६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक टोलीले नेपाल भ्रमण ग¥यो । १० दिनसम्म नेपालमा रहँदा टोलीले पशुपतिनाथ, मुक्तिनाथदेखि देवघाटसम्मका धार्मिक पीठहरूको पूजाअर्चनाका साथै नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्न सफल भयो ।
यो केवल धार्मिक भ्रमणमात्र नभएर नेपाल–भारतबीचको सदियौँ लामो सम्बन्धको निरन्तरता पनि थियो । पशुपतिनाथ, मुक्तिनाथ होस् या देवघाट जहाँ पुग्दा पनि शंकराचार्यको एउटै सन्देश थियो, “नेपाल र भारत व्यवस्थाका कारण फरक–फरक देश हुन्, परम्परा र धर्ममा दुवै एक ठाउँमा छन् । कुनै विभेद छैन ।”




नेपाल–भारतबीच सीमालगायत राजनीतिक रूपमा दूरी बढिरहेका बेला शंकराचार्यले विवादको अन्त्य गर्दै धर्म र परम्पराले दुवै देशका नागरिकलाई जोड्ने सन्देश दिइरहेका थिए । तर कुनै पनि तरिकाले राजनीतिक विषय कहीँ कतै प्रवेश भने गराएनन् ।
नेपाल र भारतका करोडौँ व्यक्ति आस्थामा विश्वास गर्छन् र जीवनलाई धन्य बनाउँछन् । र, धर्मबाट नै मोक्ष प्राप्त गर्न सकिन्छ भन्नेमा विश्वास राख्छन् । धर्मको आचरणबाट जीवन सार्थक बनाउन सकिन्छ भन्ने सन्देश पनि शंकराचार्यको थियो ।
धर्म, अधर्म, पुनर्जन्म, दानलगायतमा रहेका प्रश्नको सरल तरिकाले शंकराचार्यले नेपालको दशदिने ‘विजय यात्रा’मा लगातार जवाफ दिए । अहिले प्रविधिको समयमा पनि धर्म र पाप, स्वर्ग र नर्कको तर्कले काम गर्छ त ?

शंकराचार्यको तर्क थियो– आज हामी नयाँ विश्वमा छौँ भनेर यस्तैयस्तै तर्क आउने गर्छन् । ठूला विज्ञान र आविस्कारका कुरा भइरहन्छन् । यो समयमा पनि धर्म र अधर्म पुरानो विचार हो भन्छन् । धर्मको के आवश्यकता छ ? धर्मले के सुविधा दिएको छ अहिलेको संसारमा ? यस्तै–यस्तै तर्क आइरहन्छन् ।
अहिले विज्ञानले चमत्कार गरिसक्यो, यो समयमा पनि धर्म र अधर्मका कुरा ? शंकराचार्य विधुशेखर भारतीको भनाइ थियो–उनीहरूको तर्क एक तरिकाले ठिक पनि छ । हो, विज्ञान र प्रविधिले जीवन निकै सहज बनाएको छ ।
यो जति ठिक छ अर्को पनि त्यति नै महत्त्वपूर्ण कुराचाहिँ छुटाइएको छ । सबै प्रविधिले सहज बनाए पनि मानिसका दुःख कम भएका छैनन् । प्रविधि नभएको बेलामा पनि मानिस सुखी थिए । सबै मानिसलाई दुःख थियो भन्ने होइन । तर, अहिले प्रविधिको समयमा पनि धेरै मानिस दुःखी छन् किन त ?
पैसा र प्रविधिको जति कमी छैन, दुःखको पनि त्यतिकै कमी छैन । सुविधा नै नभएको बेला मानिस सुखी पनि त थिए, कसरी ? प्रविधि बढेपछि त मान्छे निकै सुखी हुनुपर्ने हो नि ! तर, हुन सकेनन् । प्रविधिसँगै अझै ठूला दुःख पनि निम्तिन सक्छ । दुःखलाई प्रविधिले हटाउँदैन ।

किन ? दुःखको मूल कारण अर्कै छ । यो जसरी पनि आउन सक्छ । आधुनिक समयमा पनि दुःख मेटाउने प्रविधि आएन । यो आउनेवाला पनि छैन । सुखको साधन छ । हाम्रा पूर्वज सुखी पनि थिए । उनीहरूसँग सुखको कारण थियो । सुख र दुःखको कारण हामीले जान्नैपर्छ ।
के कारण छन् त ? सुखको मूल कारण हो धर्म । दुःखको मूल कारण हो अधर्म । जसले अधर्म गर्छ उसले प्राप्त गर्ने दुःख नै हो । त्यो कुनै प्रविधिले मेटाउन सक्दैन । जंगलमा रहने पनि सुखी रहन सक्छन् र खुसी हुन सक्छन् ।
हरेक मानिस के चाहन्छ ? सुख ! कसरी प्राप्त गर्ने ? धर्मको आचरणबाट । धर्म पनि विचार हो ? हो । एउटा यस्तो विचार हो, धर्मको अनुमतिबिना सुख प्राप्त हुँदैन । हामीले आँखाले हेर्छौं, कानले सुन्छौं नै । त्यो जस्तोसुकै प्रविधिले पनि बदल्न सक्दैन । यही नै धर्मको व्यवस्था हो । धर्मको फल सुख हो । अधर्मको फल दुःख हो । यो कसैले बदल्न सक्दैन । व्यक्तिका आफ्नै कारणले सुख र दुःख निम्तने गर्छ ।

के शास्त्रमा लेखिएका कुनै पनि विषय प्रश्नभन्दा माथि छन् ? छैनन् । धर्म कठोर होइन । धर्मशास्त्रमा लेखिएका हरेक विषयमा प्रश्न गर्न पाइन्छ । शास्त्र कल्पनामा सीमित छैन । प्रमाण बोकेर बसेको छ । शास्त्र हरेक प्रश्नको जवाफ दिन सधैँ तयार हुनुपर्छ ।
शास्त्रले पुनर्जन्ममा विश्वास गर्छ ? शंकराचार्यको तर्क थियो–यसको पक्ष र विपक्षमा संसारमा बहस जारी छ । शास्त्र यसको पक्षमा छ । गीता, उपनिषद्मा यसका बारेमा विस्तृत लेखिएको छ । कतिले यसलाई विश्वास गर्दैनन्, जसले शास्त्र पनि मान्दैनन् । शास्त्रका प्रमाण देखाउँदा पनि नमान्नेलाई तर्कले सम्झाउनुपर्ने हुन्छ ।
जुनसुकै फल पनि कारणले प्राप्त हुन्छ । कारण नभए फल प्राप्त हुँदैन । आस्तिक वा नास्तिक जो भए पनि फल कारणको अधिनमा हुन्छ । यो त जति ठूला वैज्ञानिकले पनि मान्छन् । कारणविना कार्य पनि हुँदैन । कारण नै छैन भन्न कसैले सक्दैन । शास्त्र पनि नमान्नेले यसलाई अस्वीकार गर्दैनन् ।
पुनर्जन्मको बारेमा आउँदा हर एक व्यक्तिलाई पनि जन्मदेखि मृत्युसम्म सुख र दुःख प्राप्त भइरहेको छ, यो निरन्तर चलिरहन्छ जीवनमा । कसैको जन्म नै दुःखमा हुन्छ, कसैको सुखमा । जन्मदैमा सुख र दुःख कसरी प्राप्त हुन्छ त ? जीवनमा प्राप्त सुख र दुःखको सूची बनाउने हो भने कारण के हुनसक्छ भनेर निकाल्न सकिन्छ । सुखको कारण पनि देखाउन सकिन्छ । र, दुःखको पनि । हरेक कार्यको कारण हुन्छ भने सुख र दुःखको पनि हुन्छ ।

जब जन्मदेखि नै सुख प्राप्त हुन्छ, यसको कारण के हो त भन्दा अघिल्लो जन्मलाई बुझ्नुपर्ने हुन्छ । अघिल्लो जन्ममा गरिएको कामको फलअनुसार सुख र दुःख अहिले प्राप्त भइरहेको छ । त्यो पनि जन्मिँदैदेखि । कारणकै बिना कार्य आउँदैन भने अघिल्लो जन्मको कार्यको प्रतिफलस्वरूप अहिले सुख वा दुःख प्राप्त भइरहेको छ । कसैलाई यसमा गम्भीर प्रश्न आउन सक्छ । प्रश्न गर्ने अधिकार धर्मले दिएको छ । कुनै पनि प्रश्नभन्दा माथि कोही छैन । जसले धेरैभन्दा धेरै प्रश्न गर्छन् उनै बढी जान्ने हुन्छन् । ठिक प्रश्न गर्न सक्ने व्यक्ति नै अघि बढ्छ ।
मनमा प्रश्न नउठ्नेले सिक्नै सक्दैन । त्यसैले प्रश्न गर्दै जानु र सिक्दै जानु पनि धर्म हो । धर्म, अधर्म, पुनर्जन्मको व्याख्यासँगै शंकराचार्यले नेपाल–भारतबीचको सम्बन्धलाई पटक–पटक जोड दिए । “भारत र नेपालबीचको सम्बन्ध आदिकालदेखिको हो । म अहिले पशुपतिनाथको प्रांगणमा हुँदा पनि भारतमा भन्दा कुनै फरक पाएको छैन,” शंकराचार्यले भने ।
६० वर्षपहिला आफ्ना गुरु नेपाल भ्रमणमा आएको स्मरण गर्दै शंकराचार्यले थपे, “नेपाल–भारतबीचको सम्बन्ध प्राचीनकालदेखि नै हो । शृङ्गेरी पीठसँगको सम्बन्ध निकै पुरानो छ । पशुपतिनाथको दर्शन गर्न आउने र यहाँका कैयौँ विद्यार्थी पीठमा अध्ययन गर्न जाने प्रचलन पनि सदियौँदेखि छ । भारतमा शंकराचार्यले चार पीठको स्थापना गर्नुभयो । पीठहरूको पनि एकार्कासँग विशेष सम्बन्ध छ । शृङ्गेरी पीठको क्षेत्र रामेश्वरम् क्षेत्र हो । शृङ्गेरी पीठका मठाधीश मात्रै त्यहाँ पुगेर भगवान्को पूजा गर्नुहुन्छ ।
त्यसका अतिरिक्त नेपालका राजाहरू मात्रै गएर त्यहाँ पूजा गर्थे । शृङगेरी पीठाधीश र नेपालका राजाहरू मात्रै त्यहाँ भगवान्को गर्भालयमा पुगेर पूजा गर्ने प्रचलन थियो । नेपाल र भारतबीच आध्यामिकता र नागरिकस्तरबीचको घनिष्ठ सम्बन्ध छ ।”
भारतीय नीति आयोगका सीईओ, भारतीय सर्वोच्च अदालतका न्यायाधीश, अम्बानी समूहको नेतृत्व तहमा रहेका अधिकारी, सचिव, सरकारी उच्च अधिकारी, सुरक्षा निकायका वरिष्ठ अधिकारीलगायत व्यक्तिहरू शंकराचार्य नेतृत्वको टोलीमा सहभागी थिए । टोलीमा सहभागी नीति आयोगका सीईओ बीभीआर शुब्रमन्यमले बाह्रखरीसँग भने, “राजनीतिभन्दा टाढा पनि हाम्रो (नेपाल–भारत) सम्बन्ध छ ।” नेपालको पर्यटन, निजी क्षेत्रको भूमिकालगायत विषयलाई पनि टोलीले नजिकबाट चिन्ने मौका पाएको थियो ।
भाटभटेनी सुपरमार्केटको आमन्त्रणमा नेपाल आइपुगेका शंकराचार्यको भ्रमणले धार्मिक पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । “यो विशुद्ध धार्मिक कार्य हो,” भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने, “धर्मले आचरण र अनुशासन सिकाउँछ । आचरण र अनुशासनबिना कोही पनि सफल हुन सक्दैन । त्यसैले हामीले यो कार्यको लागि अगुवाइ गरेका हौँ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि जसरी भारतबाट धार्मिक पर्यटकको घुइँचो लागेको छ, त्यसैगरी शंकराचार्यको भ्रमणपछि दक्षिण भारतीय पर्यटक नेपाल आउने विश्वास आफूले गरेको गुरुङको भनाइ थियो । अहिले पनि दैनिक मुक्तिनाथ पुग्ने हजारौँ पर्यटकमध्ये ७० प्रतिशतको हाराहारीमा भारतीय पर्यटक रहने गरेको पाइएको छ ।
करिब ७१ करोड रुपैयाँको लागतमा काठमाडौंको बूढानीलकण्ठमा भाटभटेनीले बनाएको बाल अस्पतालको समेत शंकराचार्यबाटै उद्घाटन गरिएको थियो । उद्घाटनका समयमा शंकराचार्यले नेपालका बालबालिकाको उपचारका लागि दानमार्फत् बनाइएकोमा प्रशंसा गर्दै भनेका थिए–दानमात्रै हामीले संसारमा छाडेर जान सक्छौँ ।”
देवघाटलाई ‘वैदिक राजधानी भन्दा फरक नपर्ने’ भनी शंकराचार्यले दिएको प्रवचनले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।












