तल्लो सेती जलविद्युत आयोजनाको प्रभावित देवघाटका जग्गाधनीलाई मुआब्जा रकम बुझ्न जिल्ला प्रशासनको सुचना

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३१

१२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाबाट प्रभावित हुने देवघाट गाउँपालिका वडा नम्बर ४ का नागरिकलाई मुआब्जा रकम बुझ्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । प्रशासनले कार्यालयले मंगलबार सुचना प्रकाशित गरि तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको विद्युतगृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचनाहरु निर्माण कार्यकोलागि आवश्यक पर्ने देवघाट गाउँपालिका वडा नम्बर ४ मा रहेका सिञ्च्याङ र काफलडाँडा अन्तर्गत रहेका ३० जना जग्गाधनीलाई मुआब्जा रकम बुझ्न आउन सुचित गरेको हो ।

निर्माणाधिन तनहुँ हाईड्रोपावर लिमिटेड अन्तर्गत निर्माण कार्य अगाडी बढाउन लागिएको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको विद्युतगृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचनाहरु निर्माण कार्यकोलागि जग्गाहरु प्राप्ती गर्नको लागि गठित मुआब्जा निर्धारण समितिको गत असार २४ गतेको बैठकको निर्णयानुसार मुआब्जा रकम निर्धारण गरिएको सुचनामा जनाईएको छ ।

सम्बन्धित जग्गाधनीहरुले जग्गाधनी प्रमाण पूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र, चालु आ.व.मा मालपोत तथा भूमि कर तिरेको रसिद, जग्गाधनीको मृत्यु भएको भए जग्गाधनी र हकवाला बीचको नाता प्रमाणित प्रमाणपत्र र जग्गाधनीको मृत्यु दर्ताको प्रमाणपत्र, हकवालाको चैत्र खाताको चेकको प्रतिलिपि (पेन्सन खाता तथा सामाजिक सुरक्षा खाता बाहेकको) र सम्बन्धित वडा कार्यालयको सिफारिस समेत संलग्न गरी सक्कल निवेदन सहित मुआब्जा बुझ्न तनहुँ जलविद्युत आयोजनाको कार्यालय, ऋषिङ्ग गाउँपालिका–१, झापुटारमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के.हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजनाले जनाएको छ । आवश्यक स्वीकृति प्राप्त भएपछि हाल सुरुङ निर्माण सुरु गरिएको छ ।

आयोजनाका अनुसार प्रवेश सुरुङ आयोजनाको मुख्य संरचना निर्माणका लागि आवश्यक भूगर्भीय अध्ययन, अन्वेषण तथा पहुँच मार्गका रूपमा अत्यन्त महत्वपूर्ण रहनेछ । तल्लो सेती जलविद्युत् आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धजलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाबाट वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

उनका अनुसार आयोजनाको बाँध तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाअन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ । बाँधको उचाइ ३२ मिटर रहनेछ भने यसबाट करिब १२ दशमलव ७ किलोमिटर लामो जलाशय निर्माण हुनेछ । सञ्चित पानीलाई ६ दशमलव ७५ किलोमिटर लामो सुरुङमार्फत देवघाट गाउँपालिका–४, गाईघाटस्थित अर्धभूमिगत विद्युत् गृहमा पु¥याइने योजना रहेको छ ।

आयोजनाको अनुमानित कूल लागत २२७ मिलियन अमेरिकी डलर रहेको र कूल लागतको ३० प्रतिशत स्वपुँजी तथा ७० प्रतिशत ऋणमार्फत आयोजना निर्माण गर्ने अवधारणागत निर्णय नेपाल विद्युत् प्राधिकरणबाट भइसकेको छ । विद्युत गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको हो ।

आयोजना सञ्चालनमा आएपछि हिउँदयाममा दैनिक न्यूनतम ६ घण्टा १२६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने छ । माथिल्लो क्षेत्रमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट निस्कने पानीको पूर्ण उपयोगका लागि तल्लो सेती आयोजना महत्वपूर्ण ‘क्यास्केड’ आयोजना भएको बताईएको छ ।

तल्लो सेतीमा तनहुँ जलविद्युत् आयोजनाकै प्रसारण लाइन प्रयोग गर्न सकिने भएकाले थप प्रसारण पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पर्दैन । साथै आयोजना काठमाडौँ र भरतपुर जस्ता प्रमुख लोड सेन्टर नजिक रहेकाले यो आयोजना लागत प्रभावी तथा व्यावसायिक दृष्टिले उपयुक्त रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू