विष्णु मगर । देवघाट, भदौ १६
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको प्रभाव देवघाट गाउँपालिकासम्म परेपछि यहाँ विपद्पछिको राहत व्यवस्थापन, नदीबाट फेला परेका शव तथा मानव अङ्गको व्यवस्थापन र सम्भावित महामारी नियन्त्रणका विषयमा बृहत् छलफल गरिएको छ ।



संघीय सरकारले देवघाट गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै उपलब्ध गराएको २० लाख रुपैयाँको पारदर्शी र प्रभावकारी परिचालन, राहत संकलन तथा बाढीपछिको सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरणको विषयमा मंगलबार सर्वपक्षिय बैठक आयोजना गरियो । उक्त बैठकमा बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो । साथै, बाढीले बगाएर देवघाट क्षेत्रमा ल्याएका शव तथा मानव अङ्गको व्यवस्थापन, प्रभावित क्षेत्रको विवरण संकलन, राहत परिचालन र सम्भावित महामारी नियन्त्रणका उपायबारे सरोकारवालाबीच गम्भीर छलफल भएको गाउँपालिकाले जनाएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले रसुवाबाट आएको बाढीपछि गाउँपालिकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै उद्धार तथा व्यवस्थापनमा आवश्यक सहयोग पु¥याएको बताए । ‘विपद्को अवस्थामा हामीले शव व्यवस्थापनलाई प्राथमिकतामा राख्यौँ’ अध्यक्ष थापाले भने, ‘आवश्यक विपद् व्यवस्थापन सामग्रीदेखि नदीमा फेला परेका शवको व्यवस्थापनसम्म गाउँपालिकाले आफ्नो जिम्मेवारीअनुसार काम गरेको छ ।’ संघ सरकारले उपलब्ध गराएको २० लाख रुपैयाँ विपद् प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी पारदर्शी र प्रभावकारी ढंगले खर्च गरिने अध्यक्ष थापाले बताए । उक्त रकमबाट भएका कामको जिल्ला विपद् व्यवस्थापन समितिले समेत अनुगमन गर्ने जानकारी उनले दिए । देवघाट क्षेत्रका विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट नगद तथा जिन्सी राहत संकलन भइरहेको भन्दै अध्यक्ष थापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकद्वार प्रणालीमार्फत राहत संकलन गर्न राहत संकलन समिति गठन गरिने बताए । जिन्सी राहत सामग्री भने जिल्ला विपद् व्यवस्थापन समिति, तनहुँमार्फत आवश्यक स्थानमा पठाइने उनको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले विपद् कुनै एक क्षेत्र वा निकायको मात्र समस्या नभई समग्र देश र समाजको साझा चुनौती भएको बताए । ‘यस्तो अवस्थामा कुनै एक निकायले मात्र सबै जिम्मेवारी बहन गर्न सक्दैन’ उपाध्यक्ष गुरुङले भने ‘सबै नागरिक, संघसंस्था र सरोकारवाला निकाय एकजुट भएर राहत तथा सहयोग अभियानमा सहभागी हुनु आवश्यक छ ।’ उनका अनुसार राहत व्यवस्थापनका लागि समिति गठन गरी देवघाटमा संकलन भएको राहत गाउँपालिकामार्फत जिल्ला हुँदै सम्बन्धित निकायसम्म पु¥याइनेछ ।

इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख विष्णुप्रसाद शर्माका अनुसार बाढीपछि देवघाटका विभिन्न क्षेत्रमा सूचना तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीय नागरिकलाई सतर्क गराइएको छ । इलाका प्रहरी कार्यालय देवघाटका अनुसार बाढीका कारण देवघाट गाउँपालिकाको क्षेत्रमा १४ पुरुष, ४ महिला र १० वटा मानव अंग गरी जम्मा २८ वटा शव तथा मानव अंग फेला परेको छ । फेला परेकामध्ये २० वटा पूर्ण शव तथा ८ वटा आंशिक शव रहेको इप्रका इन्चार्ज शर्माले बताए ।
आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी ती शव तथा मानव अंग पोखरा पठाइसकिएको उनको भनाइ छ । त्यस्तै, बाढीले बगाएर ल्याएका १७ वटा मृत पशुचौपाया फेला परेको र सम्भावित महामारी नियन्त्रणका लागि ती पशुचौपायालाई जमिनमुनि गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । बाढीले बगाएर ल्याएका माछा संकलन गरी घरमा सुकाएर राख्ने तथा उपभोग गर्ने कार्यले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने भन्दै प्रहरी प्रमुख शर्माले त्यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताए । जनचेतनामूलक सूचना प्रभावकारी नभएमा कडा रूपमा नियन्त्रण तथा बरामदको प्रक्रिया अघि बढाउनुपर्नेमा समेत उनले जोड दिए ।

छलफलमा सहभागीहरूले नदी तथा खोलानालाको जोखिम क्षेत्रलाई ध्यानमा राख्दै मापदण्डअनुसार मात्र घर निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । देवघाटमै रेबिजविरुद्धको खोप उपलब्ध गराउन पहल गर्नुपर्ने, बाढीले बगाएर ल्याएका माछा तथा सम्भावित संक्रमित वस्तुको उचित व्यवस्थापन गर्नुपर्ने तथा संक्रमण नियन्त्रणका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्नुपर्ने विषय पनि उठाइएको थियो ।
देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले बाढीपछिको अवस्थामा झाडापखाला तथा विभिन्न सरुवा रोगको जोखिम बढ्न सक्ने बताए । ‘बाढीपछि दुईदेखि तीन हप्ताको अवधिमा झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना हुन्छ’ उनले भने ‘त्यसका लागि स्थानीय स्वयंसेवक परिचालन गरी समुदायस्तरमै जनचेतना फैलाउन आवश्यक छ ।’ उनले ज्वरो, झाडापखाला, बान्ता वा अन्य असामान्य स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य शाखा वा नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउन आग्रह गरे ।

छलफलमा विभिन्न राजनीतिक दल, संघसंस्था, सन्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले विपद् प्राकृतिक घटना भए पनि त्यसपछिको व्यवस्थापन मानवीय जिम्मेवारीसँग प्रत्यक्ष जोडिएको बताएका छन् । राहत वितरणमा मात्र सीमित नभई स्वास्थ्य सुरक्षा, महामारी नियन्त्रण, जनचेतना, जोखिम न्यूनीकरण तथा आर्थिक स्रोतको पारदर्शी व्यवस्थापनमा सबै पक्ष एकजुट हुनुपर्ने निष्कर्ष छलफलले निकालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युब्न खड्काले बताए ।












