दमौली, चैत १५
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धनमा सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा विहिबार भानु नगरपालिकामा सम्पन्न भयो ।



उक्त कार्यक्रममा भानुका जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष, शाखा प्रमुखहरू, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरू, गैरसरकारी संस्था तथा स्थानीय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहजिकरण गर्दै आयोग पोखराका कार्यालय प्रमुख अस्मान तामाङले भ्रष्टाचारको अर्थ, अख्तियार दुरुपयोगको प्रकृति, हुने कारण, यसका मूल पात्र वा पदाधिकारीहरू, यसको सजाँय, यसको दीर्घकालीन प्रभाव र हाम्रो दायित्व जस्ता विषयमा विभिन्न घटनाहरूको दृष्टान्त दिदैं सहजिकरण गरेका थिए ।

स्थानीय तहका बारेमा परेका उजुरीको संख्या, यसका प्रकृति, अनुसन्धान र अभियोजनको विधि र प्रक्रिया तथा फैसला जस्ता विषयमा पनि प्रष्ट आयोगका कार्यालय प्रमुख तामाङले प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा भानुका नगर प्रमुख आनन्दराज त्रिपाठीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि कुनै एक व्यक्ति वा निकायको भूमिका मात्र पर्याप्त नहुने भन्दै यसका लागि सबैको सामुदायिक प्रयास र प्रतिवद्धता आवश्यक हुने बताए ।

उनले हामी सबैमा सकारात्मक चिन्तन, इमान्दारिता, नैतिकता, सदाचार र सेवाभावले ओतप्रोत दिनचर्या हुने हो भने सुशासनयुक्त समाजको परिकल्पना साकार हुनसक्ने बताए ।












