देवघाट । असार ३२
देवघाट गाउँपालिका–५ देवपुर स्थित बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टेकराज सापकोटाको बिदाई सामारोहको अवसरमा विहिबार विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको हो ।



कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टेकराज सापकोटा लाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यालय, शिक्षक र अभिभावकबीच सुमधुर सम्बन्ध स्थापित गर्न पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मानपत्र, खादा, माला सहित सम्मानपूर्वक बिदाइ गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा देवघाट गाउँपालिका–५ का वडा अध्यक्ष पूर्णबहादुर कुँवरले पछिल्लो समय बराह आधारभूत विद्यालयले शैक्षिक र भौतिक दुवै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए । उनले प्रधानाध्यापक सोमबहादुर थापाको नेतृत्वमा विद्यालयले नयाँ गति र पहिचान बनाएको उल्लेख गर्दै शिक्षा सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले निवर्तमान अध्यक्ष सापकोटाले आफ्नो व्यक्तिगत स्वार्थभन्दा विद्यालयको हितलाई सधैं प्राथमिकतामा राख्दै निस्वार्थ रूपमा काम गरेको बताए । विद्यालय व्यवस्थापन समिति र शिक्षकबीचको विश्वास र सहकार्य नै विद्यालय विकासको सबैभन्दा ठूलो आधार भएको उल्लेख गर्दै उनले शिक्षा प्रणालीमा आएको नयाँ व्यवस्थाका कारण नेतृत्व परिवर्तन भए पनि सापकोटाको योगदान विद्यालयको इतिहासमा सधैं स्मरणीय रहने बताए ।
सोही अवसरमा कैडन्य ऋषि आश्रमको सहयोगमा विद्यालयका सबै ७६ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको थियो । प्रअ थापाका अनुसार आश्रमले यसअघि पनि विद्यालयका विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिमा पटक–पटक सहयोग गर्दै आएको छ । यस्तो सहयोगले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई विद्यालयप्रति थप उत्साहित बनाएको उनले बताए ।

सम्मानित निवर्तमान अध्यक्ष सापकोटाले आफूले जिम्मेवारीमा रहँदा निस्वार्थ भावना, इमानदारी र आफ्नो ज्ञान, सीप तथा क्षमताले भ्याएसम्म विद्यालयको हितका लागि काम गरेको बताए । पदमा नरहे पनि आगामी दिनमा विद्यालयको विकासका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिना आलेले आफूले सकेसम्म विद्यालयको हितमा समय, श्रम र जिम्मेवारी दिएर अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले विद्यालयको समृद्धिका लागि सबैको सहकार्यलाई अझ सुदृढ बनाउँदै सिक्दै र अघि बढ्दै जाने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने, देवपुर टोल विकास संस्थाका अध्यक्ष सुकु गुरुङ लगायतले शुभकामना व्यक्त गर्दै विद्यालयको समग्र विकासमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखेका थिए ।












