भानु नपाको गाडी नुवाकोटमा दुप्चेश्वरमा बेबारिसे भेटियो, के भन्छ नगरपालिका ?

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १५

भानु नगरपालिकाको नाममा रहेको ग १ झ ६३२ नम्बरको पिकअप भ्यान नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा वेवारिसे अवस्थामा भेटिएपछि सो गाडी दुरुपयोग भएको भन्दै चर्काे आलोचना भएको छ । सामाजिक सन्जाल फेसबुकमा सन्देश उप्रेती नामका एक प्रयोगकर्ताले चार दिनदेखी उक्त गाडी दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा राखेर गोसाईकुण्ड तर्फ गएको भनि सार्वजानिक गरेका थिए ।

उक्त घटना सार्वजानिक भएपछि भानु नगरपालिकाको गाडी दुरुपयोग भएको भन्दै चर्काे आलोचना भएको हो । भानु नगरपालिका–२ घर भएकी नेकपाकी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले फेसबुक मार्फत नगरपालिकाको गाडी दुरुपयोग भएको विषयको आलोचना गरेकी छिन् । ‘हाम्रो भानु नगर प्रमुख आनन्दराज त्रिपाठी भदौ ९ गते गोसाइँकुण्डका लागि प्रस्थान गर्नुभएको भन्ने सुनियो । उता उपप्रमुख उमा गोतामेले प्रयोग गर्ने यो गाडी गोसाइँकुण्ड नपुग्दै करिव २० किमि वर नुवाकोटको दुप्चेश्वर १ सिसिपुमा यस्तो अवस्थामा रहेछ मिडियाले बेवारिसे भनेर सार्वजनिक गरिरहेका छन् । नगर प्रमुखसगै उपप्रमुख पनि गोसाइँकुण्डका लागी जानू भएको हो या अरु केही ?’ नेतृ पौडेलले फेसबुकमा लेखेकी छिन् ‘अनि अर्कोतर्फ हाम्रो भानुका वडा प्रतिनिधि सहित थुप्रै नागरिकहरु गोसाइँकुण्डकै लागि जानू भएको र धेरै जना आजसम्म पनि परिवारको सम्पर्कमा नआउनु भएको भनेर सम्वन्धित परिवार याकुल व्याकुल अवस्थामा हुनुहुन्छ खोजीका लागि याचना गरि रहनु भएको छ । यो बेला उहाँहरुका छोराछोरी आफन्तको खोजीमा स्थानीय सरकार तदारुकताका साथ लाग्नु पर्ने ! नगरपालिकाको आन्तरिक श्रोत र संरचना पुर्ण रुपले परिचालन गर्नु पर्ने । कम्तीमा परिवारलाई सास नसके पनि लास त दिनु पर्ने ! होइन र ? प्रमुख उपप्रमुख सहित कार्यपालिका के गर्दैछ होला ? यो गाडी त्यहाँ किन यस्तो अवस्थामा बेवारिसे छ ? भानुका सम्पर्क विहिन दर्जनौं नागरिकहरुको अवस्था के छ ? खोजीमा को को कहाँ कसरी परिचालित छन ? छैनन भने आजसम्म किन हुन सकेन ? यस्तो बेला जनप्रतिनिधि यसरी बेखवर बस्न मिल्छ ? स्थानीय सरकारले पिडित परिवारको चित्कार सुन्नु पर्दैन ? अप्ठ्यारोमा परेका नागरिकको खोजी गर्नु उद्दार गर्नु वा अवस्था के छ थाहा दिनु पर्दन ? यस्तो बिपत्तिमा अत्तोपत्तो नभएको स्थानीय सरकार जनतालाई कहिले काम लाग्छ ?’

यसैगरि भानु नपा–४ निवासी नेकपा एमालेका कार्यकर्ता राजेश पन्थले पनि गाडी दुरुपयोग भएको विषयमा आलोचना गरेका छन् । पन्थले सामाजिक सन्जालमा लेखेका छन् ‘ मेयर ज्यु गल्ती लुकाउन अर्को गल्ती लेख्नु भयो, बिपतको बेला झुटो बोलेर लेखेर होइन सत्य बोलेको भए भानुबासीको साहनुभुती पाउनु हुन्थो नि । हजुर ९ गते गोसाइँकुण्ड तिर्थ यात्रा सरकारी गाडिमा निस्कनु भयो, ९ गते राती नुवाकोट तिर नै बस्नुभयो बिहान ठूलो बाढी आयो हजुर सकुशल रहेर काठमाडौ हुँदै फर्किनु भयो । गाडी ल्याउने बाटो भएन गाडी त्यही सुरक्षित गरेर आफ्नो नियमीत कर्ममा फर्किनु भयो त्यो नै भानु बासिको लागि खुसीको कुरा थियो । तर सरकारी गाडी प्रयोग भएको लुकाउन झन झुटो बोलेर बिपतको बेला जनतामा निरासा पैदा गर्नु भयो र आफ्नो वास्तविक अनुहार देखाउनु भयो । काम गर्दा गल्ती हुन्छ जनतासँग माफी माग्दा के फरक पर्छ र ! तर एउटा झुट लुकाउन सयौ झुटो बोल्नु आवस्यक छैन । यथार्थ बोलेर भानुबासीसँग माफी माग्नुस् हजुर सकुशल हुनुहुन्छ त्यसैमा खुसी छु म ।’
यता भानु नगरपालिकाका प्रमुख त्रिपाठीको सचिवालयले भने बाढी पीडितको उद्धारमा उक्त गाडी लिएर नगरप्रमुख गएको भन्दै स्पष्टिकरण दिएको छ । नगर प्रमुख त्रिपाठीको सचिवालयले सार्वजानिक गरेको स्पष्टिकरणमा नगर प्रमुख आनन्दराज त्रिपाठीले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भानु नगरपालिका नेपाल सरकारसँग हातेमालो गर्दै सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । भदौ १० गते बुधबार नेपाल–तिब्बत भन्सार क्षेत्र, रसुवाको टिमुरे, बेत्रावती बजार, त्रिशूली बजारलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगर प्रमुख त्रिपाठीले उक्त विपद्ले सिंगो देशलाई स्तब्ध बनाएको बताएका हुन् ।

विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा नागरिक तहबाट भइरहेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै नगरप्रमुख त्रिपाठीले स्थानीय तहको तर्फबाट समेत आवश्यक सहयोग गर्न भानु नगरपालिका प्रतिबद्ध रहेको बताए । बाढीको घटनामा भानु नगरवासीसमेत प्रभावित भएको जानकारी पाएलगत्तै नगरपालिकाले विभिन्न निकायसँग समन्वय र सम्पर्क गरी उद्धार तथा सहयोगका लागि पहल गरिरहेको नगर प्रमुख त्रिपाठीले बताएका छन् । यसैक्रममा भानु नगरपालिका–१ का वडा सदस्य विवेक श्रेष्ठसमेत बाढी प्रभावित क्षेत्रमा परेको जानकारी प्राप्त भएपछि नगर प्रमुख त्रिपाठीले परिवार तथा सम्बन्धित व्यक्तिसँग पटक–पटक सम्पर्क गरेका थिए । पछि विवेक श्रेष्ठ बाढीबाट जोगिन सफल भए पनि अलपत्र परेको जानकारी आएपछि नगर प्रमुख त्रिपाठी स्वयं नगरपालिका सवारी साधन ग १ झ ६३२ लिएर उनको उद्धारका लागि प्रभावित क्षेत्रतर्फ गएको स्पष्टिकरण दिएको छ ।

उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा नगरपालिका सवारी साधन दुरुपयोग भएको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण गराउँदै नगर प्रमुख त्रिपाठीले उद्धारजस्तो मानवीय कार्यलाई व्यक्तिगत स्वार्थसँग जोडेर भ्रामक र अपुष्ट सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । नगर प्रमुख त्रिपाठीले कठिन विपद्को यस घडीमा आरोप–प्रत्यारोपभन्दा पनि सबै पक्ष एकअर्काको सारथी बन्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले पीडित परिवार र प्रभावित नागरिकको साथमा भानु नगरपालिका निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू