पन्न भयो ।



उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको बताए । पालिकाको श्रोत र साधनको सिमितताले लक्ष्य अनुसार भने काम गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए । चालु आ.वमा ९ करोड आन्तरिक आयको अनुमान गरिएकोमा फागुन मसान्तसम्म २ करोड ५० लाख रुपैयाँ मात्र संकलन भएको हुँदा अवको अवधिमा उक्त लक्ष्य भेटाउन निकै कठिनाई हुने भन्दै अध्यक्ष श्रेष्ठले आन्तरिक आय कमी हुँदा योजना अनुसारको काम गर्न समस्या हुने बताए ।

शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, सरसफाइ व्यवस्थापन, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनसिलता लगायतका कामले म्याग्दे गाउँपालिकालाई गन्डकी प्रदेशमै उत्कृष्ट बनाउन सफल भएको अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले गाउँपालिकाले उत्पादन र कृषिमा विशेष जोड दिएको बताए । उत्पादन विना पालिका समृद्ध नहुने हुँदा कृषि र उत्पादनले मात्र विकास निर्माणको ढोका खोलिने उनको भनाई थियो । पालिकाले जनजीविकाका सवालमा विशेष काम गरेको भएता पनि विपक्षीले विरोध मात्र गरेको उनको भनाई थियो । सकारात्मक कर्म नदेख्ने तर विरोधका नाममा मात्र फगत विरोध गरिरहने प्रवृत्तिले कही पनि नपुगिने हुदाँ रचनात्मक सहयोग सवैले गरेमा मात्र पालिका समृद्ध बन्ने श्रेष्ठले दावी गरे ।
‘मैले लामो समयदेखि समाज रुपान्तरण र विकासमा काम गरेको हुदाँ कुनै पनि अनैतिक अवान्छनिय र अर्मादित गतिविधी गर्दिन’ अध्यक्ष श्रेष्ठले भने ‘जनताको यथार्थ स्वरुप आफुले भोगेको हुदाँ जनताको सर्वोपरि विकास र समृद्ध वाहेक अन्य केही पनि सोच छैन ।’ भष्ट्राचारमा शुन्य सहनशीलता अपनाएको हुदाँ कुनै पनि आर्थिक अनुचित आफुलाई क्षम्य नहुने समेत अध्यक्ष श्रेष्ठले बताए । गन्डकी प्रदेशमै दोश्रो सामाजिक सुरक्षा कार्यक्रम लागु, बृत्ति विकासको कार्यक्रम, विपन्नलाई घर निर्माण, हलगोरु पोषण कार्यक्रम, दुधमा प्रतिलिटर १० रुपैयाँ अनुदान, सुत्केरीसँग अध्यक्ष लगायतका नमुना कार्यक्रम सन्चालन भईरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जनताको कामलाई प्राथमिकतामा राखि काम गरिएको बताए । गाउँपालिका तथा सरकार सवै जनताको भएको हुदाँ सवैभन्दा पहिलो सेवा गरिव तथा दिनदुखिको लागी दिनुपर्ने उपाध्यक्ष घिमिरेले बताए । एकातर्फ उनीहरुको पहुँच नपुग्ने र सेवा लिन सम्म नसक्ने जनता पहिलो प्राथमिकीकरणमा पर्नुपर्ने भन्दै उपाध्यक्ष घिमिरेले सेवा लिनेले पाईरहने र नपाउनेले नपाउदाँ सर्वसाधरणको सरकार नवन्ने हुदाँ समतामुलक विकासमा जोड दिनुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संघीय, प्रदेश र स्थानीय तहले निर्माण गरेको विभिन्न कानुनको परिधिमा रही कार्य सम्पादन भईरहेको बताए । सेवाग्राहीको समस्यामा आफु सदैव क्रियाशिल भएको अधिकारीले बताए । जनताको सेवाका लागी बसेको कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाई रहेको थियो । जनताको सेवाका लागी एकीकृत घुम्ति शिविर, मृगौला परिक्षण, दन्त परिक्षण शिविर, पाठेघरको परिक्षण लगायतका विभिन्न कार्यक्रम गरेको हुदाँ भोलिका दिनमा आम जनताको आवश्यकताका आधारमा पालिका अगाडी वढ्ने अधिकारीले बताए ।

नागरिकको सन्तुष्टि नै सबैभन्दा महत्वपुर्ण पक्ष रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले तेश्रो पक्षबाट सार्वजानिक सुनुवाई हुँदा जनताको वास्तविक आवाज प्रस्तुत हुने बताए । नागरिकको सुझावलाई ग्रहण गर्दै आगामी दिनमा नीति तथा कार्यक्रम र बजेट बनाईने अधिकारीले बताए । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा सम्पन्न भएका कार्यक्रम तथा गाउँपालिकाबाट सञ्चालित विकासका कार्यक्रमहरु, उपलब्ध सेवा सुविधा तथा नागरिकले उठाएका प्रश्नहरूमा प्रष्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुविधाहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरकार तथा विकास निर्माणका योजना र समस्याको समाधान गरी सेवाग्राहीको रुपमा आएका सर्वसाधारण प्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप लगायत पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनाई कार्यविधि बमोजिम आम सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष शिवबहादुर आले वडाका सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको बताए । आलेले सार्वजानिक सुनुवाई कार्यक्रममा प्रस्तुत भएका गुनासा र सुझावलाई ग्रहण गरि आगामी दिन वडाको योजना तर्जुमा गरिने बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ कार्य समितिका सभापती मनोज अधिकारीले पालिकाको श्रोत र साधनलाई हेरेर नीति र योजनाहरु बनाउनुपर्ने बताए । उनले पालिकामा विभिन्न विषयमा धेरै समस्या भएको हुँदा उक्त समस्या समाधान गर्न जनप्रतिनिधिहरु गम्भिर बन्नुपर्ने बताए । विभिन्न विषयमा करको दर बढाईएको भन्दै अधिकारीले यसमा पुनर्विचार गर्नुपर्ने बताए । आगामी चैत २७ गते म्याग्दे गाउँपालिकाको सभाहलमा तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेसँग पालिका स्तरीय अन्तरक्रिया राखिएको हुँदा विकास निर्माण तथा अन्य सवालमा सांसदसँग छलफल गर्न सो कार्यक्रममा उपस्थित हुन अधिकारीले अनुरोध समेत गरेका थिए ।

सो कार्यक्रममा पुर्वाधार तथा शहरी शाखाका प्रमुख ई.शिव ज्ञवाली, आर्थिक विकास तथा जिन्सी शाखाका प्रमुख प्रदिप न्यौपाने, योजना शाखाका प्रमुख श्रीराम खनाल, पशु विकास उपशाखाका प्रमुख मुक्तिराम पौडेल, प्रशासन शाखाका प्रमुख इन्द्रप्रसाद खनाल, शिक्षा, युवा तथा खेलकुँद शाखाका प्रमुख विष्णु क्षेत्री, लेखा शाखाका प्रमुख शिवजी थापा, स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरे, कृषि विकास उपशाखाकी टिका खत्री, राजश्व परामर्श शाखाका प्रमुख सम्भु पौडेल, रोजगार प्रबद्र्धन शाखाका प्रमुख रमिन घिमिरे, पन्जीकरण शाखाका प्रमुख एककुमार श्रेष्ठ, सामी परियोजना शाखाकी निशा विक, नगर प्रहरी कमान्डर चन्द्रकुमार श्रेष्ठ र वडा नम्बर ५ की सचिव विमला गैह्रे लगायतले आ–आफ्नो शाखाबाट सम्पादित कामको बारेमा जानकारी गराएका थिए ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा आम सेवाग्राही जनताले गाउँपालिकाले गरेको काम कारवाहीको वारेमा जिज्ञासा राखेका थिए । कृषि र पशुपालनमा अनुदान उपलब्ध गराउनु पर्ने, सार्वजानिक भौतिक संरचना अपाङ्गतामैत्री बनाउनु पर्ने, मल र बिउ सहज र पर्याप्त वितरण गर्नुपर्ने, फोहोर मैला व्यवस्थापन गर्नुपर्ने, प्राकृतिक श्रोतको उत्खनन गर्दा वडाबासीलाई जानकारी गराउनुपर्ने, सार्वजनिक जग्गा अतिक्रमण भईरहेको हुँदा त्यसलाई नियन्त्रण गर्नुपर्ने, विकास निर्माण आवश्यकताको आधारमा नभई विभेद हुने गरेको, सिप मुलक तालिम हुनुपर्ने, दलित सचेतना कार्यक्रम हुनुपर्ने, पहुँचका भरमा काम गरेको जस्तो विषयमा नागरिकले सुझाव तथा जिज्ञासा राखेका थिए । पालिकाले गरेको काम कारवाहीलाई आम जनतामा पुग्ने गरि प्रचार गर्नुपर्ने, जनताको उल्लेख्य सहभागितामा सार्वजनिक कार्यक्रम गर्नुपर्ने र जनताले महशुश गर्ने गरि पालिकाले काम नगरेको सेवाग्राहीको प्रश्न रहेको थियो ।

उठेका जिज्ञासाको गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत अधिकारी तथा वडा अध्यक्ष आलेले प्रष्ट पारेका थिए । सो कार्यक्रमको सन्चालन लोकवाणी पब्लिकेशन प्रालिको तर्फबाट प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।
उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका वडा नम्बर ५ का जनप्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि, आमा समुह, विभिन्न संघ संस्थाका एक सय जना भन्दा बढिको सहभागिता रहेको थियो ।












