तनहुँ । असार २०
अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी गण्डकी प्रदेश सरकारबाट सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमार्फत सुशासन, जनचेतना र विकासको प्रक्रियामा पु¥याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै गण्डकी प्रदेश सरकारले भण्डारीलाई सम्मानित गरेको हो ।



गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिस्ट्रारको कार्यालयद्वारा शनिबार पोखरामा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार भण्डारीलाई नगद ५० हजार रुपैयाँ राशिसहित सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।
उक्त समारोहमा पत्रकारिता क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका भण्डारीसहित गण्डकी प्रदेशका अन्य पाँच जना ज्येष्ठ तथा अग्रज पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको प्रेस रजिस्ट्रार कार्यालयले जनाएको छ । सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार र पर्वतकी सरस्वती शर्मा जिज्ञासु रहेका छन् ।

उक्त अवसरमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले संघीयताको जडको विवेचना नगर्ने हो भने ढिलोचाडो मुलुक द्वन्द्वमा फस्ने बताए । विगत ३५ वर्षमा केही नभएको भन्नु गलत हो भन्दै उनले देशले पछिल्लो समय शिक्षा, स्वास्थ्य तथा प्रविधि क्षेत्रमा ठूलो फड्को मारेको बताए । ‘प्रेस स्वतन्त्र हुनुपर्छ भन्नेमा दुईमत छैन । सत्य बोल्ने र सत्य लेख्न कसैले छेक्न पाइँदैन,’ उनले भने, ‘आज प्रविधिसँगसँगै आमसञ्चारजगत् फड्को मारेको र त्यत्तिकै चुनौती पनि थपिएको छ ।’ सामाजिक सञ्जाल र मेनस्ट्रिम पत्रकारिताबीच जनतालाई फरक हो भन्ने बुझाउन सक्नुपर्नेमा जोड दिए । उनले सरकारका कमीकमजोरीबारे पनि मिडियाले औंल्याइदिनुपर्ने बताए ।
प्रेस रजिष्ट्रार बिमला भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै इतिहास अभिलेखीकरणबाट मात्र बाँच्दछ भन्दै अग्रज पत्रकारको सम्मानको थालनी गरिएको प्रस्ट पारिन् । उनले भनिन्, ‘यदि संघर्ष, अनुभव र योगदान दस्तावेजीकरण गरिएन भने एउटा पुस्ताको सम्पूर्ण अनुभव हराउँदै र बिर्सदै जान्छ । त्यसैले अग्रज पत्रकारको जीवन, संघर्ष, अनुभव र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखका रुपमा सुरक्षित गर्ने अभियान प्रारम्भ गरेका हौं ।’ उनले सत्य, निष्पक्ष, व्यावसायिकता र उत्तरदायित्वमा आधारित पत्रकारितालाई सुदृढ बनाउन प्रेस रजिष्ट्रारको कार्यालय लागिपरेको बताइन् ।
सम्मानित पत्रकारतर्फबाट विश्वबन्धु भण्डारीले सम्मानप्रति खुसी व्यक्त गर्दै शासक र जनताबीच रहेर काम गर्ने पत्रकार भएको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अहिलेको मिडिया संकटबाट गुज्रिरहेको भन्दै सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सरकारको नीतिको महासंघले निरन्तर विरोध गर्दै आएको बताए । पत्रकारलाई स्वास्थ्य बिमामा अपेक्षाकृत बजेट काटेर आएकोमा गुनासो गरे । नवीकरण फेल भएका संचारमाध्यमलाई एकपल्ट छुट गरेर नवीकरणको सुविधा दिन उनले माग गरे ।
अग्रज पत्रकार सम्मानका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, महासंघ गण्डकीका पूर्व अध्यक्ष नारायण शर्मा, प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल र प्रेस रजिष्ट्रार बिमला भण्डारी थिए ।












