१९ असोज, आवूँखैरेनी
आवुँखैरेनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष किसान थापाले आफुखुसी मोटर मार्ग उपभोक्ता समिति गठन गरेको विरोधमा उपभोक्ताहरुले आईतबार वडा कार्यालय घेराउ गरेका छन् ।
पृथ्विरामार्गको बरादीबाट भंगेरी हुँदै हिलेखर्क जोड्ने बरादी समस्तीपुर ज्ञानचौर हिलेखर्क मोटर मार्गमा उपभोक्ता समिति क्रियाशिल हुँदा हुँदै वडा अध्यक्ष थापाले उपभोक्ताहरुलाई जानकारी नै नदिई आफु अनुकुलका मनोज गुरुङलाई उपभोक्ता समितिको अध्यक्ष तोकेको विरोधमा करिब २ सय जना उपभोक्ताहरुले वडा कार्यालय घेराउ गरेका थिए ।



सो मोटर मार्गमा यस अघि उपभोक्ताहरुको भेलाले तुलबहादुर गुरुङलाई अध्यक्ष निर्वाचित गरेको थियो । सो उपभोक्ता समिति क्रियाशिल हुँदा हुँदै वडा अध्यक्ष थापाले कसैलाई पनि जानकारी नदिई कुनै भेला नै नराखीकन अर्काे उपभोक्ता समिति गठन गरेको उपभोक्ता रमेश थापाले बताए । उनले वडा अध्यक्षको मनोमानीको विरोधमा आईतबार २ सय भन्दा बढि उपभोक्ताहरुले वडा कार्यालय घेराउ गरिएको बताए ।
दुई पक्ष विच ठुलो भिड भई झडप हुन सक्ने सम्भावना बढेपछि इलाका प्रहरी कार्यालय आवुँखैरेनी र डुम्रेबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । दुई पक्षका उपभोक्ताहरु विच विवाद बढेपछि गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल वडा कार्यालयमा पुगी विवाद समाधानको पहल गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले उपभोक्ता समिति गठन गर्दा आम उपभोक्ताको भेला बोलाईनु पर्ने र प्रजातान्त्रिक प्रक्रियाद्वारा समिति गठन हुनुपर्ने प्रावधान रहेको बताए । उक्त विवादको समाधानकोलागि सोमबार गाउँपालिकामा दुई पक्ष विच वार्ता गरिने प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।












