देवघाट, फागुन २८
देवघाट गाउँपालिकामा सार्वजानिक पुस्तकालय भवन बन्ने भएको छ । २०६३ साल असार १२ गते स्थापना भएको उक्त पुस्तकालय रहेको हालको भवन जिर्ण र साँघुरो भएको हुँदा नयाँ भवन बन्ने भएको हो । अनुमानित १ करोड रूपैयाँ लागतमा देवघाट गाउँपालिका– ५ भवन बन्न लागेको हो । नयाँ निर्माण हुन लागेको भवनको हालै शिलान्यास गरियो ।



भवन निर्माणको लागि हाल देवघाट गाउँपालिकाबाट १० लाख रुपैयाँ तथा देवघाट क्षेत्र बिकास समितिबाट २ लाख गरि जम्मा १२ लाख रूपैयाँ प्राप्त भएको देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए । सो भवनको देवघाट स्थित गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर संन्यास आश्रम देवघाटधामका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरी, श्री निवास भागवत आश्रम देवघाटका प्रमुख डा. स्वामी चक्रपाणि आचार्य र देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले संयुक्त रूपमा शिलान्यास गरे ।
सो समारोहमा बोल्दै पीठाधीशहरुले सार्वजनिक पुस्तकालय देवघाटको महत्वपूर्ण चिनारी भएको हुँदा यसलाई हुर्काउनु र बढाउनु सबै देवघाटबासीको कतव्र्य भएको बताए । देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले पुस्तकालयको इतिहाँस गौरवपुर्ण रहेको बताए । पुस्तकालयले १७ वर्ष आइपुग्दा धेरै संघर्ष पार गरेर आएको भन्दै छ २०६३ सालमा तात्कालिन पुस्तकालयका अध्यक्ष डाक्टर गुरुप्रसाद सुवेदी र देवघाट क्षेत्र विकास समितिका तत्कालिन कार्यकारी निर्देशक शिवदत्त ढकालसँग सार्वजनिक पुस्तकालयको आवश्यकको बारेमा छलफल पश्चात पुस्तकालय स्थापना गर्ने निचोडमा पुगिएको बताए । अहिले उक्त पुस्तकालय देवघाटको महत्वपुर्ण चिनारी भएको अध्यक्ष पौडेलले बताए ।
हालसम्म उक्त पुस्तकालयबाट ३० हजार भन्दा बढिले मानिसहरूले सेवा लिइसकेको अध्यक्ष पौडेलले जानकारी दिए । छ । हाल भवन जिर्ण रहेको हुँदा नेपाल रेडक्रस सोसाइटी देवघाट शाखाको भवनमा एक वर्षको लागि सम्झौता गरेर पुस्तकालय सञ्चालन गरिएको र नयाँ भवन बनेपछि त्यसैमा सर्ने अध्यक्ष पौडेलले बताए । सो अवसरमा अध्यक्ष पौडेलले पुस्तकालयको भवन निर्माणको लागि आफ्नो तर्फबाट २० बोरा ओपिसि सिमेन्ट उपलव्ध गराउने प्रतिवद्वता जनाए ।












