तनहुँ । बैशाख ७
जिल्ला प्रशासन कार्यालय तनहुँको सेवा सोमबारबाट एकिकृत सेवा कार्यालयकोबाट सुरु भएको छ । साविकको सामाजिक विकास कार्यालय रहेको भवनबाट जिल्ला प्रशासन कार्यालयले सेवा सुरु गरेको हो ।



जिल्ला प्रशासन कार्यालयको भवनमा २०८२ भदौ २४ गते अराजक समुहले आगजनी गरेर क्षती पु¥याएपछि प्रशासनको आंशिक सेवा दमौली सभागृहको कोठाबाट हुँदै आएको थियो । सोमबारदेखी जिल्ला प्रशासन कार्यालय, तनहुँले प्रदान गर्दै आएका केही सेवाहरु साविक एकीकृत सेवा कार्यालय, तनहुँ रहेको ठाउँबाट सूचारु भएको प्रशासनले जनाएको छ ।
प्रशासन शाखा (विभिन्न सिफारिसहरु तथा प्रशासनिक कार्य), भण्डारण शाखा, लेखा शाखा, सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट प्रदान गरिने सेवाहरु नयाँ कार्यालयबाट प्रदान गरिने भएको छ । योसँगै दमौली सभाहलको भवनबाट प्रदान हुंदै आएका सेवाहरु पनि नयाँ कार्यालयबाट सूचारु भएको प्रशासनले जनाएको छ ।
कठिन समयमा जिल्ला प्रशासनका सेवाहरु व्यास नगरपालिकाको दमौली सभाहलको भवनबाट सञ्चालन गर्न सहयोग गरेकोमा व्यास नगरपालिकालाई र एकीकृत सेवा कार्यालयको भवन जिल्ला प्रशासन कार्यालयले उपयोग गर्ने गरी निर्णय भएकोमा गण्डकी प्रदेश सरकारलाई जिल्ला प्रशासन कार्यालयले विशेष आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
गण्डकी प्रदेश सरकारले साविकको सामाजिक विकास कार्यालय र घरेलु, पर्यटन तथा उद्योग कार्यालयलाई एकीकरण गरी एकीकृत सेवा कार्यालयु सञ्चालनमा ल्याईएको थियो । यसअघि यी दुई फरक भवनबाट सेवा दिँदै आएको एकीकृत कार्यालयलाई हाल पुरानो घरेलु तथा साना उद्योग कार्यालयको भवनमा सारिएको छ । एकीकृत कार्यालय एकै ठाउँमा सीमित गराएर खाली बनाईसामाजिक विकास कार्यालयको भवनलाई प्रशासनले प्रयोगमा ल्याएको हो ।
प्रशासनले सेवालाई थप व्यवस्थित बनाउन कार्य विभाजन समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले बताए । सहायक प्रजिअ रेग्मीका अनुसार अब क्षति पुगेको पुरानै प्रशासनिक भवनबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरू प्रदान गरिनेछ । आन्दोलनबाट ध्वस्त भएको भवनलाई मर्मत गरी केही समय सेवा दिए पनि कार्यकक्षको अभाव थियो । अब अन्य प्रशासनिक तथा शान्ति–सुरक्षासम्बन्धी सेवाहरू सामाजिक विकास कार्यालयमा स्थापना गरिएको नयाँ शाखाबाट प्रदान गरिने रेग्मीले बताए ।












