तनहुँ । जेठ २१
तनहुँका विभिन्न स्थानीय तहमा विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाईएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा स्थानीय तहहरुले सचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् ।



नेपाल सरकारले वि.सं २०६३ साल जेठ २१ गते सबै किसिमका विभेद र जातिय छुवाछुत उन्मुलन राष्ट्र घोषणा गरेको स्मरणमा विहिबार देशैभर भेदभाव तथा छुवाछुत विरुद्ध विभिन्न कार्यक्रम गरि मनाइएको हो । तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका तथा घिरिङ गाउँपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरे ।

भानु नगरपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा नेपाली काँग्रेसका सचेतक पदम परियारले सम्बोधन गरेका थिए भानु नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै सांसद परियारले जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि दलित समुदाय मात्र नभई सम्पूर्ण समाजको सक्रिय सहभागिता आवश्यक रहेको बताए । समुन्नत, सभ्य र समतामूलक समाज निर्माणका लागि गैरदलित समुदाय पनि समान रूपमा अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।
भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले पालिकालाई पूर्ण रूपमा छुवाछूतमुक्त बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै समावेशी र समानतामूलक समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
उपप्रमुख उमा गोतामेले कानुनी रूपमा छुवाछूत उन्मूलन घोषणा भए पनि व्यवहारिक रूपमा समाजमा अझै जातीय विभेदका विभिन्न स्वरूप कायम रहेको बताइन् । उनले विभेदमुक्त समाज निर्माणका लागि चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कानुनी व्यवस्था, सामाजिक उत्तरदायित्व र समुदायस्तरीय पहलका विषयमा प्रशिक्षक पूर्ण विकेले सहजीकरण गरेका थिए ।

यस्तै व्यास नगरपालिकामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले संविधानले सबै प्रकारको छुवाछुत तथा भेदभावको अन्त्य गरेको भन्दै जातिय विभेदको कार्यलाई दण्डनीय अपराधको रुपमा स्विकार गरि संविधानले नै छुवाछुत मुक्त राष्ट्र बनाएको बताए । तर पनि विभिन्न प्रकारको नाममा हुने जातिय विभेद र छुवाछुत अझै कायम नै रहेको उनको भनाई थियो ।
उक्त कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले छुवाछुत र जातिय विभेद गर्नु दण्डनीय अपराध भएपनि समाजबाट अझै पनि छुवाछुत हट्न नसकेको बताए । नगर प्रमुख न्यौपानेले आगामी कार्यपालिकाको बैठकबाट व्यास नगरपालिकालाई जातीय भेदभाव तथा छुपाछुत मुक्त घोषणा गर्ने बताए ।

शुक्लागण्डकी नगपालिकामा विभिन्न कार्यक्रम सहित २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाईयो । नगर स्तरीय दलित सञ्जाल शुक्लागण्डकी नगर समितिको आयोजनमा विहीबार नगरपालिकामा बसोबास गर्ने दलित समुदायले साँस्कृतिक झाँकी सहित शक्ति प्रदर्शन गरेर दिवस मनाएका हुन् ।
विपिचोकदेखि नगरपालिकासम्म आयोजना गरिएको ¥याली पश्चात नगरपालिकाका सभाहरुमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्ने बताए । उनले जात भन्दा बर्गका आधारमा बढी विभेद हुने गरेको दावि गर्दै दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको बताए ।

नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले सामाजिक रुपमा विभेदका अवशेष अझै रहेको भन्दै कानुनको प्रभावकारी कार्यन्वयन आजको आवश्यकता बनेको बताए । यस्तै पूर्व निवर्तमान उपप्रमुख सविता रसाइलीले दलित समुदायमाथि अझै पनि जातीय रुपमा समान ब्यवहार नहुने यथार्थ विरुद्ध लड्न प्रतिवद्ध भएर लाग्नुपर्ने बताइन् ।
नगरपालिकाका विभिन्न स्थानबाट सहभागि भएका दलित समुदायको बाक्लो उपस्थितीका विच सम्पन्न भएको कार्यक्रममा गायक यामसागर विक र कलाकार दिवस परियारले सास्कृति प्रस्तुती राखेको थिए ।
यस्तै घिरिङ गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जातीय विभेद गर्नेलाई अपराधको रुपमा कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।












