३ जेठ, दमौली
कारोना भाइरसको संक्रमणको जोखिम कम गराउन व्यास नगरपालिकाले साताको एक दिन मात्र बैंक तथा वित्तिय संस्थाहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको बैठकले सेवाग्राहीको अत्याधिक भिड हुने बैंकलाई भने साताको दुई दिन सञ्चालन गर्न दिने निणर्य गरेको छ ।
ति बैंकको सेवा विहान ११ बजेदेखी दिउँसो २ बजेसम्म मात्र सन्चालन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिसँग विहिबार भएको बैठकमा कम्तीमा एक क्वारेन्टाइन व्यवस्थि तगर्ने निर्णय भए अनुसार व्यास नपा १ स्थित निर्मल माविमा २५ र व्यास नपा ४ स्थित मदरसा आधारभुत विद्यालयमा २५ शैयाको व्यवस्थित क्वारेन्टाइन निर्माण गर्ने निणर्य गरेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । त्यसैगरि नगरपालिकाबाट ३ हजार ५ सय ९२ र विभिन्न संघ संस्थाबाट ८ सय ९९ गरि जम्मा ४ हजार ४ सय ९१ घरपरिवारलाई गरिएको राहत वितरण अनुमोदन गर्ने निर्णय गरेको छ ।
नगरपालिका भित्र रहेका सुकुम्बासी, भुमिहिन र अव्यवस्थित बसोबासीहरुको विवरण जेठ १० गते भित्र सुकुम्बासी समस्या समाधान आयोगमा उपलब्ध गराउने र आर्थिक वर्ष ०७६÷७७ मा सञ्चालन हुने योजना यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्न सम्भव भए जेठ १५ गते भित्र सम्झौता गर्ने र सम्पन्न गर्न नसकिने योजनाहरु आगामी आर्थिक वर्षको क्रमागत योजनामा स्थानान्तरण गर्ने निर्णय पनि भएको नगरपालिकाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रमको तयारीको बारेमा छलफल गर्दै नगरपालिकाले जेठ २० गते भित्र सम्बन्धित सबै पक्षसँग छलफल गरिसक्ने र कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । नगरपालिकाको कोरोना नियन्त्रण, रोकथाम र उपचार कोषमा प्रदेश सरकारबाट १० लाख, नगरपालिकाबाट ५१ लाख, नेपाली काँग्रेसबाट ५ लाख, नेकपाबाट १ लाख ११ हजार, नगरपालिकाको कर्मचारीको तलबकट्टा तथा विभिन्न संघ संस्थाबाट प्राप्त गरि कुल ७४ लाख ८९ हजार १ सय १६ रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ ।
शुक्लागन्डकीमा बैंक र खाद्यान्न पसल साताको दुई दिन खुल्ने
यसैगरि शुक्लागन्डकी नगरपालिकाले नगरपालिका भित्र रहेका खाद्यान्न पसल हप्ताको दुई दिन (आईतबार र विहिबार) मात्र सन्चालन गर्न दिने निर्णय गरेको छ । नगर प्रमुख किसान गुरुङको अध्यक्षतामा जेठ २ गते बसेको नगर स्तरीय बजार व्यवस्थापन एवं कोरोना रोकथाम तथा आवश्यक तयारी गर्न सम्बन्धी गठित समितिको बैठकले खाद्यान्न पसल साताको दुई दिन विहान ११ देखी दिउँसो ३ बजेसम्म मात्र सुरक्षात्मक उपाय अवलम्बन गरि सञ्चालन गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताए ।
तरकारी र फलफुल पसल भने अर्काे निर्णय नहुँदासम्म पुर्णरुपमा बन्द गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ । त्यसैगरि नगरपालिका भित्र रहेका बैंक तथा सहकारी संघ संस्थाहरु पनि हप्ताको दुई दिन आईतबार र विहिबार मात्र सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।
नगरवासीलाई कोरोनाको संक्रमणबाट जोगाउन नगरपालिकाले उक्त निर्णय गरेको हुँदा सबै नगरवासीले त्यसलाई कार्यान्वयन गर्नेमा विश्वास लिएको प्रवक्ता कुमालले बताए ।