यज्ञराज ज्ञवाली
साहित्यकार एवं समिक्षक
प्रायः किताबहरू पढ्दा पहिला विभिन्न व्यक्तिहरूका प्रतिक्रिया, लेखकको मन्तव्य आदि अग्र पृष्ठका पाना नपढी किताबको विषय बस्तुतर्फ प्रवेश गरिँदैन । किनभने खानाको स्वाद थाहा पाउनु पहिले नै थोरै झिकेर चाखे जस्तो, किताबको भित्र राखिएका विभिन्न पृष्ठहरूको स्वाद थाहा पाउने यो एउटा सहज माध्यम हो । यसरी अग्रपङ्क्तिमा रहेका पाना पल्टाउँदै ग देखि प सम्म पुग्दा पनि किताबका शीर्षक हरूलाई पुष्ट्याईं गर्ने खालका मन्तव्यहरू पढ्न नपाए पछि मनका कौतुहलता झन् जागेर आए र विषय वस्तु भित्रै प्रवेश नगरी मन सन्तुष्ट भएन । किताबका पाना जति पल्टायो उति रसिला पाठहरू, उपन्यास पढे जस्तो किताब पुरै नसकी छोड्न पनि मन लागेन ।



यसरी एक–एक पाठ केलाउँदै पढ्न थाले । हरेक पाठले फरक–फरक रोचक विषय वस्तु पस्केका छन् । यो किताब पढ्दै जाँदा मलाई त यस्तो लाग्यो की यो किताब हाम्रा नानीबाबुहरूको साथै हाम्रो नानी बाबुहरूको प्राथमिक पाठशालाका प्रशिक्षक पिता माता नै यी कुराहरूमा जानकार हुनु आवश्यक छ भन्ने लाग्छ । किनभने सन्तानलाई भविष्यमा कस्तो बनाउने भन्ने पहिलो आरन (जग) नै आफ्नो परिवार हो ।
अव यहाँ लेखकले पाठकलाई बुझाउन खोजेका विषय वस्तु तर्फ लागौं-
एउटा कुवाको भ्यागुतोले यो कुवाको बाहिर पनि संसार छ र ? भनेर सोचे जस्तो एउटा ‘म’ शब्दको अहमताले पनि मानिसलाई अन्धो बनाएर उसमा यस्तो अहम भाव जागेको हुन्छ कि उसले आफू वाहेक अरू कसैलाई पनि योग्य सक्षम ठान्दैन । यही अहमभावले उसलाई पतनको बाटोतर्फ धकेल्दै गएको हुन्छ । नीति श्लोकमा भनिएको छ कि–‘अतिदर्पे हता लङ्का अतिमाने च कौरवाः अतिदाने बलिर्वद्धः अति सर्वत्र वर्जयेत ।’ जहाँ अति हुन्छ त्यहाँ खति अवश्य हुन्छ । यसैले यहाँ यही कुरालाई स्पष्ट पार्न खोजिएको छ ।
मानिसको स्वभाव जुन पारिवारिक संस्कारमा उ खाई बढेको हुन्छ, उसको पहिलो पाठशाला परिवार भएको हुनाले उसलाई त्यही परिवारको संस्कारको छाप परेको हुन्छ । “गुरु अनुसारको चेला” भन्ने लोकोक्ति जस्तै पहिलो प्राथमिक शिक्षाका शिक्षक त पिता माताको साथै त्यो घरका सदस्यहरू नै हुन् । त्यसैले आफू शिक्षित नभई दिएको अल्पज्ञानको शिक्षाको प्रभावले नवशिशुलाई कस्तो प्रभाव पार्ला ? बाहिरबाट लादिएका पाठ्यक्रमको आधारमा दिइने शिक्षाले हाम्रा सन्तति कति संस्कारी बन्न सक्लान् ? त्यसैले नैतिक आचरण भनेको के हो ? वैदिक गुरुकुल शिक्षा भन्नाले हामी के बुझ्छौ ? हामी वैदिक सनातन धर्मका अनुयायी हुनाले हाम्रो संस्कार कस्तो हुनुपर्छ ? इति आदि कुरामा आफू सन्तानको मातापिता हुनु अगावै प्रशिक्षित यस्ता संस्कारिक कुरामा आफू जानकार भइसकेको हुनुपर्छ र बल्ल सोही अनुरूप सन्तानलाई पनि बचपन देखि नै संस्कारी बनाउन सकिन्छ । फल त जस्तो बिज रोपिन्छ त्यस्तै फल पाउने न हो । यसरी हामी अभिभावक नै संस्कार विहीन हुनाले हाम्रा सन्तति पनि हाम्रो यो वैदिक संस्कारबाट वञ्चित हुँदै आएका छन् ।
हामीले एउटा अशल सन्तानको परिकल्पना गर्नु भन्दा पहिला, हाम्रो वैदिक संस्कार भनेको केहो ? हामीले त्यस अनुसारको आचरणको अनुशरण गरेका छौ छैनौ ? संस्कार विनाको जीवनले हाम्रो जीवनमा कति ठूलो असर पार्न सक्छ ? भन्ने कुरा हामी हर कोहीले महशुस गरेको हुनु पर्छ । हाम्रो दिन चर्या नै हाम्रो पहिचान हो भनेर हामी सबैले राम्रो सङ्ग बुझेको हुनु पर्छ ।
एउटा संस्कार विहीन शिक्षकले आफ्ना शिष्यलाई कस्तो शिक्षा देला ? आफैले अनुशासनको पालना गर्न नसक्ने शिक्षकबाट शिक्षित हाम्रा सन्ततिले कस्तो शिक्षा हासिल गर्लान् ? हाम्रा सन्तानको जीवनशैली भनेको हामीले उनलाई दिएको शिक्षाको प्रभाव हो, यो शिक्षाको परिणाम नै उनको न भविष्य हो भनेर हामी स्वयंले बुझ्नेको हुनुपर्छ ।
हरेक व्यक्तिले आफू जस्तो छ सङ्गतिलाई पनि उ आफू जस्तै बनाउन चाहन्छ । जुवाडेले जुवाडेको संख्या बढाउँछ । व्यापारीले व्यापारीको संख्या बढाउँछ । उद्योगीले उद्योगीका संख्या बढाउँछ । त्यसैले हाम्रा सन्तानले कस्ता व्यक्तिको सङ्गत गरेका छन् भनेर हाम्रा सन्तानका सङ्गतिको पृष्ठभूमि तर्फ पनि हाम्रो ध्यान पुगेको हुनुपर्छ । कुलतमा फसिसकेको व्यक्तिलाई पछि सहजै सुमार्गमा ल्याउन सकिँदैन । उनको भविष्य भनेकै हामीले दिएको संस्कारी शिक्षाको प्रतिफल हो । हाम्रो देशको शिक्षा हाम्रो माटोको परिवेश अनुकुलको नहुनाले नै हाम्रा सन्तति रोजगारीको अवसर खोज्न मुग्लान् पस्नु परेको छ । आज हाम्रा सन्ततिले विदेशमा रहँदा पनि उनिहरूको आचरणकै कारण विभिन्न यातनाको शिकार बन्नु परिरहेको अवस्था छ । यो सब हाम्रो नैतिक शिक्षामा आधारित व्यवहारिक शिक्षा नहुनुको परिणाम नै आजको यो परिणाम हो ।

मानिस सामाजिक प्राणी भएको हुनाले उ सङ्गति बिना एक्लो रहनै सक्दैन । सङ्गति भनेको जीवनको दिशा निर्देशक हो । कुलतमा परेको साथीको सङ्गतमा परियो भने आफ्नो जीवन पनि बर्वाद पारी दिन्छ । किन भने कालोलाई सफा गर्न त्यति सहज छैन जति सेतोलाई कालो बनाउन सहज हुन्छ । त्यसैले सङ्गति छान्दा उसको बायो डाटा राम्रोसङ्ग अध्ययन नगरी कसैको सङ्गतमा पर्नु पनि हुँदैन ।
भगवानबाट वरदानस्वरूप प्राप्त भएको यो हाम्रो प्राकृतिक छटा अनुरूपको हाम्रो राज्यको शासन व्यवस्था पनि हाम्रो देश सुहाउँदो भइदिएको भए हाम्रो देश स्वर्गको एक टुकडी जस्तै हुने थियो । आज विदेशमा सिस्टम छ तर हाम्रो सनातनी वैदिक शिक्षा अनुरूपको संस्कार त्यहाँ छैन । यहाँ हाम्रो परम्परामै वैदिक संस्कार छुपेको छ तर यहाँ राज्य सञ्चालनमा सिस्टम छैन । देश निर्माण गर्ने नेता भनेको, त्यागी, देशभक्त, भ्रष्टाचारमुक्त र जन प्रेमी र वैदिक संस्कारले युक्त सरकार हुन्छ तव मात्र त्यो सरकार जनहितमा हुन्छ । हाम्रो देशमा त जति नेता छानेर सदनमा पठाएपनि भ्रष्टाचारको जालोबाट मुक्त रहन सकेका छैनन् । ऐलेसम्मको हाम्रो देशको विडम्बना यही छ ।
लक्ष्मी प्रसाद देवकोटाको भनाइलाई उद्धरण गर्दै भन्ने हो भने ‘खोज्छन् सवै सुख भनि सुख त्यो कहाँ छ आफू मिटाई अरूलाई दिनु जहाँ छ ।’ यो दृष्टान्त अनुरूपको आचरण हुनु भनेको पनि त संस्कारकै उपज हो । मानिस अपराधीक गति विधिमा किन लाग्छ ? यो पनि हाम्रा सन्तान हामीबाट टाढिदै जानु र सन्तानको गति विधिमा हाम्रो दृष्टि पुग्न नसक्नु कै परिणाम हो ।
मानिसको जीवनमा मार्ग निर्देशन गर्न कै निमित्त यहाँ समय समयमा विभिन्न विद्वानहरूको आगमन पनि भएको छ । जस्तो की लेखराज कृपलानीद्वारा स्थापित ब्रह्म कुमारी इश्वरीय विश्व विद्यालय, जहाँ अध्यात्मको ज्ञान सिकाइन्छ । रजनीश ओशो जसले समाजमा आन्तरिक रूपान्तरणको निमित्त व्यक्तिगत स्वतन्त्रतामा जोड दिएका छन् । स्वामी विवेकानन्द, उनि सनातन धर्मका एक महान आध्यात्मिक गुरु, दर्शन शास्त्री भैकन पनि युवा जगतका प्रेरणाका श्रोत हुन् । अष्टाङ्ग योगसिद्ध योगिराज श्री इश्वरानन्दजी महाराज, ब्रह्मचारी गलेश्वर बाबाको, सामाजिक क्षेत्रमा विषेशगरी आध्यात्मिक शैक्षिक क्षेत्रमा अतुलनीय योगदान छ । यसैगरी नेपाली इतिहास संस्कृति, साहित्य र पुरातात्विक सम्पदा हरूको क्षेत्रमा नरहरी नाथज्यूको योगदान अतुलनीय रहेको छ । यसरी नै साधु सन्त महन्तहरूलाई उद्धरण गर्दै वहाँहरूका जीवनी अध्ययन गरी आफ्नो जीवनलाई सार्थक बनाउन समेत लेखकले यस किताबबाट तपाई हामीलाई प्रेरणा दिनुभएको छ ।
आजको मानिस पैसा कमाउने प्रतिस्पर्धामा लागेर घरका खेतबारी बाँझो राखेर बृद्ध भएका बाबु आमालाई एक्लो पारेर आफ्नो भविष्यलाई सुरक्षित बनाउने होड वाजीमा लागेर विदेश पलायन भइरहेको अवस्था छ । बाहिरिएका हरूमा कतिले त त्यहाँको सिस्टमसँग अनभिज्ञ हुनाले आफ्नो जीवन नै गुमाउन पुगेका छन् । “नेपाल गए कपाल सङ्गै, बर्मा गए कर्म सङ्गै” भन्ने जनउक्ति जस्तो आफ्नै घर उजाडेर पराया मुलुक पुग्नेलाई त्यहाँ पुग्दा पनि दुखले छाडेको हुँदैन । विदेशीको टोकाई, मुक्का लात सहँदा पनि नभएर कति त बक्सामा बन्द भएर फर्किनु परेको अवस्था पनि छ ।
यस्को समाधान भनेको आफ्नै देश भित्र रोजगारीका अवसरहरू सृजना गर्नु मात्र एक विकल्प हो । “थोडा खाना काशीका रहना” भन्ने उक्ति जस्तै हामीलाई स्वदेशमै रहेर हाम्रो दैनिकी गुजारा चल्ने सम्मको रोजगारी मिलेमा हामीलाई आफ्नै देश स्वर्ग तुल्य हुनेछ । जहाँ हाम्रा माता पिता र वहाँहरूका पसिनाले सिञ्चित खेत बारी रहेका छन् । तिनै खेत बारीलाई हराभरा बनाउन सके पनि “लेखा पढी के काम हलो जोत्यो मामै माम” भन्ने जन उक्ति जस्तो, हाम्रा पुर्खाले पनि भन्ने गर्नुहुन्थ्यो की राम भन्ने अगति पर्दैन र हलो जोत्ने भोकले मर्दैन भनेर । हो हामीलाई राज्यले सो अनुकुलको व्यवस्था बनाई दिनुप¥यो विदेश पलायन भएका युवा युवती अधिकांश स्वदेश फर्किने छन् ।
देशको वागडोर सम्हाल्ने नेता भनेको पक्षपात रहित, निष्ठावान् इमानदार, देशभक्त र आफैमा केही गरूँ भन्ने खालको उर्जनशील क्षमता भएको व्यक्ति हुनुपर्दछ । जवसम्म हामी स्वदेशमै आत्मनिर्भर हुन सक्दैनौं तवसम्म पराधीनमा रहन वाध्य हुने छौं । विकाश भनेको त समयको माग हो । हाम्रा आवश्यकतालाई मध्य नजर गरेर प्रकृतिको संरक्षण गर्दै हाम्रो बौद्धिक क्षमताले भ्याएसम्मको विकास गर्दै जाने हो । भनिएको पनि छ की विकास भनेको आवश्यकताको जननी हो भनेर ।
विकासको प्रमुख औजार भनेको हाम्रो स्वस्थ शरीर नै हो । अन्य औजार त मानवबाटै निर्मित भएका हुन् । त्यसैले “शरीर छर पो कण्ठी प्यारो” भन्ने उक्ति जस्तो विकासको नाममा अनाहकमा प्रकृतिको विनास गर्नुपनि हुँदैन । वातावरण स्वस्थ भए मात्र हामी स्वस्थ रहन्छौं । स्वर्गीय आनन्द त्यो हो जो आफ्नै परिवेशमा रहेर प्रदूषण मुक्त वातावरणमा सादगी जीवन जिउन पाउनु । प्रकृतिको प्रतिकूल जीवन जिउनु भनेको नारकीय जीवन जिउनु हो । त्यसैले पर्यावरणीय बसोबास र सात्विक जीवन जिउन पाउनु नै स्वर्गीय जीवनको अनुभूति गर्नु हो ।
निष्ठाको भाव एउटा प्रशासकमा हुँदैमा देश विकाश भै हाल्ने पनि होइन । एक हातले ताली बज्दैन भनेजस्तो हरेक काम टीमवर्कबाट मात्र सम्भव हुने हुनाले राज्यका निकाय हरूमा रहने व्यक्तिहरूमा पनि यो निष्ठाको भाव र आज्ञाकारिता हुनु उत्तिकै जरुरी छ । राज्यले एउटा सिष्टम बसाउने हो । काम त राज्यका संयन्त्रबाट स्वचालित रूपबाट नै निरन्तर भै रहन्छ । यो त सिस्टमबाट चल्ने कुरा हो । खाँचो छ त केवल यहाँ निष्ठावान् व्यक्तिको हो । राज्यको दोष भनौ वा हाम्रो दोष भनौं हामीले आजसम्म आफ्नो माटो पानी सुहाउँदो एउटा सही नेता उमार्न सकेका छैनौ । हाम्रो देशको विडम्बना यही हो ।
माथिका सवै कुराको निचोडले एउटा नयाँ कुरा के सिकाउँछ भने मानिसको जीवन भनेको स्वच्छ वातावरण युक्तको बसाई र सादा सादगी जीवन जिउनु भनेकै शरीरको जतन हुनु र पर्या वरणीय वतन हुनु हो । यस्को निमित्त जीवन प्रकृति मुखी, अनुशासित र निष्ठा वान हुनु पनि उत्तिकै जरुरी छ । शरीरको आवरण त स्नानादि बाट पनि शुद्ध गर्न सकिन्छ तर अन्तस्करणको शुद्धताको निमित्त विवेक बिचारमा पनि शुद्धता हुनुपर्ने हुनाले अन्तस्करणको सुद्धीको निमित्त यज्ञादि तीर्थ व्रत पूजा पाठ आदि कर्महरू आवश्यक ठानिन्छन् । जसको कारण मानिसमा नैतिक आचरणको विकाश हुने हुनाले आध्यात्मीक जीवन जिउन पनि सहज हुन्छ ।
हाम्रा ऋषि मुनिहरू दूर द्रष्टा थिए । उनिहरू को स्मरण शक्ति प्रबल थियो । हाम्रा तिनै अग्रज हरूबाट सृजित हाम्रा ग्रन्थहरू आजको युगमा पनि त्यत्तिकै सान्दर्भिक र व्यवहार उपयोगी छन् । हामी उनैका सन्तति हौं र पनि हाम्रो युग (समय) सम्म आइपुग्दा यो अपूर्व शक्ति कसरी लोप हुँदै गयो ? यो एउटा सोचनीय कुरा छ । सो समय ताकाको पर्यावरण खानपिन जीवन शैली आजको भन्दा निकै फरक छ । उनिहरू सात्विक आहार गर्ने प्रदूषणमुक्त पर्यावरणमा रहने आफ्ना काम आफै गर्ने स्वावलम्बन पन आदिको प्रभावको कारण नै यो शक्ति प्राप्त भएको हुनुपर्छ । आजको हाम्रो जीवन शैली उनि हरूको भन्दा नितान्त फरक छ । जसको कारण आज हामीले दिन प्रतिदिन यो सब गुमाउँदै आएका छौ ।
मानिसले यस धर्तीमा आफ्ना सुख सुविधाको निमित्त विकास त अन गिन्ती रुपमा ग¥यो, साथ साथै उसले प्रकृति माथि दमन पनि अति नै ग¥यो । यसैको परिणाम स्वरूप समय समयमा प्रकृति बाट उत्पन्न हुने विभिन्न सङ्कटको सामना पनि गर्नु परिरहेको अवस्था छ । देश काल परिस्थिति अनुरूपको शिक्षा छैन, स्वास्थ्य र रोजगारीका अवसरहरू छैनन् । आर्थिक लगानीको माध्यमद्वारा हाम्रा भाषा संस्कार र संस्कृतिमा बाहिरी हस्तक्षेप भएको छ । देशका सक्षम व्यक्तिहरू लाई पनि आर्थिक प्रलोभनमा पारी उतै आकर्षित गरी दिनाले देशका बौद्धिक युवा जगत देशै छाडेर पलायन हुने स्थितिमा छन् । बाहिर जो देखिँदै छ त्यो भित्रि रूपमा छैन । हाम्रो मौलिकता दिनानु दिन आपसेआप विलय हुँदै गएको स्थिति छ । वहाँका लेखहरू जति पढ्दै गयो त्यति मर्मस्पर्शी छन् । वहाँको यो पुस्तक लेख्नुको तात्पर्य नै हामीलाई यिनै कुराबाट सचेत गराउनु हो भन्ने मैले बुझेको छु ।
‘जतन गरे वतन रहन्छ’ भन्नुको तात्पर्य नै हामीले हाम्रा आधुनिक विकाशको नाममा अनावश्यक रुपमा पर्यावरण बिगार्दै आएका छौं । हामी स्वस्थ रहे मात्र हामीले यो सब भोग गर्न पाउने हो । पर्यावरण र हाम्रो खानपिन को शैलीको कारण हामी नै विकलाङ्ग रोगी र अल्पायु बन्दै गयौं भने यो विकाश गर्नुको कुनै औचित्य रहने छैन । त्यसै कारणले यहाँ लेखकले जतन गरे वतन रहनेछ भन्ने किताबद्वारा हामीलाई यही सम्झाउन खोज्नुभएको छ ।
लेखकले यो सानो पुस्तकमा यति राम्रा र यति धेरै सन्देश दिएर हाम्रा आँखा खोली दिने प्रयास मात्र गर्नु भएको छैन की वहाँले यति विधि कुराको गहिरो अध्ययन गरेर आफ्नै आर्थिक लगानीमा किताब छापी हामीलाई उपहार सरूप बाँडेर पनि अझै घरमा लगेर यो किताब पढ्दै नपढी कतै रक्षानमा वा चटपटेको पसलमा त पुग्ने होइन भन्ने चिन्ताले वाल बालिकाहरूलाई किताब पढ्ने प्रेरणा जगाउनका निमित्त प्रोत्साहन स्वरूप नगद पनि वितरण गर्दै हुनुहुन्छ भन्ने सुन्नमा आएको छ । मलाई त लाग्छ यो प्रेरणा रूपी उपहार आज होइन, आजको पन्ध्र दिन वा महिना दिनको समय दिएर जस–जसले यो किताब पढि सकेर आफ्ना प्रतिकृया लेखेर ल्याउँछ त्यसको उत्कृष्ट हुनेलाई क्रमस प्रथम द्वितीय तृतीय पुरस्कारको साथै सहभागी हुने जति सबैलाई सान्त्वना पुरस्कार स्वरूप निस्चित रकम उपलब्ध गराउने व्यवस्था भएको भए सायद यो किताबको सदुपयोग अवश्य हुने थियो भन्ने मलाई लाग्छ । जे होस लेखकको यो प्रयासको प्रशंसा हामी सबैले गर्नैपर्छ ।
यति बेरको समय मेरो यो किताब प्रतिको समीक्षा, ध्यान दिएर सबैले सुनिदिनु भएकोमा म यहाँहरू प्रति आभार प्रकट गर्दछु र साथै लेखकको बौद्धिकताको प्रशंसा र कदर गर्दै यहाँहरू सबैले यो किताबका पाना कुनै नछुटाई पढि दिनु हुन पनि अनुरोध गर्दै बिदा हुन चाहन्छु । जय देश नेपाल ! एवं जय हामी नेपाली ।
(पुस्तकका लेखक सागर शर्मा हुनुहुन्छ ।)












