१५ असार, दमौली
तनहूँमा जारी निषेधाज्ञा असार २४ गतेसम्म जारी रहने भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले असार १५ गते सुचना प्रकाशन गरि निषेधाज्ञाको अवधि असार २४ गते राती १२ बजेसम्म लम्ब्याउनु भएको हो । कोभिड–१९ को जोखिमबाट बच्न भन्दै गत बैशाख २२ गतेबाट जारी भएको निषेधाज्ञा पटक पटक थप गर्दै पछिल्लो पटक असार २४ गतेसम्मकोलागि लम्ब्याईएको हो । यस अघि थप भएको निषेधाज्ञा असार १६ गते राती सकिँदै थियो ।
असार १५ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड १९ को जोखिम अझै कम नभएको र समुदाय स्तरमा व्यापक फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञाको आदेशलाई निरन्तरता दिने निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी आचार्यले निषेधाज्ञाको अवधि थप गर्नु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालले बताए ।



कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको सुचनामा उल्लेख छ । निषेधाज्ञा आदेशको उल्लंघन गरेमा कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम कारवाही गरिने सुचनामा उल्लेख गरिएको छ ।
यद्यपी यस पटकको निषेधाज्ञा विगतको भन्दा यस पटक केही खुकुलो बनाईएको छ । होटल तथा रेष्टुरेन्टलाई तयारी खाना तथा खाजा प्याकिङ गरि विक्री गर्ने सुविधा दिईएको छ । त्यस्तै बैंक तथा वित्तिय संस्थाहरु न्युनतम कर्मचारीको उपस्थिती गराई स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गरेर सन्चालन गर्न पाईने भएको छ । त्यस्तै फलफुल, खाद्यान्न, तरकारी, दुध र दुग्धजन्य पदार्थ, माछा, मासु, अन्डा, दाना पशु पंन्छीको औषधी विक्री गर्ने पसल विहान ११ बजेसम्म सन्चालन गर्न पाईने भएको छ भने अत्यावश्यक बाहेका अन्य सबै प्रकारका व्यवसाय विहान ८ देखी १ बजेसम्म सन्चालन गर्न पाईने भएको छ । यस अघि यस्ता व्यवसायहरु विहान ११ बजेसम्म मात्र सन्चालन गर्न पाईने थियो ।
नीजि सवारी साधनहरु गते अनुसार जोर ÷बिजोर रुपमा सन्चालन गर्न पाईने भएको छ भने सार्वजानिक सवारी साधनहरु सन्चालन गर्न पाईने छैन । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी घर, हेल्थ क्लव, व्युटी पार्लर, सैलुन, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुँद तथा भौतिक रुपमा हुने तालिम, प्रशिक्षण र सेमिनार पनि निषेधाज्ञाको समयमा सन्चालन गर्न नपाईने भएको छ । असार २० गते आईतबारबाट भने सरकारी कार्यालय तथा संस्थानहरु सन्चालन हुने भएका छन् ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकलाई व्यापार नगर्न र व्यवसायीले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु पर्ने आदेशमा उल्लेख छ । मास्क नलगाई आउने व्यवसायीलाई सेवा वा बस्तुको विक्री गरेमा त्यस्तो व्यवसायीलाई कारवाही गरिने आदेशमा जनाईएको छ ।












