तनहुँ । असार ८
म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ७४ करोड ३२ लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ । सोमबार सम्पन्न २० औं गाउँसभाको दोश्रो बैठकमा उपाध्यक्ष बालकृष्ण घिमिरेले अनुमानित बजेट पेश गरेका थिए ।



विनियोजित बजेट मध्ये चालु तर्फ ४७ करोड ९३ लाख र पुँजिगत तर्फ २६ करोड ३९ लाख रहेको छ । उक्त बजेटको श्रोत सुनिश्चितताकोलागि संघीय सरकारको वित्तिय समानीकरण अनुदानबाट नौ करोड ९२ लाख, सर्शत अनुदानबाट ३९ लाख, चालुबाट १८ करोड, राजश्व बाँडफाँड तर्फ ८ करोड ७७ लाख, त्यसैगरि गण्डकी प्रदेशको प्रदेश वित्तिय समानीकरणबाट एक करोड २१ लाख, राजश्व बाँडफाँड ९० लाख, सडक बोर्डबाट २३ लाख अनुमान गरिएको छ ।

त्यस्तै आन्तरिक आयबाट १५ करोड, समपुरक अनुदानबाट ७० लाख, विशेष अनुदानबाट ४० लाख, सामाजिक सुरक्षा भत्ताबापत १३ करोड, प्रदेश समपुरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख तथा नागरिक साझेदारीबाट दुई करोड प्राप्त हुने अनुमान गरिएको छ ।
विनियोजन तर्फ वडागत रुपमा वडा नम्बर १ को लागि ५० लाख ७५ हजार, वडा नम्बर २ को लागि ५५ लाख ३१ हजार, वडा नम्बर ३ को लागि ४५ लाख, वडा नम्बर ४ को लागि ५० लाख ४७ हजार, वडा नम्बर ५ को लागि ४६ लाख, वडा नम्बर ६ को लागि ५१ लाख र वडा नम्बर ७ को लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै आर्थिक विकास तर्फ चार करोड १८ लाख, सामाजिक विकास तर्फ ३३ करोड १६ लाख ८३ हजार, पुर्वाधार विकास तर्फ २५ करोड ३९ लाख ६८ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ८७ लाख, कार्यालय सन्चालन र सुशासन तर्फ १० करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
म्याग्देले चालु आर्थिक वर्ष ०८२/०८३ को लागि ६८ करोड ७६ लाख ३६ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

म्याग्दे गाउँपालिकाले यस अघि दोश्रो आवधिक योजनाको दिर्घकालिन सोच ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को लक्ष्यलाई साकार पार्ने अठोट सहित म्याग्दे गाउँपालिकालाई नीति तथा कार्यक्रममा आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने नीति तथा कार्यक्रम पारित गरिसकेको छ । गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे गर्ने लक्ष्य लिईएको छ ।
एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने गाउँपालिकाको नीति तथा कार्यक्रम रहेको छ ।

नीति तथा कार्यक्रम मार्फत अध्यक्ष श्रेष्ठले हालको पदाधिकारीको बाँकी रहेको करिब एक वर्षको कार्यकालमा ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को अभियान सन्चालन गर्ने तथा खर्च कटौतीको लागि अनावश्यक चालु खर्च नियन्त्रण, सबै प्रकृतिका भ्रमण खर्च, अनावश्यक गोष्ठी, तालिम, अनावश्यक सामाग्री खरिद, ओभर स्टाफिङ तथा करार कार्यमा रोक लगाउने गरि दिर्घकालिन नीति प्रस्ताव गरेका थिए ।












