देवघाट सार्वजनिक पुस्तकालयको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १५

देवघाट सार्वजनिक पुस्तकालयको २२ औँ साधारण सभा सोमबार समपन्न भएको छ । गर्ग गोत्रीय आचार्य समाजको सभा भवनमा आयोजित उक्त साधारणसभाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।

देवघाट सार्वजनिक पुस्तकालयको २२ औं साधारणसभा तथा पुस्तकालय स्थापनाको २० औँ बार्षिकोत्सव एवं १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय सम्बन्धी चेतना अभिवृद्धि गर्ने र पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा स्थानीय प्रबुद्ध व्यक्ति, शिक्षाप्रेमी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकालयलाई केवल पुस्तक थुपार्ने ठाउँका रूपमा नभई समाजको चेतना जगाउने, संस्कार निर्माण गर्ने र भावी पुस्ताको भविष्य उज्यालो बनाउने ज्ञानको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट सार्वजनिक पुस्तकालयको भवन निर्माणलाई पूर्णता दिन सम्पूर्ण देवघाटवासी एकजुट हुनुपर्ने बताए । उनले भने, ‘देवघाटमा पुस्तकालयको भवन बन्नु भनेको एउटा भवन मात्र बन्नु होइन, यो देवघाटको ज्ञान, चेतना र समग्र विकासको आधार तयार हुनु हो ।’

अध्यक्ष थापाले पुस्तकालयमा जीवन र समाजका हरेक क्षेत्रसँग सम्बन्धित पर्याप्त ज्ञानवर्धक पुस्तकहरू उपलब्ध हुनुपर्ने उल्लेख गर्दै यसलाई सबै नागरिकको साझा ज्ञान केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे । पुस्तकालय भवन निर्माणका लागि विभिन्न स्थानमा सहयोग पेटिका राखेर प्रत्येक नागरिकले आफ्नो क्षमताअनुसार सानो भए पनि योगदान गर्ने अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिँदै उनले भने, ‘कहिलेकाहीँ एउटा गाँस कम खाएर बचाएको रकमले पनि समाजको उज्यालो भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्छ ।’ अध्यक्ष थापाले गाउँपालिकाले विगतमा पनि पुस्तकालयलाई सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानीप्रसाद तिमिल्सिनाले पुस्तकालय ज्ञानको भण्डार र चेतनाको खुला विद्यालय भएको बताए । ज्ञानको खोजी गर्ने हरेक व्यक्तिका लागि पुस्तकालय एउटा खुला विद्यालय भएको उल्लेख गर्दै उनले देवघाट क्षेत्र विकास समितिको तर्फबाट समेत पुस्तकालयको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
देवघाट सार्वजनिक पुस्तकालयका संस्थापक अध्यक्ष प्रा.डा.गुरुप्रसाद सुवेदीले पुस्तकालय स्थापनाको इतिहास सम्झँदै कुनै समय देवघाट अन्य क्षेत्रको तुलनामा ज्ञान, चेतना र शैक्षिक विकासका दृष्टिले पछाडि रहेको महसुस भएपछि स्थानीय नागरिकलाई हरेक क्षेत्रमा सक्षम, सचेत र प्रतिस्पर्धी बनाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बताए । उनले भने, ‘देवघाटका मानिस पनि ज्ञान र चेतनामा अब्बल हुनुपर्छन् भन्ने सोचबाट पुस्तकालयको यात्रा सुरु भएको थियो ।’

प्रविधि, इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पुस्तकालय संस्कृतिलाई चुनौती दिएको भए पनि पुस्तकको महत्व कहिल्यै समाप्त नहुने उनको भनाइ थियो । अनलाइन माध्यमबाट तत्काल सूचना प्राप्त गर्न सकिए पनि पुस्तकालयमा पुगेर खोजी, अध्ययन र अनुसन्धान गर्दा प्राप्त हुने ज्ञानको गहिराइ, अनुशासन र विश्वसनीयता फरक हुने उनले बताए । सुवेदीले पुस्तकालयको भवन निर्माण तथा भौतिक विकासमा पूर्व अध्यक्ष शिवराज पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे।
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले इतिहास रच्नका लागि पहिले इतिहास बुझ्न आवश्यक रहेको बताए । एउटा राम्रो पुस्तकले मानिसको सोच मात्र नभई उसको जीवनको दिशा नै परिवर्तन गर्न सक्ने उल्लेख गर्दै उनले पुस्तक पढ्ने संस्कृतिलाई घरघरमा पु¥याउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा देवघाट सार्वजनिक पुस्तकालयका पूर्व अध्यक्ष तथा हरिहर आश्रमका महासचिव स्वामी टङ्क भुसाल (मुक्तानन्द सरस्वती) ले पुस्तकालय स्थापना हुँदाको समयमा सामुदायिक सिकाइ केन्द्रको अवधारणा नरहेको स्मरण गरे । पछिल्लो समयमा सामुदायिक सिकाइ केन्द्रको अवधारणा विकास भएपछि यसले समेत पुस्तकालयको ज्ञान अभियानलाई थप बल पु¥याएको उनले बताए । पुस्तकालयको विकासमा पूर्व अध्यक्ष शिवराज पौडेलको कार्यकालमा अघि बढेको उल्लेख गर्दै उनले भने, ‘कुनै पार्टी वा व्यक्तिगत स्वार्थ नहेरी दिनरात खटिने नेतृत्वका कारण आज पुस्तकालय भवन निर्माणको चरण अन्तिम अवस्थासम्म आइपुगेको छ ।’

कार्यक्रममा देवघाट सार्वजनिक पुस्तकालयका पूर्व अध्यक्ष शिवराज पौडेलले मानिसको चेतनाको विकासका लागि निरन्तर ज्ञान आर्जन आवश्यक रहेको बताए । उनले देवघाट सार्वजनिक पुस्तकालयको विकासमा विभिन्न तह र क्षेत्रका मानिसहरू जोडिएर सहयोग गर्दै आएको उल्लेख गर्दै करिब ३ करोड ६८ लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि करिब २ करोड रुपैयाँको लागतमा भवन सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिए ।

आफ्नै भवन नहुँदा लामो समयसम्म रेडक्रस भवनमा बसेर पुस्तकालय सञ्चालन गर्नुपरेको विगत सम्झँदै पौडेलले आज भवन निर्माण अन्तिम चरणतर्फ पुग्नु कुनै एक व्यक्तिको प्रयास नभई सम्पूर्ण समुदायको सामूहिक सपना र योगदानको परिणाम भएको बताए । उनले भने, ‘आजको प्रविधिमैत्री युगमा मोबाइलको पर्दामा संसार अटाउन सक्छ, तर एउटा राम्रो पुस्तकले मानिसको मनभित्र निर्माण गर्ने संसारको विकल्प कुनै प्रविधि बन्न सक्दैन ।’ पौडेलले भने ‘देवघाट सार्वजनिक पुस्तकालयको भवन पूर्ण हुनु भनेको केवल एउटा संरचना सम्पन्न हुनु होइन, यो देवघाटका बालबालिका, युवायुवती, विद्यार्थी, अनुसन्धानकर्ता र भावी पुस्ताका लागि ज्ञानको एउटा स्थायी घर निर्माण हुनु हो ।’

कार्यक्रममा देवघाट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीले सिकाइ केन्द्र आर्थिक रूपमा अत्यन्त सबल नभए पनि आफ्नो क्षमताअनुसार पुस्तकालयलाई निरन्तर सहयोग गर्दै आएको बताए ।

सोही अवसरमा देवघाट सामुदायिक सिकाइ केन्द्रले देवघाट सार्वजनिक पुस्तकालयलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । कार्यक्रमकै अवसरमा देवघाट सार्वजनिक पुस्तकालयद्वारा लेखक सागर शर्माको पुस्तक ‘जतन गरे वतन रहन्छ’ समेत विमोचन गरिएको थियो । ‘बाल, युवा र वृद्ध, पुस्तकालय सबैको गन्तव्य’ भन्ने नाराका साथ पुस्तकालयको वार्षिकोत्सव तथा राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर उक्त कृति सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू