तनहुँ । चैत २९
प्रदेश अस्पताल दमौलीमा आइतबार पनि ओपिडी (बहिरङ्ग) सेवा सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार आइतबार पनि अस्पतालको नियमित सेवा सुचारु भएको हो । सरकारले शनिबारसँगै आइतबार पनि सार्वजानिक बिदा दिएपछि आइतबार अस्तपालको ओपिडि सेवा के हुन्छ भन्ने बारेमा चासो बढेको थियो ।



अस्पतालका मेसु डा. परिवर्तन बरालका अनुसार मन्त्रालयको पछिल्लो प्रेस विज्ञप्ति र सार्वजनिक बिदाको दिनसमेत अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिने नेपाल सरकारको निर्णय कार्यान्वयन गर्दै आइतबार बिहानैदेखि सम्पूर्ण विभागका चिकित्सक तथा कर्मचारीहरू सेवामा खटिएको बताए ।
‘बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै कुनै पनि दिन सेवा अवरुद्ध नहोस् भन्ने हाम्रो प्रतिबद्धता हो, सोही अनुसार आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन भइरहेको छ’, बरालले भने ।
अस्पताल प्रशासनका अनुसार आइतबार बिहानैदेखि ओपिडीमा बिरामीहरूको चाप देखिएको थियो । चिकित्सक र स्वास्थ्यकर्मीहरूले नियमित रूपमा सेवा दिएका थिए । ओपिडी सेवा सुरु भएपछि विशेषगरी टाढा–टाढाबाट उपचारका लागि आउने सेवाग्राही, आकस्मिक अवस्थाका बिरामी र नियमित स्वास्थ्य जाँच गराउनुपर्ने बिरामीलाई ठुलो राहत मिलेको छ ।
अस्पतालले बिरामीहरूलाई आइतबार र अन्य दिनमा झैँ नियमित रूपमा अस्पतालमा उपस्थित भई स्वास्थ्य सेवा लिन आग्रह गरेको छ ।












