५ असार, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ रातेमाटे नमुना बस्तीका २५ घर परिवारलाई रेडियो वितरण गरिएको छ । हालसम्म पनि सुचनाको पहुँचबाट टाढा रहेका निम्नवर्गका दलित एवं जनजाती समुदायलाई सुचनाको पहुँचमा ल्याउने उद्देश्यले देवघाट गाउँपालिकाले रेडियो वितरण गरेको हो ।
रेडियो वितरण गदै गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सुचना पाउनु नागरिकको अधिकार भएको भन्दै कोही पनि नागरिक सुचनाको पहुँचबाट टाढा बस्न नहुने बताए । नागरिकलाई देश विदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवं सुचनाहरु जानकारी दिन तथा रेडियो सुन्ने बानीको विकास गर्ने उद्देश्यले निम्न वर्गका नागरिकलाई रेडियो वितरण गरिएको उनले बताए । सो अवसरमा करिब १५ हजार बराबरको रेडियो वितरण गरिएको थियो ।



सो कार्यक्रममा गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले गाउँपालिकाले कृषि तथा पशु पालनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम र योजना निर्माण गरेको हुँदा कृषकलाई रेडियोको माध्यमबाट गाउँपालिकाको कार्यक्रम तथा सुचनामा पहुँच पुग्न सक्ने बताए । सुचनाको माध्यमटबाट कृषकले गाउँपालिकाको कार्यक्रमबाट लाभ लिनु पर्ने उनको भनाई थियो ।
सो अवसरमा रातमाटे नमुना टोल विकास संस्थाका अध्यक्ष डा. सुरेन्द्र श्रेष्ठ र सामुदायिक रेडियो देवघाटका स्टेशन म्यानेजर सुवास लामिछानेले पनि रेडियोको महत्वको बारेमा जानकारी गराएका थिए ।












