तनहुँ । साउन २१
बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका लागि खुला दरखास्त आह्वान गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयले विहिबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका शिक्षकहरूबाट आवेदन माग गरेको हो ।



शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ को उपनियम (२) बमोजिम सम्बद्ध विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरू, कामकाजमा खटाइएका शिक्षकहरू वा अन्य विद्यालयका शिक्षकहरूबाट आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

गाउँपालिकाले माध्यमिक तहका ६ वटा र आधारभूत तहका ३ वटा गरी जम्मा ९ वटा विद्यालयमा प्रधानाध्यापक पदपूर्तिको प्रक्रिया अगाडि बढाएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा शाखाका प्रमुख भिमप्रसाद लामिछानेका अनुसार माध्यमिक विद्यालय तर्फ वडा नम्बर १ को विष्णु मावि र पवित्रा मावि, वडा नम्बर २ को भानु मावि र कालिका मावि, वडा नम्बर ३ को शिव मावि तथा वडा नम्बर ६ को अरुण मावि आधारभूत तह तर्फ वडा नम्बर ४ को जगदिश्वर आधारभूत विद्यालय, वडा नम्बर ५ को चन्द्रोदय आधारभूत विद्यालय र वडा नम्बर ६ को सेतीगंगा आधारभूत विद्यालयमा प्रअ पदपुर्तीको लागि सुचना प्रकाशित गरेको हो ।
माध्यमिक तहको प्रअको लाथि स्नातकोत्तर उत्तीर्ण तथा शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्नेछ भने आधारभूत तहका लागि स्नातक तह उत्तीर्ण र शिक्षाशास्त्र विषयमा प्रमाणपत्र तह (१०+२) वा सो सरह उत्तीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्नेछ ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासन समक्ष निवेदन पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
आवेदनका लागि उम्मेदवारको निवेदन, नागरिकताको प्रतिलिपि, स्थायी नियुक्ति पत्र (बढुवा सहित), शैक्षिक योग्यताका प्रमाणपत्र, तालिमका प्रमाणपत्र तथा विद्यालय विकास प्रस्ताव र पछिल्लो तीन वर्षको अध्यापन नतिजा संलग्न गर्नुपर्ने सूचनामा जनाइएको छ ।












