तनहुँ । असार ८
शुक्लागण्डकी नगरपालिकाको आगामी आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरिएको छ । सोमबार भएको नगरसभाको १९ औं अधिवेशनको बैठकमा नगर प्रमुख कृष्णराज पण्डितद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरिएको हो ।



‘शुक्लागण्डकी नगरपालिकामा स्थायी बसोवास भई देश विदेशमा रहेका लगानीकर्ता, निजी तथा सार्वजनिक संघ संस्था, नागरिक लगानी कोष, सहकारीलाई आकर्षित गर्दै सार्वजनिक निजी सहकारी साझेदारी, नेपाल पूर्वाधार बैंक, संघीय सरकारको स्वीकृतिपश्चात लगानीमा सहभागी हुने विदेशी संघ संस्था तथा विकास साझेदार निकाय समेतसंग सहलगानी, सहुलियतपूर्ण ऋण लगानी, अनुदान स्विकार गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसरी नगरपालिका क्षेत्रभित्र लगानीको वातावरण सुधार गर्न सार्वजनिक निजी साझेदारी, सार्वजनिक निजी सहकारीको अवधारणा कार्यान्वयन गरिनेछ ।
यसमार्फत नगरक्षेत्रभित्र सेती नदीमा चेक ड्याम, नगर रङ्गशाला, नगर सिटि हल, पर्यटन, सूचना तथा पुर्नतार्जगी केन्द्र, नगर बसपार्क जस्ता गौरवका ठूला योजना लगायतका रणनैतिक आयोजना संचालन गरिनेछ साथै नवप्रवर्तनशील उद्योगहरुको स्थापना मार्फत भौतिक पूर्वाधारको स्तरोन्नति, नवनिर्माण तथा संचालन गर्दै शुक्लागण्डकी नगरको दिगो विकासलाई तिव्रता दिईनेछ ।’

शुक्लागण्डकीको सेवा प्रवाह केन्द्रलाई व्यवस्थित गर्न अनलाइन फाइल ट्रयाकिङ प्रणाली व्यवस्थापन गर्ने जनाइएको छ । नगर गुरुयोजना तयार पारेर सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्ने उल्लेख छ । आगमी बर्ष क्षमता विकास नाममा हुने गरेका भ्रमण तथा तालिमलाई न्यूनिकरण गर्दै लग्ने नीति लिइएको छ । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
यस्तै नगर सभाको सोही अधिवेशनमा नगर उपप्रमुख खुमबहादुर विकले आगामी आर्थिक वर्षकोलागि १ अर्व १३ करोड ५४ लाख ३९ हजारको अनुमानित आय/व्यय प्रस्तुत गरेका छन् ।
उपप्रमुख विकका अनुसार आगामी आर्थिक वर्षमा आय तर्फ आन्तरिक आय अन्तर्गत ढुङ्गा, गिट्टी, बालुवा विक्री तथा सेवा शुल्क समेत गरि १३ करोड ५० लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १४ करोड ६० लाख, राजश्व बाडफाँड तर्फ १२ करोड ३८ लाख, सर्शत अनुदान ४६ करोड ४३ लाख, विशेष अनुदान १ करोड ४० लाख समपुरक अनुदान १ करोड ३३ लाख हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान वापत १ करोड ९३ लाख, राजश्व बाँडफाड तर्फ १ करोड ५९ लाख, समपुरक अनुदान ६० लाख र विशेष अनुदान ४० लाख हुने अनुनमान गरिएको छ । घरजग्गा रजिष्ट्रेशन बापत मालपोत कार्यालयबाट प्राप्त हुने १ करोड ५० लाख, जनसहभागिताबाट १ करोड ५० लाख अनुमान गरिएको छ ।
उत्पादन र रोजगार सिर्जना गर्ने, समानुपातिक वितरण प्रणालीमा विनियोेजन गरिने, विपन्नलाई प्राथमिकता दिइने तथा गाउँ र शहरको सम्बन्धलाई नजिक बनाउने प्रयत्न गरिने बजेटको उद्देश्य रहेको उपप्रमुख विकले बताए ।












