देवघाट क्षेत्रको परिचय

Devghat Online

शेयर गरौ

देवघाट नेपालको झण्डै मध्य भागमा पर्ने धार्मिक तीर्थस्थल हो । पहाड र मधेसको जोर्नीमा पर्ने यस स्थलमा कालीगण्डकी र त्रिशूली नदीको सङ्गम रहेको छ । यहाँ शालग्राम पाइन्छ । यस क्षेत्रको धार्मिक, पौराणिक, ऐतिहासिक, भौगोलिक, पुरातात्त्विक, सांस्कृतिक र पर्यटकीय महत्व रहँदै आएको छ ।

पौराणिक महत्व

पौराणिक ग्रन्थहरूमा यस क्षेत्रको ठुलो महिमागान गरिएको पाइन्छ । यस क्षेत्र ‘देवाट’ देवताहरूको अटन भ्रमण गर्ने क्षेत्र, ‘देवहद’ देवताल रहेको क्षेत्र, सिद्धाश्रमःसिद्ध ऋषिमुनिहरूको आश्रम रहेको क्षेत्र, शिवको तपोवन, गन्धर्व, अप्सरा, नागकन्यासहित देवर्षि, सप्तर्षि, मुनिहरू, सिद्ध र किन्नरादि स्वर्गबाट घुम्न आउने ठाउँ हो । विष्णुको अवतार शालग्राम शिला पाइने पवित्र स्थल हो । हरिहर– हरि र हर दुवैको क्षेत्र हो भनिएको पाइन्छ ।

यस पवित्रस्थलमा सत्ययुगमा शिव, त्रेतायुगमा राम, सीता र लव–कुश बस्तथे; द्वापरयुगमा ऋषि–महर्षिले तपस्या गर्दथे र कलियुगमा धार्मिक तीर्थस्थल रहने पुराणहरूको मान्यता रहेको छ । यहाँ वशिष्ठ ऋषिले तपस्या गरेका थिए । देवताहरूले यज्ञ गरेका थिए । त्यसो भएकाले आदिप्रयाग पनि भनिन्छ । कृष्णको शिरबाट कालीगण्डकी र शिवको शिरबाट सेती र त्रिशूली नदीको उत्पत्ति भएको मानिन्छ । यी दुई नदीको सङ्गममा स्नान गर्नाले तीर्थराज प्रयागमा स्नान गरेको फल पाइन्छ । सयवटा गाई दान गरेको, अश्वमेध यज्ञ गरेको फल पाइन्छ भनी वराहपुराणको १४४ अध्याय, १४५ श्लोकमा र हिमवत्खण्डको अध्याय ४३, श्लोक सङ्ख्या ६८ मा बताइएको छ ।

ऐतिहासिक महत्व

देवघाट क्षेत्रको जुन पौराणिक महत्व रहेको देखिन्छ, त्यत्तिकै ऐतिहासिक महत्व पनि रहेको छ । इतिहासकालका महत्त्वपूर्ण अभिलेखहरू र मूर्तिहरू यस क्षेत्रमा प्राप्त भएका छन् ।

लिच्छविकालमा दुई मूर्तिहरू चतुर्बाहु विष्णुको मूर्ति देवघाट गलेश्वर आश्रमको प्राङ्गणमा रहेको देवालयमा रहेको छ । मूर्तिमा ‘व्याघ्रमुकुट’ चार हातमध्ये एक हातमा ‘मणि’ र शिरमा ‘ब्रह्मरन्ध्र’ रहेकाले यस मूर्तिलाई तेस्रो चौथो शताब्दीको मूर्ति भनी उल्लेख भएको पाइन्छ (शर्मा र मल्ल, २०१४ः १०) यसरी यहीँ नै यही पुस्तकमा पवित धारण नगरिएको किराँतमूर्ति रहेको पनि उल्लेख पाइन्छ ।

मध्यकालमा भने शिलालेख र अभिलेखहरूसमेत पाइन्छन् । चक्रवर्ती मन्दिरपरिसर देवघाटमा मणिमुकुन्द सेनले वि.सं. १६०६ मा शिवालय बनाई स्थापना गरेको शिलालेख रहेको छ । यसको दुई सय वर्षपछि तनहुँका राजा त्रिविक्रम सेनले वि.सं. १८०० मा देवघाट मुकाम गरी इटालीका पोप ट्राकुल्ललाई लेखेको पत्र रहेको उल्लेख पाइन्छ (अधिकारी, २०५५ः ९२) । यसरी नै त्रिविक्रम सेनले नै कविलासपुरगढी मुकाम गरी वि.सं.१८१० मा रजबन्धकीपत्र लेखेको पनि उल्लेख पाइन्छ ।

आधुनिककालको महत्त्वलाई जनाउने अभिलेख पनि प्राप्त भएको छ । जङ्गबहादुरले वि.सं. १९०४ मा देवघाटमा मेला लगाउनु भनी यहाँका नाथयोगी (लक्ष्मीनाथ, केदारनाथ जोगी) लाई जारी गरेको रुक्का प्राप्त भएको छ (योगी, २०२२ः ७३७) । आधुनिककालमा विशेष गरी २००७ सालपछि देवघाट क्षेत्रले काँचुली फेर्न थालेको पाइन्छ ।

२०१३ सालमा चितवनमा नयाँ बसोबास, २०१९ सालमा राजा महेन्द्रबाट देवघाट, वागीश्वरीनजिकै फेरीको स्थापना, २०१८ सालमा म्याग्दीको गलेश्वरबाट गलेश्वरबाबाको देवघाट आगमन र कुटीहरूको निर्माण, २०१७ मा डिल्लीरामबाबा अघोरीबाबाहरूको आगमन, २०१८ मा विश्वशान्ति महायज्ञ सम्पन्न, २०२२ सालमा राजा महेन्द्रको अगुवाइमा देवघाट कालीगण्डकी र त्रिशूलीको सङ्गममा डुङ्गामा बसी ‘देशव्यापी नेपाली साहित्य सेमिनार’ (कवि सम्मेलन), २०२३ सालमा योगी नरहरिनाथबाट चक्रेश्वर मन्दिर परिसरमा दोस्रो आध्यात्मिक सम्मेलन सम्पन्न, २०३६ सालमा प्रिन्सेप शाहबाट देवघाटमा एउटा कार्यालयको स्थापना, २०३८ मा योगी नरहरिनाथबाट कोटीहोम सम्पन्न, २०३७ सालमै त्रिशूलीमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भई चितवन र तनहुँलाई जोड्ने काम सम्पन्न, २०४२ मा राजा वीरेन्द्रबाट देवघाटलाई धार्मिक एवं पर्यटकीय स्थल बनाउने घोषणा, २०५० सालमा नेपाल सरकारबाट देवघाट क्षेत्र विकास समितिको गठन, विभिन्न प्रयासकै क्रममा २०६४ मा देवघाट क्षेत्रको गुरुयोजना निर्माण, गलेश्वर आश्रम, हरिहर आश्रम र महेश आश्रमको स्थापना, अनेक मठ–मन्दिर, धर्मशाला, विद्यापीठहरूको निर्माण, वृद्धाश्रमहरूको स्थापना, कल्पवासीहरूको आगमन, माघेसङ्क्रान्ति, शिवरात्री, बालाचतुर्दशी आदि पर्वहरूमा मेला, देवघाट सार्वजनिक पुस्तकालयको स्थापना, दाहसंस्कार स्थल र विद्युतीय शवदाह गृह (स्टेशन भवन) निर्माण इत्यादि संरचनाहरूको विकास र विस्तारसँगै देवघाट क्षेत्र गुल्जार हुँदै आएको छ । यसरी यस क्षेत्रको ऐतिहासिक महत्व बढ्न गएको पाइन्छ ।

पुरातात्विक महत्व

देवघाट क्षेत्रको पौराणिक र ऐतिहासिक महत्व सँगसँगै पुरातात्त्विक महत्त्व पनि रहेको छ । चक्रवर्ती मन्दिरक्षेत्र, वागीश्वरी आश्रमक्षेत्र, हर्दीको माक्रुमडाँडा, पञ्चभैया डाँडा, सतन्चुली थुम्को, गणेशस्थानको इनार, मौलाकालीकाको मौलो, प्याउलीगढी आदि स्थानहरूमा पुरातात्विक वस्तुहरू रहेको उल्लेख पाइन्छ ।

वि.सं. २०५३ मङ्सिरमा चक्रवर्ती मन्दिर परिसर नजिकै बाटो खन्ने क्रममा तामाको भाँडोमा राखिएको १२।१३ किलो पुराना मुद्राहरू प्राप्त भएका थिए ।

वि.सं.२०६७ मा मुकुन्देश्वर महादेव मन्दिर परिसरको अध्ययन भएको थियो ।

वि.सं. २०७७ मा पुरातत्व विभागले चक्रवर्ती मन्दिर क्षेत्रमा ‘पञ्चदेवल’ मन्दिरको उत्खनन् गर्दा सबै देवलमा शिवलिङ्ग प्राप्त भएको थियो (लेखकको स्थलगत अवलोकन) ।

चक्रवर्ती मन्दिर परिसरमै पुरातत्व विभागले एक सुन्दर शिवालय स्थापना गरी मन्दिरको दक्षिणी भित्तामा मणिमुकुन्द सेनद्वारा वि.सं.१६०६ मा स्थापना गरिएको शिलालेखको संरक्षण गरी राखेको छ ।

वागीश्वरीक्षेत्रमा वि.सं. २०४८ मा उत्खनन भएको र उत्खननबाट वृषभ मूर्ति, भैरव मूर्ति र प्रस्तरका सिंह मूर्तिहरू फेला परेको उल्लेख पाइन्छ (घिमिरे, २०५३ः ५४) ।

पञ्चभैया स्थलमा पनि पुरानो मानववस्तीको अवशेष फेला परेको उल्लेख पाइन्छ (तिम्सिना, २०७७ः ११२) ।

सतन्चुली डाँडो नारायणगढ–गाईघाट–बन्दीपुरतर्फको व्यापारमार्गमा परेको हुनाले र त्यहाँ धेरै थुम्कीहरू रहेकाले पुरातात्विक खोज–अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

हर्दी नजिकैको माक्रुमडाँडामा पनि पुरानो प्रस्तर पर्खाल रहेको उल्लेख पाइन्छ (तिम्सिना, २०७७ः ११३) ।

प्याउलीगढी पनि पुरानो व्यापारमार्गमा पर्ने हुनाले र भन्सार अड्डा भएको हुनाले खोज–अनुसन्धान गर्नु जरुरी देखिन्छ ।
भरतपुर, गणेशस्थानमा एउटा ठुलो पुरानो इनार रहेको छ र त्यहाँ इनारभित्रको इँटामा ‘मुकुन्दसेन’ लेखिएको उल्लेख पाइन्छ ।
मौलाकालिका मन्दिर परिसरमा रहेको मौलोले मुकुन्दपुर र सिखौलीमा मणिमुकुन्द सेनको पालाको पुरातात्विक वस्तुहरू प्राप्त हुन सक्ने देखिन्छ ।

सांस्कृतिक एवं धार्मिक महत्व

देवघाट क्षेत्रको सांस्कृतिक एवं धार्मिक महत्व महिमाशाली देखिन्छ । यहाँ आश्रमहरू रहेका छन् । वृद्धाश्रमहरू रहेका छन्, कल्पवास रहेको छ, शैव, शाक्त र वैष्णव मन्दिरहरू र धर्मशालाहरू रहेका छन्, गणेश र हनुमानका मन्दिर र मूर्तिहरू रहेका छन् । अनेक जाति र थरीका कुलमन्दिरहरू रहेका छन् । विद्यापीठहरू छन् । पर्यटकहरूका लागि वासस्थान रहेका छन् । स्नानघाट, स्मशानघाट रहेका छन् । यज्ञशालाहरू छन् । पर्व–पर्वमा मेलाहरू लाग्ने गर्छन् । सामूहिक व्रतबन्धहरू हुने गर्छन् । विष्णु र शिव अर्थात् हरि र हर दुवै धर्मदर्शनको सङ्गम भएकाले दुवैका अनेक मठ–मन्दिरहरू रहेका छन् । पूजाआजा, भजन–कीर्तन, होमन एवं प्रवचन नित्य रूपमा भइरहने हुनाले र भक्तजनहरूको भीड लाग्ने हुनाले देवघाट गुञ्जायमान रहेको पाउँछौँ ।

यहाँको सांस्कृतिक संरचनाहरू विभिन्न सम्प्रदायका आ–आफ्ना रहेका छन् । तनहुँतर्फ शैव मन्दिरहरू ९ वटा रहेका छन् । वैष्णव मन्दिरहरू ७ वटा रहेका छन् । शाक्त मन्दिरहरू ५ वटा रहेका छन् भने १ वटा गाणपत्य मन्दिर रहेको छ । यसैगरी चितवनतर्फ शैव मन्दिरहरू ११ वटा, वैष्णव मन्दिरहरू १० वटा, शाक्त मन्दिरहरू ८ वटा, गाणपत्य एक र बौद्धगुम्बाहरू ३ वटा रहेका छन् । यसरी नै बोटेहरूको गुरौस्थान (कुलदेवता) १, मगरहरूको भैयरथान (कुलदेवता) १ र बोटेहरूको (कुलायन देवी) पञ्चकन्या देवीस्थान १ रहेका छन् । नवलपुरतर्फ शैव मन्दिरहरू ३, वैष्णव मन्दिरहरू ७ वटा, शाक्त मन्दिरहरू ३ वटा, गाणपत्य मन्दिर ३ वटा, आश्रमहरू ३ वटा रहेका छन् ।

यसरी नवलपुरतर्फ मठ–मन्दिर आश्रम गरी १६ वटा, चितवनतर्फ मठ–मन्दिर, आश्रम, गुम्बा, कुलदेवता मन्दिर आदि गरेर ५१ वटा र तनहुँतर्फ मठ–मन्दिर–आश्रम (ट्रष्ट) आदि गरी ४४ वटा रहेका छन् (तिम्सिना, २०७७ः १८६–२४८) । यसरी यस देवघाट क्षेत्रमा कुल १११ वटा मठ–मन्दिर आश्रमहरू रहेका छन् र यिनमा आआफ्ना सम्प्रदायका मत र पद्धतिअनुरूप अनेक अनष्तानह सम्पन्न हुने गरेका छन् । पूजाआजा, भजन–कीतन, आरा प्रवचन, दीक्षा संस्कार आदि हुने गर्छन् । मृत्यु–संस्कारको अन्त्येष्टि कार्य प्रायः यहीँ नै हुने गरेको छ । विद्युतीय शवदाह गृह पनि भवन निर्माण भई चालू हुन थालेको छ । सामूहिक रूपमा सम्पन्न हुने व्रतबन्ध संस्कार, कालसर्पयोग निवारण अनुष्ठान, यज्ञ र हवन कार्य पनि यहाँ हुने गर्छन् ।

मेला पर्वहरूका लागि त देवघाट क्षेत्र राष्ट्रिय रूपमै प्रख्यात छ । यहाँको मकरसङ्क्रान्ति पर्व (माघे सङ्क्रान्ति पर्व) विख्यात छ । पशुपति क्षेत्रमा झै यहाँ पनि असाध्य ठुलो मेला लाग्दछ । मकरस्नानको पावन कार्यका लागि टाढाटाढाबाट भक्तजनहरू आउने गर्छन् । एक प्रकारको कुम्भमेला नै लाग्दछ । यसबाहेक शिवरात्रि, बालाचतुर्दशी, ठुली एकादशी, सोह्रश्राद्ध, जनैपूर्णिमा, श्रावण सङ्क्रान्ति, हरिशयनी र हरिबोधनी एकादशी, ऋषिपञ्चमी, गुरूपूर्णिमा, चण्डीपूर्णिमा आदि चाडपर्वहरूमा पनि तीर्थयात्रीहरूको घुइँचो नै हुने गर्छ । १८ वटा आश्रम, तीनवटा वृद्धाश्रम, ५ वटा धर्मशालाहरू, १२ वटा गुरुकुलीय विद्यालय वा विद्यापीठहरू सञ्चालित रहेको देवघाट क्षेत्रको धार्मिक र सांस्कृतिक महत्त्व झन्झन् विस्तारित भइरहेको छ ।

पर्यटकीय महत्व

देवघाट क्षेत्रको जुन ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्व रहँदै आएको छ, यसमा अहिले आएर पर्यटकीय महत्व विशेषरूपले थपिएको छ । यहाँको ऐतिहासिक र पुरातात्त्विक स्थल र वस्तुहरूको अवलोकन गर्न प्राचीन जाति बोटे एवं भुजेलहरूको अध्ययन गर्नका साथै धवलागिरी र अन्नपूर्ण हिमालको बिचमा संसारकै सबभन्दा गहिरो गल्छी बनाएर बगेकी र विश्वप्रसिद्ध रूप्से झर्ना समेटेर देवघाट आइपुगेकी शालग्राममयी कालीगण्डकीले विश्वका पर्यटकलाई आकर्षित गरिरहेको छ ।

विश्वसम्पदासूचीमा २०४१ सालमै सूचीकृत भएको चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जकै कोरिडोरमा अवस्थित प्राकृतिक रूपले स्वर्गको टुक्राजस्तो अति मनोहर देवघाट विश्वका पर्यटकहरूको सहज गन्तव्य बन्न सक्ने देखिन्छ । यसै पनि विश्वका पर्यटकहरू विश्वप्रसिद्ध एकसिङ्गे गैंडा, घडियाल गोही र पाटेबाघ अवलोकन गर्न र चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधताको अध्ययन–अन्वेषण गर्न चितवन आइरहेका छन् । यसमा एउटा स्थल देवघाट थपिँदा पर्यटकका निम्ति सुनमा सुगन्ध थपेजस्तो हुनेछ । मौलाकालिकाबाट देखिने चितवन–नवलपुर र तनहुँतर्फको भव्य र मनमोहक दृश्यले पर्यटकलाई अवश्य नै लोभ्याउने नै छ । यसका लागि मौलाकालिकामा निर्माण भएको गन्तव्यलाई सहज बनाएको छ ।

देवघाटको यस महिमाशाली राजा वीरेन्द्रले राम्ररी बुझेका थिए । त्यसकारण उनले २०४२ सालमै देवघाटलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्घोष गरेका थिए । तीन जिल्लाहरू (तनहुँ, चितवन र नवलपुर) को मिलनविन्दु रहेको, दुई पवित्र नदीहरू (कालीगण्डकी र त्रिशुली) को सङ्गम रहेको, नेपालमा एकमात्र शालग्राम पाइने नदी भएको, भौगोलिक दृष्टिले भावर प्रदेश र महाभारत पर्वत शृङ्खलाको पानीढलोको बिचमा चितवन राष्ट्रिय निकुञ्जको कोरिडोर क्षेत्रमा पर्ने एक अपूर्व भूमि हो देवघाट क्षेत्र ।

अर्को आन्तरिक वा धार्मिक पर्यटनका दृष्टिले त देवघाट क्षेत्र गुल्जार रहँदै आएको छ । यहाँ लाग्ने ठुला ठुला मेलाहरू हेर्दा के लाग्छ भने अब देवघाटले बढ्दो मानवसागर थेग्न सक्ने छैन ।

देवघाट क्षेत्र स्थावरसँगै जङ्गम तीर्थ पनि हो । यहाँ साधु–सन्त, महन्त, तपस्वी र सिद्धहरूको दर्शन पाइन्छ । यसबाट तीर्थयात्रीले सत्य, क्षमा, दान, दया र धर्मको अपूर्व पाठ सिक्न पाउने छन् । यसैले देवघाट मानसतीर्थ पनि हो। अर्को मुक्तिनाथ, पशुपतिनाथ, रुरुक्षेत्रजस्तै देवघाट पनि हरिहरक्षेत्र हो । त्यसैले स्थावरतीर्थ पनि हो देवघाट । त्यसकारण के भन्न सकिन्छ भने देवघाटको पर्यटकीय महत्त्व सर्वाधिक महिमाशाली बनेको छ आज ।

भौगोलिक महत्व

देवघाट क्षेत्रको भौगोलिक संरचना विशेष प्रकारको रहेको छ । महाभारत पर्वत शृङ्खलाको दक्षिणी भाग र सिवालिक पर्वत शृङ्खलाको उत्तरी मैदानी भाग जोडिएको र रसुवाको गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली र दामोदरकुण्डबाट आएकी कालीगण्डकीको सङ्गममा अवस्थित रहेको छ देवघाट । यस सङ्गमबाट ३.४ कि.मी.को दुरीमा रहेको चितवन, नवलपुर र तनहुँका केही भागहरूलाई मिलाएर देवघाट क्षेत्र बनाइएको छ । नदी सङ्गम यी तिनै जिल्ला जोडिएको ठाउँ हो । वन जङ्गल, नदी, पहाड र मैदानबीचको स्वच्छ, शान्त र मनोहर भूभाग रहेको प्रकृतिको अपूर्व देन हो देवघाट ।

देवघाट समुद्र सतहबाट २०० मि. देखि ५७५ मि. सम्मको उचाइमा रहेको छ । यहाँको न्यूनतम तापक्रम ६.२ डिग्री सेन्टिग्रेट र अधिकतम तापक्रम ३६० सेन्टिग्रेट रहने विज्ञहरूले जनाएका छन् । यहाँ समशीतोष्ण हावापानी पाइन्छ । कालीगण्डकी, त्रिशूली, सेती, बुढीगण्डकी, मस्र्याङ्दी, मादी र दरौंदी यी सात नदीहरू मिसिएकाले सङ्गमभन्दा तल प्रवाहित नदीलाई सप्तगण्डकी पनि भनिन्छ र नारायणी पनि भनिन्छ ।

कालीगण्डकीमा शालग्राम पाइन्छ । सनातनीहरूले यसलाई समुद्र मन्थन गर्दा निस्किएको १४ रत्नमध्येको एक वा विष्णु भगवान् शिव बनेर आउनुभएको मान्दछन् भने भौगोलिक संरचनाका दृष्टिले शालग्रामलाई जीवाश्मपत्थर (Fossils) मानिएको पाइन्छ । यसको आयु चार अरब वर्षपहिलेको मानिएको छ । यसभित्र खनिज र क्याल्सियम कार्बोनेट हुने भएकाले कालीगण्डकीको पानीलाई रोग–प्रतिरोधात्मक र पवित्र बनाउने मानिएको पाइन्छ ।

देवघाटमा प्राकृतिक हिसाबले बनेका तीन गुफाहरूः वशिष्ठ गुफा, दुर्गा गुफा र सीता गुफा रहेका छन् । तनहुँतर्फ (काली र त्रिशूलीको बीचमा) एउटा थुम्कोडाँडो होचिंदै सङ्गम किनारसम्म झरेको छ । त्यही डाँडोको कालीगण्डकीतर्फको पाखोमा यी गुफाहरू रहेका छन् । डाँडोको त्रिशूलीपट्टिको भाग भने दम्स्याइलो टार बनेर त्रिशूलीको किनारसम्म फैलिएको छ ।

(देवघाट क्षेत्र विकास समितिद्वारा प्रकाशित ‘देवघाट दिग्र्दशन’ बाट साभार गरिएको)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र