तनहुँ । भदौ १५
भोटेकोसीको बाढीबाट प्रभावितहरुको लागि तनहुँका विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् । तनहुँका विभिन्न व्यक्ति, संघ संस्था तथा व्यवसायीहरुले बाढीबाट प्रभावित परिवारकोलागि आर्थिक सहयोग गरेका हुन् । उनीहरुले सो सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।



भानु नगरपालिका–११ मानेचौकामा रहेको त्रिभुवन क्याम्पसले सस्थागत १ लाख तथा प्राध्यापक एवं कर्मचारीबाट ५० हजार गरि जम्मा १ लाख ५० हजार रुपैया बाढिपिडितको उद्धारका लागि सहयोग गरेको छ ।

यस्तै म्याग्दे गाउँपालिका–४ थर्पु स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ । विपद्को यस दुःखद घडीमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वमा सुप्रिम सहकारी सधैं प्रतिबद्ध रहेको सहकारीका अध्यक्ष मनोज अधिकारीले बताए ।

यसैगरि भिमाद नपा–६ स्थित भिमाद बचत तथा ऋण सहकारी संस्थाले बाढीपीडितका लागि ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । संस्थाले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । संस्थाका अध्यक्ष काजिमान श्रेष्ठ र मुख्य प्रबन्धक सञ्जीव श्रेष्ठले सहयोग रकम उपलब्ध गराएका हुन् ।

यस्तै भिमाद नपा–३ जलौदी स्थित माझकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले बाढीपीडितका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । सहकारीले आफ्नो सदस्य राहत कोषमार्फत बाढीबाट पीडित तथा प्रभावित परिवारको राहतका लागि उक्त रकम सहयोग गरेको हो । सहकारीका प्रबन्धक सुन्दर तिमिल्सिनाका अनुसार विपद्को समयमा पीडित तथा प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो ।

यसैगरि महिला उद्यमी संघ तनहुँले बाढीपहिरो प्रभावितका लागि ४५ हजार २५४ रुपैयाँ सहयोग गरेको छ । संघले उक्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संघकी अध्यक्ष निर्मला मल्लले जानकारी दिइन् । विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले संघले उक्त रकम प्रदान गरेको हो ।

यसैबीच, संघले भदौ १५ गते आयोजना गर्ने तयारी गरेको ‘महिला तीज विशेष सिर्जनशील उद्यमी मेला’ स्थगित गरेको छ । पछिल्लो समय आएको बाढीपहिरोका कारण सिर्जना भएको विपद्को अवस्थालाई मध्यनजर गर्दै मेला स्थगित गरिएको अध्यक्ष मल्लले बताइन् ।
यस्तै भानु नपा–९ स्थित जैविक विविधता संरक्षण समितिले बाढी पीडितको सहयोगकोलागि प्रधानमन्त्री राहात कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।












