देवघाट गाउँपालिकाको ५५ करोडको बजेट पारित

Devghat Online

शेयर गरौ

देवघाट । असार २९

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ५५ करोड ५८ लाख ६७ हजारको अनुमानित बजेट पारित गरेको छ । सोमबार आयोजित १८ औं गाउँसभाको बैठकले गत असार १० गते गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङद्वारा प्रस्तुत गरिएको उक्त बजेट पारित गरेको हो ।

कुल बजेट मध्ये चालु खर्च तर्फ ३९ करोड १७ लाख ५० हजार र पुँजिगत खर्च तर्फ १६ करोड ४९ लाख १७ हजार विनियोजन गरिएको छ । बजेटका श्रोतहरुमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त ८ करोड ३२ लाख, राजश्व वाँडफाडबाट ८ करोड ४५ लाख ३४ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ कूल २२ करोड ५६ लाख ३२ हजार, पुँजीगत तर्फ १ करोड १२ लाख, संघीय विशेष अनुदान अन्तर्गत प्राप्त ८६ लाख, संघीय समपुरक अनुदान ७० लाख रहेको छ ।

त्यस्तै प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान ९७ लाख १ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त ४० लाख, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश राजश्व बाँडफाँड ६० लाख र आन्तरिक आय ८ करोड अनुमान गरिएको छ ।

गाउँसभाको चालु बैठकले देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पारित गरेको थियो । नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प लिईएको छ ।

उक्त संकल्प पुरा गर्न दिगो विकासको राष्ट्रिय लक्ष्यहरुलाई स्थानीयकरण गर्दै नागरिकको आधारभुत आवश्यकता पुरा गर्ने उद्देश्यका साथ धार्मिक पर्यटनको प्रबद्र्धन, गुणस्तरीय पुर्वाधार निर्माण, कृषिमा आत्मनिर्भर बन्दै आयआर्जनमा बृद्धि र स्वरोजगार कार्यक्रममा प्राथमिकता दिन तथा स्थानीय श्रोतको पहिचान र परिचालन गरि समावेशी र दिगो आर्थिक विकास मार्फत सार्वजानिक, समुदाय र नीजि क्षेत्रको साझेदारी गरिने मुख्य लक्ष्य लिईएको छ ।

गाउँसभाको बैठकले उक्त आर्थिक विधेयकहरुसँगै विभिन्न विधेयकहरु समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू