जेठ २ दमौली
कारोना भाइरसको संक्रमितको संख्या बढ्दै जान थालेपछि यसको जोखिम कम
गर्न जिल्ला समन्वय समिति तनहूँले जिल्लाका सबै स्थानीय तहहरुसँग समन्वयात्मक
बैठक आयोजना गरेको छ । पछिल्ला दिनमा देशका विभिन्न जिल्लामा कोरोनाका
संक्रमितहरुको संख्या बढ्दै गएको र यसैको कारण लकडाउन लम्बिदै गएपछि
नागरिकको दैनिकी कष्टकर बन्दै थालेपछि सामुहिक धारणा बनाउन बैठक आयोजना
गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्लेले बताए ।
अहिले विशेषगरि भारतबाट नेपालीहरु आ आफ्नो जिल्लामा प्रवेश गर्ने क्रम
बढ्न थालेको र उनीहरु घर आएको जानकारी नहुँदा कोरोनाको संक्रमणको
जोखिम भएकोले जिल्लाका सबै नाकालाई कडाई गरिनु पर्नेमा सबै स्थानीय तहका
प्रमुखहरु सहमत भएको प्रमुख वाग्लेले बताए । तनहूँ जिल्ला प्रवेश गर्ने सबैभन्दा
महत्वपुर्ण नाका आवुँखैरेनीको मुग्लिङमा थप कडाई गर्न र निगरानी बढाउन
आवुँखैरेनी गाउँपालिकालाई व्यास नपा, भानु नपा र बन्दिपुर गाउँपालिकाले
आवश्यक भौतिक र आर्थिक सहयोग उपलब्ध गराउने र्निणय भएको छ ।
त्यसैगरि पोखराबाट भित्रिने शुक्लागन्डकीको कोत्रे नाकालाई थप कडाई र
व्यवस्थित गर्न शुक्लागन्डकी नपा र म्याग्दे गाउँपालिकाले आवश्यक व्यवस्था
मिलाउने, नवलपुरको डेढगाउँ तथा पाल्पाको रामपुरबाट भित्रिने ऋषिङ र
घिरिङको गाउँपालिकाको नाकालाई भिमाद नपा र ऋषिङ तथा घिरिङ
गाउँपालिकाले व्यवस्थित गर्ने तथा चितवनबाट प्रवेश गर्ने देवघाट गाउँपालिकाको
नाका देवघाट गाउँपालिकाले नै व्यवस्थित गर्ने निर्णय भएको जिल्ला समन्वय
समितिका प्रमुख वाग्लेले जानकारी दिए ।
त्यसैगरि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनहरु गुणस्तरीय नभएको हुँदा
प्रत्येक स्थानीय तहले कम्तीमा एउटा राम्रो क्वारेन्टाइनमा निर्माण गर्ने र
जिल्ला बाहिरबाट आउने हरेक नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखिनु पर्ने
निर्णय भएको छ । त्यसैगरि तनहूँमा लकडाउनको अवधिभर बाहिरि जिल्लाबाट
फलफुल र तरकारीमा आयातमा रोक लगाउने तथा आरडिटी तथा पिसिआर
परिक्षणको दायरा बृद्धी गर्ने निर्णय भएको छ । त्यसैगरि स्थानीय निर्माण
सामाग्री मात्र प्रयोग गरि निर्माणको काम गर्नु पर्ने, विद्यार्थी अभियान सन्चालन
नगर्ने लगायतको बारेमा पनि निर्णय भएको प्रमुख वाग्लेले बताए ।
राजनीतिक दल विच सहकार्य
यसैगरी तनहूँमा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र
जनता समाजवादी पार्टीको संयुक्त बैठकले कोरोना भाइरसको प्रभाव, तयारी र
बजार व्यवस्थापनको विषयमा समीक्षा गर्दै कोरोना भाइरसबाट हुने सुरक्षा
चुनौती लाई मध्यनजर गर्दै जिल्लालाई सुरक्षित राख्न राजनीतिक दल,
जनप्रतिनिधि, सुरक्षा निकाय र नागरिक समाजका विच सहकार्य गर्ने निर्णय
गरिएको छ ।
नेपाली काँग्रेसका सभापती बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले
तनहूँ जिल्लालाई खाद्यान्न, तरकारी, फलफुल, पशुपन्छी क्षेत्रमा आत्मनिर्भर
बनाउन जग्गा बाँझो नराख्ने गरि विशेष कार्यक्रमका साथ आगामी बजेटमा
सम्बोधन गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ ।
त्यसैगरि जिल्लाका केही स्थानमा प्राकृतिक श्रोत साधनको कानुन विपरित दोहन
भईरहेको जानकारीमा आएकोले त्यस्तो कार्य भएको भए सो कानुन विपरित
हुने हुँदा त्यस्तो कार्यको छानविन गरि दोषीलाई कारवाहीको दायरामा
ल्याउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।