तनहुँ । साउन २५
तनहुँ क्षेत्र नम्बर २ का सांसद तथा संसदको पूर्वाधार विकास समितिका सदस्य ई.श्रीराम न्यौपानेले विद्युत आपूर्तिमा देखिएको अनियमितता, वितरण प्रणालीको कमजोरी र सेवा अवरोधको समस्या समाधानका लागि नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेको बताएका छन् । सांसद न्यौपानेले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराउँदै वर्षायाममा पटक–पटक विद्युत अवरुद्ध हुने, झ्याप्प–झ्याप्प बिजुली जाने तथा लामो समयसम्म सेवा अवरुद्ध हुने अवस्थाले घरायसी उपभोक्तादेखि उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा र सञ्चार क्षेत्रसम्म प्रत्यक्ष असर परेको उल्लेख गरेका छन् ।



उनले नेपालको ऊर्जा उत्पादन क्षमता विस्तार हुँदै गए पनि विद्युत वितरण प्रणालीको विश्वसनीयता, गुणस्तर र निरन्तरतामा अझै कमजोरी रहेको बताएका छन् । सांसद न्यौपानेले विद्युत आपूर्तिमा देखिएका समस्या समाधानका लागि वर्षायाममा हुने बाढी, पहिरो, चट्याङ, हावाहुरी तथा अन्य प्राकृतिक जोखिमबाट संरचना जोगाउन पूर्वतयारी र शीघ्र पुनःस्थापनाको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने उल्लेख गरे ।
उनले पुराना वितरण लाइन, नाङ्गो तार, जिर्ण पोल, कमजोर ट्रान्सफर्मर, अपर्याप्त क्षमताका सबस्टेसन तथा बढ्दो विद्युत मागअनुसार पूर्वाधार विस्तार हुन नसक्दा विद्युत आपूर्तिमा बारम्बार समस्या देखिएको बताएका छन् । विद्युत अवरोधको कारण, अवधि र समाधान समयको नियमित मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्ने, सम्बन्धित निकायलाई कार्यसम्पादनका आधारमा जवाफदेही बनाउनुपर्ने तथा वितरण प्रणाली सुधारलाई राष्ट्रिय प्राथमिकताको पूर्वाधार कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने सुझाव सांसद न्यौपानेले बताए ।
सांसद न्यौपानेले विद्युत वितरण प्रणालीलाई आधुनिक, स्वचालित र भरपर्दो बनाउन पुराना संरचनाको चरणबद्ध स्तरोन्नति, स्मार्ट ग्रिड प्रविधिको विस्तार, भूमिगत लाइन निर्माण तथा आवश्यक बजेट व्यवस्थापनमा जोड दिएका छन् । त्यस्तै, विद्युत सेवा प्रभावकारी बनाउन पर्याप्त प्राविधिक जनशक्ति परिचालन, आधुनिक प्रविधिसम्बन्धी तालिम, स्थानीयस्तरमा शीघ्र सेवा प्रवाह गर्ने संयन्त्र विकास र नियमित मर्मतसम्भारको व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।
उनले विद्युत आपूर्तिको समस्या सामान्य प्राविधिक विषय मात्र नभई राष्ट्रिय पूर्वाधार, आर्थिक विकास र नागरिक सेवासँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारले उच्च प्राथमिकताका साथ समाधान गर्नुपर्ने बताएका छन् । सांसद न्यौपानेले मन्त्रालयले तत्काल सुधारात्मक कदम चाल्नुका साथै दीर्घकालीन कार्ययोजना, बजेट व्यवस्था, संस्थागत सुधार र कार्यान्वयनको प्रगति विवरण पूर्वाधार विकास समितिलाई उपलब्ध गराउनुपर्ने माग गरे ।












