देवघाट, असोज १४
देवघाट गाउँपालिका-५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा सन्चालित चक्रवर्ती डेरी उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरुमा दशैं र तिहारको अवसरमा १० प्रतिशत छुट दिईने भएको छ । आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको लागि उद्योगले दशैं र तिहारसम्म १० प्रतिशत छुटको व्यवस्था गरेको सहकारीकी व्यवस्थापक संगिता ओझाले बताईन् ।




सहकारी मार्फत उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दहि, घ्यु, पनिर, कुल्फी, आईसक्रिम र खुवामा उक्त छुट दिईने ओझाले बताईन् ।

सहकारीले आफ्ना शेयर सदस्यबाट संकलित दुधबाट ती बस्तुहरु उत्पादन गर्दै आएको छ । उक्त सहकारीका देवघाट गाउँ पालिकाको वडा नम्बर १,४ र ५ का ७६८ जना महिला शेयर सदस्य छन् । ती मध्ये अधिकांश वडा नम्बर ५ का छन् । शेयर सदस्य मध्ये अधिकांश पशुपालनमा संलग्न छन् ।

शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिद गरि दुग्धजन्य बस्तुहरु उत्पादन गरि विक्रि गर्दै आएको छ ।सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित बस्तुहरु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैडाकोट लगायतका बजारहरुमा डेरी पसल मार्फत विक्रि हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा विक्रि हुँदै आएको ओझाले बताईन् ।

ओझाका अनुसार हाल उक्त डेरी उद्योग मार्फत मासिक १० लाखको कारोबार हुँदै आएको छ । सहकारीको विक्रि मूल्य अनुसार दूध प्रति लिटर ९५ रुपैयाँ, दहि प्रतिलिटर १३०, घ्यु प्रति लिटर १३००, पनिर प्रतिकेजी ९००, कुल्फी प्रति पिस २०, आईसक्रिम प्रतिपिस ४० र खुवा प्रति केजी १ हजार रुपैयाँ रहेको छ ।

यी सबै उत्पादनका दशै तिहारको अवसरका १० प्रतिशत छुट दिईएको सहकारीले जनाएको छ । सहकारीलाई उत्पादित बस्तुहरुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।













