२२ पुस, देवघाट
देवघाट क्षेत्र विकास समितिले प्रकाशन गरेको देवघाट दर्पण–५ बुधबार विमोचन गरिएको छ । क्षेत्र विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा देवघाट क्षेत्रमा रहेको गलेश्वर आश्रम पिठाधिस आत्मानन्द गिरी, महेस सन्यास आश्रम पिठाधिस पिठाधिस रमणानन्द गिरी र हरिहर सन्यास आश्रम ज्ञानानन्द सरस्वतीले संयुक्तरुपमा विमोचन गरे ।
सो अवसरमा बोल्दै आश्रमका पिठाधिसहरुले देवघाटधाम हिन्दु धर्मावलम्बीहरुको लागि निकै नै महत्वपुर्ण र पवित्र स्थल रहेको भन्दै तिन वटै तहका सरकारहरुले यस क्षेत्रको विकासमा ध्यान दिनु पर्ने बताए । अहिले कालिगन्डकी डाइभर्सनको विषयले देवघाट क्षेत्रको अस्तित्वमाथी नै चुनौती आएको भन्दै पिठाधिसहरुले आफुहरु देवघाटमा रहीन्जेल कालिगन्डकी डाईभर्सन हुन नदिने प्रष्ट पारे ।



कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले पुस्तकमा देवघाट क्षेत्रको महिमा उल्लेख गरिएको भन्दै उक्त पुस्तक मार्फत पनि देवघाटको थप प्रचार प्रसार गर्न सकिने बताए । पुस्तकका कालिगन्डकीको महत्व, महिमा, पौराणीक कुराहरु उल्लेख गरिएको भन्दै पौडेलले कालिगन्डकीको पानी जल मात्र हैन, इतिहाँस, सभ्यता, गौरव भएको बताए ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबावु घिमिरेले देवघाट क्षेत्रको महिमा स्थापित गरि यस क्षेत्रलाई नेपालकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताए । क्षेत्र विकास समिति मार्फत देवघाटको विकासमा लागि परेको घिमिरेको भनाई थियो । समितिका कार्यकारी निर्देशक घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सन्चालन समितिका कर्मचारी ढकराज ढकालले गरेका थिए ।












