तनहुँ । जेठ १४
हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामी विहिबार साँझ व्यास जन्मभुमी दमौली आए । व्यास जन्मभुमीमा भारतीय जगद्गुरुलाई पहिलो पटक पाईला टेकाउने व्यवस्था वेदव्यास बैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका प्रमुख ध्यानाचार्य खेमराज अधिकारीले मिलाएका थिए ।



मुक्तिनाथबाट पोखरा हुँदै पवित्र देवघाटधाम जाने क्रममा जगदगुरु शंकराचार्यलाई व्यास जन्मभुमीमा ओरालिएको थियो । व्यास जन्मभुमीमा पाइला राख्ने भारतका धर्मगुरुहरु मध्येमा यिनै र जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सबैभन्दा उच्च तहका धर्मगुरु हुन् । उनको स्वागतमा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत उच्च सरकारी अधिकारी तथा सर्वसाधरणहरुको बाक्लो उपस्थिती रहेको थियो । उनको भ्रमणको क्रममा सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको थियो ।

जगदगुरु शंकराचार्य दमौलीको कार्यक्रम पश्चात विहिबार साँझ नै देवघाटधाम गएका थिए । उनलाई देवघाट प्रवेश गर्ने दासढुङ्गामा भव्य स्वागत गरिएको थियो । तिनदिन सम्म देवघाटमा रहने शंकराचार्यले शुक्रबार देवघाट स्थित हरिहर आश्रममा आयोजित कार्यक्रममा आर्शिवचन दिने कार्यक्रम रहेको छ । शंकराचार्यको नेपाल भ्रमणको व्यवस्थापन गरिरहेका सरस्वती पिठम सृङगरीमका सदस्य भरत पौडेलले शंकराचार्य तिन दिनसम्म देवघाटमा रहने बताए । देवघाटमा रहँदा यहाँका प्रमुख मठमन्दिर तथा आश्रमको अवलोकन तथा कालीगण्डकी र त्रिशुलीको संगममा स्नान गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।
गत जेठ ८ गते नेपाल आएका जगदगुरु शंकराचर्यलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पन्चकन्या सहित स्वस्तिवाचनद्धारा स्वागत गरिएको थियो । उनको स्वागतमा पन्चेबाजा धिमे बाजा विभिन्न झाँकीहरु सहिथ पुष्पवृष्टि गरिएको थियो । उनको भ्रमणलाई सफल पार्न नेपाल सरकार, पशुपतिनाथका मूल भट्ट, तथा भट्ट र पशुपति क्षेत्र विकास कोष, नेपाल सन्त समाज, विश्व ॐकार एकता महाभियान, विश्व हिन्दू महासघ, भारतीय दुतावास लगायतले समन्वय गरिरहेको छ ।

करीब ६० बर्षपछि दक्षिणाम्नाय पीठबाट नेपालको यो भ्रमण भएको हो । जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महाराज, श्रृंगेरी मठका अनन्तश्री विभुषित पीठाधिश्वर जगद्गुरु शंकराचार्य श्री श्री भारती तीर्थ महास्वामी ज्यूका प्रिय शिष्य हुन् । उनको सम्बन्ध भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष रहेको बताईएको छ । त्यसकारण उनको नेपालको धार्मिक यात्रालाई पनि विशेष चासोका साथ हेरिएको छ ।
उनी श्रृंगेरी शारदा पीठका ३६ औं शंकराचार्य हुन् । उनी दक्षिण भारतको कर्नाटक राज्यको श्रृंगेरीस्थित आदि शंकराचार्यद्वारा स्थापित चार वटा मुख्य पीठ मध्ये एक पीठका पीठाधीश्वर हुन् । दशिणाम्नाय श्री शारदापीठम् वैदिक सनातन धर्मको सबैभन्दा उच्च, पवित्र र महत्पूर्ण पीठ मानिन्छ ।

श्री श्री विधुशेखर भारती महास्वामी ज्यूको जन्म आन्ध्र प्रदेशको तिरुपतिमा वैदिक विद्वानहरूको परिवारमा पवित्र नागपञ्चमीका दिन अर्थात् २४ जुलाई १९९३ मा भएको थियो । उनको बाल्यकालको अर्थात सन्यासपूर्वको नाम श्री कुप्पा वेंकटेश्वर प्रसाद शर्मा थियो । उनी पाँच वर्षको हुँदा उपनयन संस्कार सम्पन्न भएको थियो । भगवानप्रतिको भक्ति र वैदिक जीवनशैलीले भरिएको पारिवारिक वातावरणमा हुर्किएका उनले आफ्ना पिता तथा हजुरबुवाबाट कृष्ण यजुर्वेदको प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए ।
अध्ययनका क्रममा उनले असाधारण प्रतिभा, तीव्र स्मरणशक्ति र गहिरो अभ्यासद्वारा वेदमा शीघ्र प्रवीणता हासिल गरेका थिए ।
किशोर अवस्थामै सन् २००६ मा उनले पहिलोपटक जगद्गुरु श्री भारती तीर्थ महास्वामीजीको दर्शन गरेका थिए । जसले उनको जीवनमा गहिरो आध्यात्मिक प्रभाव पारेको थियो ।

सन् २००९ को प्रारम्भमा शृंगेरी भ्रमणका क्रममा श्री वेंकटेश्वर प्रसाद शर्माले जगद्गुरु श्री भारती तीर्थ महास्वामीजीको शरण ग्रहण गर्दै उनकै सान्निध्यमा शास्त्र अध्ययन गर्ने इच्छा व्यक्त गरेका थिए । युवा ब्रह्मचारीको निष्ठा, विनम्रता र तीक्ष्ण बुद्धिबाट प्रभावित भई जगद्गुरुले उनलाई आशीर्वाद दिँदै व्यक्तिगत रूपमा शास्त्रहरूको शिक्षा दिन थालेका थिए । उनले ती शिक्षाहरू अत्यन्त छिटो आत्मसात् गर्दै गहिरो अध्ययनमा प्रवीणता प्राप्त गरे । साथै उनले तर्कशास्त्र र वेदान्त शास्त्रको गहन अध्ययन गरेका थिए ।
आध्य गुरु शंकराचार्यको अविछिन्न रुपमा जोडिएको गुरु–शिष्य परम्परालाई निरन्तरता दिँदै जगद्गुरु श्री भारती तीर्थ महासन्निधानमले विधुशेखर भारती महास्वामीज्यूलाई २३ जनवरी २०१५ मा संन्यास दीक्षा प्रदान गरेका थिए । साथै उनलाई आफ्नो उत्तराधिकारीका रूपमा अभिषिक्त गर्दै “श्री विधुशेखर भारती” नाम प्रदान गरेका थिए ।
आफ्ना पूज्य गुरु श्री महासन्निधानमकै प्रत्यक्ष मार्गदर्शनमा शास्त्रहरूको गहन अध्ययन तथा सिद्धि प्राप्त गरेका जगद्गुरु श्री विधुशेखर भारती सन्निधानम् आज अद्वितीय विद्वानका रूपमा परिचित छन् । गुरुको निर्देशनमा उनले शृंगेरी मठका विविध कार्यहरूको सञ्चालन, स्वतन्त्र धार्मिक भ्रमण, भक्तजनलाई आशीर्वाद तथा सनातन धर्मका सिद्धान्तहरूको प्रचार–प्रसार गर्दै आएका छन् । संस्कृत, कन्नड, तेलुगु, तमिल तथा हिन्दी भाषामा उनको वाक्पटुता सार्वजनिक प्रवचनहरूमा स्पष्ट देखिन्छ । आफ्नो स्नेह, करुणा, कृपा र गहन ज्ञानद्वारा उनले भक्तजनलाई धर्ममार्गतर्फ प्रेरित गर्दै आध्यात्मिक जीवनको मार्गदर्शन प्रदान गरिरहेका छन् । छोटो समयमै उनले आफ्नो सरल, सौम्य र करुणामय व्यक्तित्वका कारण असंख्य भक्तजनहरूको श्रद्धा र प्रेम प्राप्त गर्न सफल भएका छन ।
व्यास क्षेत्रको अवलोकन पश्चात जगदगुरु शंकराचार्यले उक्त भुमीको भ्रमण गर्न पाउँदा निकै खुसी लागेको बताए । वेदव्यासको जन्मभुमीमा टेक्न पाउँदा आफुलाई पनि निकै खुसी लागेको उनले बताए ।
यिनै महत्वपुर्ण व्यक्तित्व जगदगुरु शंकराचार्यको व्यास जन्मभुमी दमौलीको भ्रमणपछि दमौलीमा भारतीय पर्यटकहरुको संख्यामा बृद्धि हुने र त्यसले दमौली मात्रै नभई समग्र तनहुँ जिल्लाकै धार्मिक पर्यटनमा ठुलो टेवा पुग्ने विश्वास गरिएको ध्यानाचार्य खेमराज गुरुले बताए । उनले अव वेदव्यासको जन्मभुमीलाई विश्वमाझ प्रचार प्रसार यो भम्रणको ठुलो टेवा पुग्ने बताए ।












