तनहुँ । असार २९
जलाशययुक्त १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माण अन्तर्गत तेश्रो प्याकेजको रुपमा रहेको प्रशारण लाइनको निर्माण कार्यको ८१ प्रतिशत प्रगती भएको छ ।



भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले निर्माण गरिरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको प्रगति ८१ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । ३५ किलोमिटर लामो प्रसारण लाइनका लागि निर्माण गरिने ९४ वटा टावरमध्ये ८२ वटाको जग हाल्ने, ७२ वटा टावर खडा गर्ने तथा ४१ वटा टावरको ग्राउन्डिङ कार्य सम्पन्न भईसकेको आयोजनाले जनाएको छ ।

उक्त प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा आवश्यक वन क्षेत्र व्यवस्थापन तथा रूख कटान कार्य अघि बढाउन तनहुँ हाइड्रोपावर लिमिटेड र डिभिजन वन कार्यालय, चितवनबीच गत वैशाख २५ गते सम्झौता भएको थियो । सम्झौना बमोजिम वन क्षेत्र प्रवेश अनुमति प्रदान भएपश्चात राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रभित्र पर्ने रुख कटान कार्य प्रारम्भ गरिएको छ ।
डिभिजन वन कार्यालय, चितवनसँग गरिएको सम्झौता अनुसार रुख कटान, काठ संकलन तथा सुरक्षित भण्डारणसम्बन्धी कार्यहरु सञ्चालित छन् । रुख कटान तथा सुरक्षित भण्डारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएपश्चात चितवन जिल्लाका सामुदायिक वन उपभोक्ता समूहहरूले रुख कटान तथा काठ संकलन कार्य सुरु गरेका छन् । यी कार्यहरू तोकिएका स्वास्थ्य, सुरक्षा तथा वातावरणसम्बन्धी मापदण्डहरूको पूर्ण पालना गर्दै सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।
कटान गरिएका काठहरूको उचित संकलन, सुरक्षित भण्डारण तथा व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समूहहरूलाई सहयोग पु¥याउने उद्देश्यले आयोजनाले काठ भण्डारण स्थलको सुरक्षा सुदृढ गर्न तारबार एवम् सिसिटिभी जडानको कार्य भइसकेको जनाईएको छ ।
नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वको उक्त आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र अन्तर्राष्ट्रिय विकास साझेदारहरु एसियाली विकास बैंक (ए.डि.बी.), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जा.ई.का.) तथा युरोपेली लगानी बैंक (इ.आई.बी.) को सहुलितपूर्ण ऋण रहेको छ ।

आयोजनाको मुख्य संरचनाहरुको निर्माणलाई तीनवटा प्याकेजहरुमा विभाजन गरिएको छ । जस अनुसार प्याकेज १ मा बाँधलगायतका संरचना (हेड वक्र्स) निर्माणको कार्य रहेको छ । उक्त कार्य कालिका जेभीले गरिरहेको छ । उक्त प्याकेज अन्तर्गत ६२ प्रतिशत भौतिक प्रगति भएको छ ।
त्यस्तै प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरणहरु (बाँधका गेटसहितका हाइड्रोमेकानिकल उपकरणहरुसमेत) निर्माण रहेको छ । चिनिया कम्पनी सिनो हाइड्रो मार्फत भईरहेको दोश्रो प्याकेज भौतिक प्रगति ७८.५ रहेको आयोजनाले जनाएको छ ।
आयोजनाको डिजाइन पुनरावलोकन, निर्माण सुपरीवेक्षण एवम् करार व्यवस्थापनका कार्यहरु आयोजना सुपरीवेक्षण परामर्शदाता (पि.एस.सी.) बाट र आयोजनाका वातावरणीय तथा सामाजिक स्रक्षणका योजना/क्रियाकलापहरु वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक (इ.एस. एम. एस. पी.) मार्फत कार्यान्वयन भइरहेका छन् ।
समग्रमा असार १५ सम्म आयोजनाको समग्र भौतिक प्रगति ७७.५ प्रतिशत रहेको जनाईएको छ ।












