विष्णु मगर । देवघाट, जेठ १६
सुन्तला बेचेर जिवन यापन गर्दै आएका देवघाट गाउँपालिकाको वडा नम्बर ३ का कृषक सुन्तलामा रोग लाग्न थालेपछि चिन्तित भएका छन् । वडा नम्बर ३ का विभिन्न स्थानका कृषकहरुको मुख्य आम्दानीको श्रोत नै सुन्तला हो । यहाँका कृषकहरुले सुन्तला बेचेर बर्षेनी लाखौं रुपैयाँ आम्दानी लिँदै आएका छन् । एकै किसानले मात्र २० लाख रुपैयाँ सम्मको आम्दानी सुन्तला बेचेर लिँदै आएका छन् ।



तर यसवर्ष भने सुन्तलाको बोटमा रोग लागेपछि आम्दानी गुम्ने चिन्तामा कृषकहरु छन् । यहाँका सुन्तलाबारीका सुन्तलाको बोटको जरा सुक्दै तथा बोक्राहरु सुक्दै जाने तथा बेमौसमा सुन्तला पहेलो भई झर्ने जस्तो रोग लागेर किसान चिन्तामा परेका छन् । देवघाट गाउँपालिका वडा नम्बर ३ लुङ्ग्र्रिङको धेरै सुन्तलामा रोग लागेको र यो समस्या बिस्तारै बाटकमा पनि सर्न थालेको बाटक कृषि समुहका अध्यक्ष भरत थापा मगरले बताए । सुन्तलाको रोगहरु नियन्त्रणको लागि कृषि ज्ञान केन्द्रले औषधीहरु दिए पनि यसको रोग पत्ता नलागाई दिएको हुदा सुन्तलाको रोगमा कुनै सुधार नभएको मगरले बताए ।

देवघाटको सुन्तला पकेट क्षेत्रको रुपमा लिइने वडा नम्बर ३ का कृषकले बर्षाैं मेहनेत गरेर हुर्काएको सुन्तलाको बाट रोग लागेर मर्न थालेको सुन्तला किसान हर्क बहादुुर थापाले बताए । रोग नलागेको सुन्तलाको बोटले ५० बर्ष भन्दा बढि समय फल दिने भन्दै अर्का कृषक जितबहादुर थापाले अव यस ठाउँका सुन्तलाको बोटले उत्पादन दिन नसक्ने हो की भन्ने चिन्ता लागेको बताए ।
मानिसमा अनेकौं किसिममा रोग लागे झैं सुन्तलामा पनि त्यस्तै अनेकौं रोग लाग्न थालेको थापाले बताए । एक थरि रोगको उपचार गरेर नसक्दै अर्काे थरीको रोग लाग्ने गरेको उनले बताए । जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेलो भइ झर्ने रोग सुन्तलामा लागेको थापाले बताए ।

त्यस क्षेत्रको मुख्य आम्दानीको रुपमा रहेको सुन्तलामा लागेको रोगको पहिचान गरि समयमै रोग निदानको लागि स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताए । सुन्तलामा लागेको रोगको विषयमा अनुसन्धान गरि रोग पहिचान गरि सो रोगलाई निर्मुल गर्न जरुरत रहेको थापाले बताए ।
अर्का सुन्तला कृषक एवं देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष भिमबहादुर रानाले यहाँका कृषकको मुख्य बाली र मुख्य आम्दानी नै सुन्तला भएको बताए । देवघाटको वडा नम्बर ३ को लुङग्रिङ, छिपछिपे, छापस्वाँरा र दगरामा उत्पादित सुन्तला नेपालकै उत्कृष्ट सुन्तलामा गनिने सुन्तला कृषक रानाले बताए । गत वर्ष लुङग्रिङ गाउँबाट मात्रै तिन करोड भन्दा बढिको सुन्तला निर्यात भएको रानाले बताए । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नु पर्ने बाध्यता भएका लुङग्रिङबासी केही वर्ष यता भने सुन्तला बेचेरै लखपती बनेको रानाले बताए ।

लुङग्रिङमा गत वर्ष एकै घरबाट २० लाख भन्दा भन्दा बढिको सुन्तला विक्री गरेको रानाले बताए । स्थानीय प्रेमबहादुर रानाले २० लाख बढिको सुन्तला विक्री गरे । अन्य कृषकले पनि लाखौं मुल्यको सुन्तला विक्री गरेका थिए । सुन्तला देवघाट गाउँपालिकाकै मुख्य आम्दानी भएको कारण सुन्तला जोगाउन गाउँपालिकाले प्रथामिकतामा राखी हरेक वर्ष सुन्तलाको विषयमा कृषकलाई तालिम अनि ज्ञान दिनु पर्ने कृषि संघ वाटकका अध्यक्ष भरत सिं मगरले बताए । सुन्तलाको विषयमा कृषि प्राविधिक बारीमै आएर ज्ञान दिनुपर्ने मगरले बताए ।
‘सरकार अझै निदाएकै छ’ आक्रोशित कृषकले भने ‘अब ल्हुङ्ग्रिङमा सुन्तलाको नाम मात्र बाँकी रहन्छ ।’ ल्हुङ्ग्रिङ क्षेत्रका सुन्तलाबारीहरू अहिले विनाशको डिलमा पुगेका छन् । वर्षौंदेखि कृषकहरूको जीवन धान्दै आएको सुन्तला खेतीमा ‘सिट्रसल्ल’ नामक सरुवा रोग महामारीझैँ फैलिएपछि किसानहरू निराशा, पीडा र आर्थिक संकटको भुमरीमा फसेका हुन् ।

स्थानीय कृषक दिल बहादुर राना मगरका अनुसार सुरुवातमा पालिका र जिल्ला स्तरबाट आएका प्राविधिकहरूले रोग पहिचान गर्न नसकेपछि पोखरा र काठमाडौंबाट आएको विज्ञ टोलीले सुन्तलामा ‘सिट्रसल्ल’ रोग लागेको पुष्टि गरेको बताए । ‘यो सामान्य रोग होइन, किसानको भविष्य नै सखाप पार्ने सरुवा रोग हो, एउटा बोटबाट अर्को बोटमा आगोझैँ फैलिरहेको छ’ उनले भने ‘अहिले ल्हुङ्ग्रिङका प्रायः सबै सुन्तलाबारी संक्रमित भइसकेका छन्, बाँकी ठाउँहरुमा पनि बिस्तारै रोग सङ्क्रमण हुँदै छ ।’
विज्ञ टोलीले समुद्री सतहदेखि कम उचाई भएका क्षेत्रमा रोगको संक्रमण अझ तीव्र देखिएको बताएको उनले जानकारी दिए । रोग लागेपछि सुन्तलाका पात पहेँलो हुने, जरा कुहिने, बोक्रा सुक्ने र फल लागे पनि पाक्न नपाउँदै झरेर नष्ट हुने समस्या बढ्दै गएको छ । विगत सम्झँदै रानाले भने ‘यही सुन्तलाले हाम्रो घर चलाएको थियो, वर्षमा ४१ लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो, अहिले अवस्था यस्तो भयो कि अब यसको आधा पाउन पनि मुस्किल छ अबको हरेक वर्ष रोग सङ्क्रमण हुँदै कम उत्पादन हुँदै गएको छ, अबको चार वर्षसम्म ल्हुङ्ग्रिङमा सुन्तला नै नदेखिने अवस्था आउँदैछ ।’

उनका अनुसार विज्ञहरूले संक्रमित बोटहरू सबै काटेर नयाँ बिरुवा रोप्न सुझाव दिएका छन् । अब पुराना बोट बचाएर केही हुने अवस्था छैन, सबै काटेर नयाँ सुरुवात नगरे सुन्तलाबाट फेरि आम्दानी लिन सकिँदैन, उनले दुखेसो पोखे , कृषक जित वहादुर मगर भन्छन् सुन्तला खेती नै मुख्य आम्दानीको स्रोत रहेको यस क्षेत्रमा अहिले किसानहरू हजारौँ होइन, लाखौँ घाटा व्यहोर्न बाध्य भएका छन् ।












