श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ११

तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण मानिएको सेर्का–भन्ज्याङ खण्डमा मर्मत कार्य सुरु भएसँगै सवारी आवागमन सहज बन्न थालेको छ । लामो समयदेखिको वर्षाका कारण सडक जिर्ण बनेपछि उक्त खण्डमा यात्रा जोखिमपूर्ण बन्दै गएको थियो ।

अदालती मुद्दाका कारण सडक स्तरोन्नतिको काम रोकिएको भए पनि स्थानीयवासीको सास्तीलाई ध्यानमा राख्दै भीमाद नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी मर्मत कार्य अघि बढाएको हो । भीमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीको नेतृत्वमा गरिएको स्थलगत निरीक्षणपछि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. ५ लाख विनियोजन गरी तत्काल सडक मर्मत गर्ने निर्णय गरिएको थियो ।

उक्त सडकको मर्मत सम्भारका लागि विभिन्न स्थानीय तह र निकायहरूले उपकरण परिचालन गरेका छन् । भिमादको सेर्का–भन्ज्याङ खण्डमा भीमाद नगरपालिकाले ५ वटा टिप्पर, सडक डिभिजन कार्यालय तनहुँले १ वटा जेसिबी तथा ऋषिङ गाउँपालिका–८ ले १ वटा जेसिबी परिचालन गरी सडकमा ग्राभेल बिछ्याउने काम गरिरहेका छन् ।

त्यस्तै घिरिङ गाउँपालिकाको क्षेत्रमा पर्ने लसेनागैरा क्षेत्रमा घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाको उपस्थितिमा मर्मत कार्य सुरु गरिएको छ । यस खण्डका लागि घिरिङ गाउँपालिकाले १ जेसिबी र २ टिप्पर तथा सडक डिभिजन कार्यालय दमौलीले १ जेसिबी र १ टिप्पर उपलब्ध गराएका छन् । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले संघ र प्रदेश सरकारको मुख मात्रै ताक्दा यो क्षेत्रका नागरिकहरुले निकै दुख पाउने भएकोले आफुहरुले सडकको मर्मत गरेको बताए ।

प्रदेश र सङ्घीय सरकारबाट अपेक्षित ध्यान जान नसकेको अवस्थामा पनि स्थानीय तहहरू भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका तथा सडक डिभिजन कार्यालय दमौलीको सक्रियता एवं समन्वयमा मर्मत कार्य सुरु भएको भन्दै स्थानीयवासीले आभार व्यक्त गरेका छन् ।

घिरिङ गाउँपालिका–५ का सुमकुमार श्रेष्ठले उक्त मार्गलाई संघ र प्रदेश सरकारले वेवास्ता गरेको र स्थानीय तहहरुले मर्मत सम्भार गरेको बताए । तत्कालका लागि गरिएको यो मर्मत तथा ग्राभेलिङले जोखिमपूर्ण सडक खण्डमा सवारी साधनको आवतजावतलाई धेरै हदसम्म सुरक्षित र सहज बनाउने विश्वास लिइएको श्रेष्ठले बताए ।

श्रृङ्गमार्ग तनहुँको भिमाद नगरपालिकाको भिमाद बजारबाट तनहुँकै रिसिङ र घिरिङ गाउँपालिका तथा नवलपुर, स्याङजा र पाल्पासँग जोड्ने एउटा महत्वपुर्ण सहायक राजमार्ग हो । यसको प्रारम्भिक ट्रयाक खोल्ने काम वि.सं. २०२० सालमै सुरु भएको थियो । भिमाद बजारलाई आधार मानेर तनहुँका स्थानीय तहहरू ऋषिङ र घिरिङ गाउँपालिकालाई जोड्ने यो सडक यस क्षेत्रको आर्थिक र सामाजिक विकासको मेरुदण्ड मानिन्छ । यो सडक हुँदै कालीगण्डकी करिडोर तथा गण्डकी प्रदेशको त्रिवेणी नाका समेत जोडिने भएकाले यो रणनीतिक रूपमा पनि महत्वपूर्ण छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय