लिची पाक्यो तर विक्रीकोलागि बजार बन्द छ

Devghat Online

शेयर गरौ

११ जेठ, देवघाट
कृषकको बारीमा अहिले लिची पाक्न सुरु भएको छ । लिची पाक्न सुरु भएपनि विक्रीकोलागि भने बजार बन्द रहेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीको असर कृषकहरुमा परेको छ । त्यसको प्रतक्ष्य उदाहरण तनहूँको देवघाट गाउँपालिका–५ साउनेमा लगाईएको व्यवसायीक लिची खेती हो । सो वडाका अध्यक्ष यालबहादुर गुरुङ (विजय) ले ४० रोपनी क्षेत्रफलको जग्गामा तीन सय ५० वटा बोटमा लिची खेती गरेका छन् । अहिले लिची पाक्न सुरु भएपनि विक्रीकोलागि भने बजार बन्द भएको गुरुङले बताए ।
बारीमा लटरम्म लिची पाक्न थालेपनि बजार खुल्ला नहुँदा कहाँ विक्री गर्ने भन्ने समस्या भएको गुरुङले बताए । गत वर्ष व्यापारी नै लिची टिप्न बारीमा आउने गरेको भएपनि यस पटक कुनै पनि व्यापारीले सम्पर्क नगरेको उनले बताए । खब्दरी कृषि फर्म प्रा.लि. दर्ता गरि अध्यक्ष गुरुङले २०७० साल देखी व्यवसायीक लिची खेती गरेका हुन् । कुनै खेती नहुने रुखो जग्गामा लिची लगाएपनि यस पटक लिचीबाट सोचेजस्तो आम्दानी हुनेमा उनले आशंका गरे ।


गुरुङले गत वर्षबाट आम्दानी लिन थालेकाह हुन् । २०७० सालमा लगाएको केही बोटबाट गत वर्ष ५० हजार आम्दानी लिएको भन्दै उनले यस वर्ष सबै बोटले आम्दानी दिने हुँदा करिब दुई लाखको लिची विक्री अपेक्षा गरेको बताए । तर बन्दाबन्दीको कारण बजार नखुल्दा लिची बोटमै कुहिएर झर्ने हो की भन्ने डर भएको उनको भनाई छ ।
लिचीसँगै उनले सो जग्गामा केरा, आँप, निबुवा र कटहर समेत लगाएका छन् । आँप र कटहर पनि लटरम्म फलेको छ । तर प्राथमिकता लिची नै भएको भन्दै उनले लिची रापेर खाली रहेको जग्गाको सदुपयोग गर्न अन्य फलफुल समेत लगाएको बताए ।
लिचीको हेरचाहकोलागि एक जना कामदार राखेको भएपनि हरेक दिन आफु बगैचामा आउने र हेरचाह गर्ने उनले बताए । लिचीलाई मान्छेबाट भन्दा पनि बाँदरबाट जोगाउनु निकै चुनौती भएको उनले बताए ।
वडा अध्यक्ष गुरुङकै सक्रियतामा सो वडामा लिची पकेट क्षेत्र घोषणा गरिएको छ । गन्डकी प्रदेश सरकारको फलफुल पकेट क्षेत्र कार्यक्रम अन्तर्गत सो वडालाई लिची पकेट क्षेत्र घोषणा गरिएको थियो । लिची पकेट क्षेत्र कार्यक्रम कार्यान्वयनकोलागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११ लाख ३५ हजार रुपीयाँ उपलब्ध समेत गराईसकेको छ ।
पकेट क्षेत्र कार्यक्रम अन्तर्गत ५० जना कृषकहरु आवद्ध छन् । ति सबै कृषकले धेरै थोरै लिचीको खेती गरेका छन् । केहीले १०÷१५ बोट त केहीको ५०÷५५ बोटहरु रहेको छ । गाउँपालिका भित्रमा सबैभन्दा धेरै लिचीको बोट नै वडा अध्यक्ष गुरुङको रहेको अर्का लिची कृषक ऋषीराम सुवेदीले बताए । सुवेदीले पनि बन्दाबन्दीको असरले देवघाटमा उत्पादित लिची विक्रीमा समस्या हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू