तनहुँ, चैत ५
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा बाहिरी जिल्लाबाट नेता ल्याएर उम्मेदवार बनाए कार्यकर्ताले प्रतिरोध गर्ने चेतावनी दिएका छन् । आईतबार आँबुखैरेनीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले बाहिरी जिल्लाबाट उम्मेदबार आयात गरे कार्यकर्ता तथा मतदाताले प्रतिरोध गर्ने र काँग्रेसको उम्मेबादरको हार हुने बताए ।
तनहुँ–१ मा नेपाल समाजबादी पार्टीका नेता पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने चर्चा चलेको सम्बन्धमा भट्टराईले बाहिरबाट उम्मेदबार ल्याए बिरोध हुने बताए । बिना मेहनत तनहुँ जिल्ला खाली भयो भनेर आँखा लगाउनु उपयुक्त नभएको उनको भनाई थियो ।
‘कार्यकर्ता र मतदाताबाट गम्भिर प्रतिरोध हुन्छ’ भट्टराईले भने ‘पानीको पाइप ल्याउनु छैन, एक हजारको एउटा योजना हाल्नु छैन, मेरो दाबी हुन्छ भनेर भन्न मिल्दैन’ । कहिँकतै सहयोग नगरेको व्यक्तिले टिकटको लागि आँखा लगाउनु नाजायज विषय भएको भट्टराईले बताए । ‘नाजायज भएको व्यक्ति उम्मेदवार बनेर आउँछ भने गम्भिर रुपमा प्रतिरोध हुन्छ’ भट्टराईले भने । अन्य जिल्लाको उम्मेदवारलाई पार्टीले नपठाउने उल्लेख गर्दै नेता भट्टराईले आफूलाई कसैले रोक्न, छेक्नको लागि षडयन्त्रको खेल खेलिएको हुन सक्ने तर तनहुँ जिल्ला नेता आयात गर्ने नभई निर्यात गर्ने जिल्ला भएको बताए । रामचन्द्र पौडेलपछि आफु जिल्लाको सबैभन्दा सिनियर नेता भएकोले पार्टीले आपूmलाई नै टिकट दिने दाबी गर्दै कार्यकर्तालाई प्रचारमा जुट्न उनले आग्रह आग्रह गरे ।

साथीभाई, मतदाता, अन्य पार्टीका मतदाता सबैसँग भेटहुँदा सबैले आफुलाई उम्मेदवार बन्न भनेको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उत्तराधिकारी भनेको भन्दै भट्टराईले उम्मेदवार बन्ने पालो आएको बताए । ‘तीन कार्यकाल केन्द्रीय सदस्य, २०५३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष, त्यसपछि तरुणदलको महासचिव भएँ’ भट्टराईले भने, ‘दुई भातृ संस्थाको मूख्य स्थानमा बसिसकेको हुनाले तनहुँ–१ मात्रै हैन देशकै राजनीतिमा पहुँच स्थापित गर्नको लागि म उम्मेदवार बन्छु ।’
गठबन्धनको भागवण्डामा तनहुँ १ कांग्रेसको भागमा परेकाले अरु पार्टीले दाबी गर्न नमिल्ने भट्टराईको भनाई थियो । बजारमा उम्मेदवारको नाम सुन्दा राजनीतिक हिसाबले आफू भन्दा जुनियर रहेकोले आफ्नो उम्मेदवार लगभग निश्चित भएको उनले बताए । विगतको जस्तो तिक्तता, झगडा कांग्रेसमा नहोस् भन्नको लागि तनहुँको कांग्रेस एकताबद्ध बनाउने जिम्मेवारी रहेको त्यसप्रति आफू गम्भिर रहेको उनको भनाई थियो ।
मतदाता र विकास गर्ने नेता चाहिने र आफू कुनै पदको रुपमा रहँदा खानेपानी, विद्यालय भवन, मोटरबाटो विद्युतिकरण, पुल, टेलिफोन क्षेत्रमा ठुलो योगदान दिएको र पहल गरेकोले आममतदाताले आफूलाई चाहेको भट्टराईले दावी गरे । घरदैलोमा डुल्ने क्रममा कांग्रेस मात्रै नभई फरक पार्टी मतदाताले चाहेको पाएको भट्टराईले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस आँबुखैरेनीका नेताहरु चिजादेवी श्रेष्ठ, शालिग्राम अधिकारी, लगायतले विकासको काममा धेरै योगदान दिएको अग्रपंक्तिको नेता भएकोले जीत हासिल गर्न सहज हुने हुँदा भट्टराईलाई टिकट दिँदा उपयुक्त हुनेकुरामा जोड दिएका थिए ।















