सफल शर्मा । देवघाट, जेठ १९
राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका कार्य समितिले विभिन्न समसामयिक विषयमा देवघाट गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । रास्वपा देवघाट गाउँपालिका कार्य समितिका पदाधिकारीहरुले मंगलबार देवघाट गाउँपालिकामा पुगी सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा जनहितका विषयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्र बुझाउँदै रास्वपा देवघाटका सभापती बलबहादुर क्षेत्रीले गाउँपालिकावाट सम्पादन भएका केही कार्य तथा गतिविधिका सम्बन्धमा जनस्तरवाट उठेका प्रश्नहरूको यथोचित जवाफ र आवश्यक छानविन गरिनुपर्ने बताए ।




ध्यानाकर्षणपत्रमा नदीजन्य गिटी, वालुवा तथा ढुङ्गा उत्खनन सम्बन्धी विषयमा देवघाट गाउँपालिका क्षेत्रभित्रका नदी तथा खोलाहरूबाट स्वीकृत परिमाणभन्दा वढी नदीजन्य पदार्थ उत्खनन गरिएको जनाईएको छ । आर्थिक वर्षगत रूपमा स्वीकृत उत्खनन परिमाण, ठेक्का सम्झौता, राजस्व संकलन तथा वास्तविक उत्खननको विवरण तुरुन्त सार्वजनिक गर्नुपर्ने, उत्खनन कार्य वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानुन बमोजिम भएको छ वा छैन भन्ने विषयमा छानविन गर्नुपर्ने तथा नदीको प्राकृतिक बहाव, जैविक विविधता, खेतीयोग्य जमिन तथा स्थानीय वस्तीमा परेको प्रभावको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

यसैगरि रातिको समयमा वा तोकिएको क्षेत्रबाहिर उत्खनन तथा ढुवानी भएको छ वा छैन भन्ने विषयमा अनुगमन गरी तथ्य सार्वजनिक गर्नुपर्ने, नदीजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनले तोकिएको मापदण्ड भन्दा वढी लोड बोक्दा मूल्याङ्कन गर्नुपर्ने, सडक, पुल तथा सार्वजनिक संरचनामा पुगेको क्षतिको मूल्य उत्खननबाट प्राप्त राजस्वको विवरण र उक्त रकम कहाँ तथा कसरी खर्च गरिएको हो भन्ने जानकारी सार्वजनिक गर्नुपर्ने तथा यदि स्वीकृत सीमा नाघेर उत्खनन भएको वा कुनै अनियमितता भएको पाइएमा सम्वन्धित व्यक्ति, कम्पनी वा निकायमाथि कानुनी कारबाही गर्न माग गरिएको छ ।

नदी दोहनका कारण भविष्यमा हुन सक्ने बाढी, कटान तथा वातावरणीय जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना सार्वजनिक गर्नुपर्ने, नदीजन्य पदार्थको उत्खनन सम्वन्धमा विगत तीन आर्थिक वर्षको सम्पूर्ण ठेक्का विवरण, स्वीकृत परिमाण, राजस्व संकलन तथा अनुगमन प्रतिवेदन सार्वजनिक गरी पारदर्शिता कायम गरियोस् । साथै आवश्यक परेमा सर्वपक्षीय छानविन समिति गठन गर्नुपर्ने र निकासीको क्रममा क्षती भएका बाटोहरु तुरुन्त मर्मत तथा निमार्ण गर्नुपर्ने माग गरिएको छ ।

यसैगरि गाउँपालिकाका सवारी साधनको प्रयोग सम्बन्धी विषयमा सार्वजनिक विदा, शनिवार, आइतवार तथा कार्यालय समय बाहेकका दिनमा गाउँपालिकाका सवारी साधन कसले, कुन प्रयोजनका लागि प्रयोग गरेको हो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने, प्रत्येक सवारी साधनको लगबुक, इन्धन खर्च, मर्मत खर्च तथा चालकको विवरण सार्वजनिक गर्नुपर्ने, सरकारी सवारी साधन व्यक्तिगत, राजनीतिक वा गैर–सरकारी प्रयोजनमा प्रयोग भएको छ वा छैन भन्ने विषयमा छानविन गर्नुपर्ने, विदाको दिनमा प्रयोग भएका सवारी साधनको स्वीकृति आदेश तथा सम्बन्धित कागजात सार्वजनिक गर्नुपर्ने, यदि कानुन विपरीत सवारी साधनको प्रयोग भएको पाइएमा सम्बन्धित पदाधिकारी वा कर्मचारीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ ।
भविष्यमा सवारी साधनको पारदर्शी प्रयोग सुनिश्चित गर्न जीपीएस र्याकिङ नियमित अनुगमन तथा सार्वजनिक प्रतिवेदनको व्यवस्था गर्नुपर्ने तथा यस विषयमा गाउँपालिकाले तथ्यगत विवरण सहित लिखित जवाफ उपलब्ध गराउन र आवश्यक छानबिन प्रक्रिया अगाडि बढाउन पनि रास्वपा देवघाटले देवघाट गाउँपालिका समक्ष माग गरेको छ ।
करार तथा अस्थायी कर्मचारी नियुक्ति सम्बन्धी विषयमा देवघाट गाउँपालिकामा आवश्यकता, कार्यवोझ तथा स्वीकृत दरवन्दीको आधार भन्दा वढी करार, ज्यालादारी वा अस्थायी कर्मचारी नियुक्त गरिएको भन्ने जनगुनासा प्रति गाउँपालिकाको ध्यानाकर्षण गराईएको छ । हाल कार्यरत स्थायी, करार, ज्यालादारी तथा सेवा करारका कर्मचारीहरूको संख्या, पद, जिम्मेवारी र पारिश्रमिक विवरण सार्वजनिक गर्नुपर्ने, करार कर्मचारी नियुक्ति गर्दा खुला प्रतिस्पर्धा, योग्यता र कानुनी प्रक्रिया पालना गरिएको हो वा होइन भन्ने स्पष्ट पार्नुपर्ने, आवश्यकता भन्दा बढी कर्मचारी राखिएको छ वा छैन भन्ने विषयमा संगठन तथा व्यवस्थापन अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ ।

यसैगरि कर्मचारी व्यवस्थापनका कारण गाउँपालिकाको प्रशासनिक खर्च कति बढेको छ भन्ने विवरण सार्वजनिक गर्नुपर्ने, राजनीतिक पहुँच, नातावाद वा पक्षपातका आधारमा कर्मचारी नियुक्ति गरिएको भए छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने, सेवा प्रवाह सुधारको नाममा अनावश्यक कर्मचारी थप्दा विकास निर्माण तथा जनमुखी कार्यक्रमको वजेट प्रभावित भएको छ वा छैन भन्ने जानकारी सार्वजनिक गर्नुपर्ने तथा आवश्यकता नभएका पद तथा दोहोरो जिम्मेवारी भएका कर्मचारी व्यवस्थापन गरी सार्वजनिक स्रोतको मितव्ययी उपयोग सुनिश्चित गर्न पनि माग गरिएको छ ।
यस्तै गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको विवरण, नियुक्तिको आधार, सेवा सुविधा तथा वार्षिक खर्च सार्वजनिक गर्नुनर्पे र आवश्यकता भन्दा बढी कर्मचारी नियुक्ति भएको पाइएमा त्यसको समीक्षा गरी सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन पनि माग गरिएको छ ।
विकास योजनाको गुणस्तर र पारदर्शिता अन्तर्गत सम्पन्न तथा सञ्चालनमा रहेका योजनाको लागत, गुणस्तर र प्रगति विवरण सार्वजनिक गर्न पनि ध्यानाकर्षणपत्रमा माग गरिएको छ ।
त्यस्तै उपभोक्ता समिति गठनमा पारदर्शिता तथा सबै पक्षको सहभागिता सुनिश्चितता गर्नुपर्ने, गाउँपालिकाको आम्दानी तथा खर्चको अद्यावधिक विवरण सार्वजनिक गर्नुपर्ने, खरिद तथा ठेक्का प्रक्रियामा प्रतिस्पर्धा, पारदर्शिता र कानुनी प्रक्रियाको पालना भएको सुनिश्चित गर्नुपर्ने, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तथा विनियोजित बजेट तथा कार्यक्रमको वास्तविक उपलव्धि सार्वजनिक गर्न तथा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण तथा जनगुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि माग गरिएको छ ।
खोलानाला, वनजङ्गल, मठ मन्दिर, पाटीपौववा, सम्पदा संस्कृति, भौतिक पूर्वाधार, भेषभुषा, भाषा लिपि यि सबै जनताको सम्पत्तिर गहना भएको भन्दै त्यसको संरक्षण, सम्बद्र्धन गर्दै सदुपयोग गर्नु सबैको दायित्व भएको ध्यानाकर्षणपत्रमा जनाईएको छ । उल्लेखित विषयहरूमा गाउँपालिकाले यथाशीघ्र स्पष्ट धारणा तथा आवश्यक विवरण सार्वजनिक गरी जनताको विश्वास कायम राख्ने छ भन्ने अपक्षा पनि उक्त ध्यानाकर्षणपत्रमा गरिएको छ ।
रास्वपा देवघाटका सभापती बलबहादुर क्षेत्री, उपसभापती शालिग्राम मिश्र, सचिव किरण सुवेदी, कोषाध्यक्ष पवित्रा बस्तोला तथा वडा नम्बर ५ का सभापती नारायण सापकोटाले देवघाट गाउँपालिकाका इन्जिनियर अरुण पौडेललाई उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।












