देवघाट, साउन १
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले साउनको पहिलो सोमबारबाट सुरु भएको बोलवम मेलाले देवघाटको धार्मिक पर्यटनमा ठुलो टेवा पुग्ने बताएका छन् । बोलवम मेलामा सहभागी हुन देशभरबाट मात्र नभई भारतबाट समेत भक्तजन आउने हुँदा त्यसले देवघाटको महत्वको बारेमा थप प्रचार प्रसार हुने अध्यक्ष थापाले बताए । मेला व्यवस्थापनको लागि देवघाट गाउँपालिकाले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकासँग समन्वय गरेको अध्यक्ष थापाले बताए ।




चितवन र देवघाट जोड्ने झोलुङ्गे पुलमा एकैपटक लामो संख्या भक्तजनहरु वारपार गर्दा पुल जोखिममा पर्ने हुँदा मेलाको समयमा दुबै तर्फ प्रहरी राखेर पुलमा आलोपालो गरेर वारपार गर्ने व्यवस्थापन गरिएको बताए । पुलमा भक्तजनको आवत जावतमा सहज बनाउन गाउँपालिकाको प्रहरी पनि परिचालन गरिएको थापाले बताए ।

बाँदरले भक्तजनलाई समस्या पारेको भन्ने गुनासो समेत आएको हुँदा बाँदरको व्यवस्थापनकोलागि प्रहरीसँग सहयोग मागिएको र स्वयं भक्तजनलाई पनि बाँदरबाट जोगिन सेचत गराईएको थापाले बताए ।
देवघाटमा प्रख्यात धार्मिक स्थलहरु रहेको तथा कालिगन्डकी नदीमा शालिपग्रिाम समेत पाईने हुँदा भक्तजनहरु पछिल्लो समय बढ्न थालेको अध्यक्ष थापाले बताए । गाउँपालिकाले पनि देवघाटको धार्मिक पर्यटनको विकासकोलागि विभिन्न योजना बनाएको थापाले बताए ।

साउनको पहिलो सोमबार देवघाटमा बोलवम मेला भर्न एक लाख भन्दा बढि भक्तजन आएको अध्यक्ष थापाले दावी गरे ।












