बन्दीपुरले उत्कृष्ट किसान र सहकारीलाई सम्मान गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २३

बन्दीपुर गाउँपालिकाले उत्कृष्ट किसान र सहकारी संस्थालाई सम्मान गर्ने भएको छ । स्थानीय स्तरमै किसानलाई व्यावसायिक बनाउन गाउँपालिकाले किसान सम्मानको कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले कृषि पेसालाई मर्यादित र आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत जिल्लामै पहिलो पटक उत्कृष्ट कृषक, कृषि समूह तथा कृषि सहकारीलाई नगदसहित विशेष सम्मान गर्ने प्रक्रिया अघि बढाएको हो ।

गाउँपालिकाका प्रवक्ता एवं वडा १ का अध्यक्ष शिवकुमार श्रेष्ठले यो सम्मान केवल औपचारिक कार्यक्रम मात्र नभएर बन्दीपुरलाई कृषिमा आत्मनिर्भर बनाउने दीर्घकालीन अभियानको हिस्सा भएको बताए । बन्दीपुर पर्यटनका लागि मात्र होइन, कफी, सुन्तला, तरकारी र पशुपालनका लागि पनि प्रचुर सम्भावना बोकेको क्षेत्र भएको भन्दै उनले वास्तविक र रैथाने किसान पहिचान गरी उनीहरूको लगानीको कदर गर्न र कृषि पेसाप्रतिको आकर्षण बढाउन हामीले यो प्रोत्साहन कार्यक्रम ल्याएको बताए ।

गाउँपालिकाले सूचना जारी गर्दै सम्मान कार्यक्रममा सहभागी हुन इच्छुक र योग्य कृषि फर्म, समूह तथा सहकारीलाई आवश्यक कानुनी कागजातसहित आगामी ७ दिनभित्र निवेदन पेस गर्न आह्वान गरेको छ । आवेदनका लागि वडा कार्यालयको सिफारिसपत्र, नागरिकता, जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) को प्रतिलिपि तथा कृषि फर्म, समूह वा सहकारीको दर्ता एवं नवीकरण प्रमाणपत्र अनिवार्य गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीका अनुसार कृषि क्षेत्रमा उल्लेखनीय योगदान गर्ने वास्तविक कृषकहरू नीतिगत प्रक्रियाबाट नछुटून् भनेर अनुसूची बमोजिमको वस्तुगत मापदण्ड तयार गरिएको छ । समयमै रीतपूर्वक आउने आवेदनहरूमध्येबाट प्राविधिक टोलीको स्थलगत अनुगमन र मूल्याङ्कनको आधारमा उत्कृष्ट कृषक र संस्था छनोट गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू