१ माघ, देवघाट
माघे सक्रान्तीको अवसरमा तिन लाख भन्दा बढि भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाट स्थित त्रिशुली र कालीगन्डीको संगम बेणीमा स्नान गरेका छन् । विहान ३ बजेदेखी नै भक्तजनहरु बेणीमा स्नान गर्न गएका थिए । टाढाबाट आएका केही भक्तजनहरु राती नै देवघाटमा बास बसी विहानै नदीमा स्नान गर्न गएका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी दिर्नेशक धिरणवावु घिमिरेले यस वर्ष तिन लाख भन्दा बढि भक्तजनले बेणी संगममा स्नान गरेको बताए । कोरोना भाईरस (कोभिड–१९) को जोखिमको कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । तर पनि स्वतःस्फुतरुपमा भक्तजनहरु देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताए ।




देवघाट क्षेत्र विकास समितिले औपचारिक रुपमा मेलाको आयोजना नगरेपनि व्यवस्थित रुपमा स्नान गर्ने व्यवस्था भने मिलाईएको समितिका कार्यकारी निर्देशक घिमिरे बताए । घिमिरेका अनुसार विभिन्न उपसमितिहरु गठन गरि मेलालाई व्यवस्थित भने बनाईएको थियो ।

तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित त्रिशुली नदी र कालीगन्डकी नदीको संगम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशुली नदीमा २५ वटा ठुला डुङ्गाको व्यवस्था मिलाईएको थियो ।

नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाकोलागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । शसस्त्र प्रहरी र बोटेहरुले डुङ्गा मार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालिन उद्धारको तयारी गरेका थिए ।

हजारौं सवारी साधनको ओहोर दोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुङ्गाबाट जाने व्यवस्था मिलाइएको छ थियो भने र्फकदा आँपटारी हुँदै आउने व्यवस्था मिलाईएको कार्यकारी निर्देशक घिमिरेले बताए । मुग्लिङ–नारयणगढ सडक खण्डको दासढुङ्गामा पक्की पुल निर्माण भईसकेको हुँदा अधिकांश भक्तजनहरु दासढुङ्गा हुँदै देवघाट गएका थिए ।
माघे सक्रान्तीमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध मानिन्छ । गत वर्षहरुमा माघे सक्रान्तीको दिनमात्रै पाँच लाख भन्दा बढि भक्तजनले मेलाको अवलोकन गर्ने र वेणी संगममा स्नान गर्थे । गोसाईकुण्डबाट बगेको त्रिशुली र दामोदरकुन्डबाट बगेको कालीगन्डकीको संगम देवघाटको बेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । यसैले माघे सक्रान्तीमा स्नान गर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट लाखौं भक्तजन देवघाट आउने गरेका छन् ।

सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।












