देवघाट, चैत २७
देवघाट गाउँपालिकाले हालै निर्माण सम्पन्न भएको प्रशासकीय भवन बरबुझारथ गर्न निर्माण कम्पनी रविना÷अविना जेभी काठमाडौंलाई अनुरोध गरेको छ । देवघाट गाउँपालिकाले उक्त ज्वाइन्ट भेन्चर निर्माण कम्पनीलाई मंगलबार पत्र पठाउँदै आगामी बैशाख १ गतेसम्म भवन बरबुझारथ गर्न अनुरोध गरेको हो । यदि उक्त समयसिमामा समेत भवन बरबुझारथ नगरेमा फर्मलाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाईने गाउँपालिकाले जनाएको छ ।



देवघाट गाउँपालिका प्रशासनिक भवन निर्माण योजनाको लागि उक्त फर्म र गाउँपालिका कार्यालय बीच २०७७ असार २२ गते भएको सम्झौता बमोजिम २०७९ असार १८ गते सम्पन्न गर्नुपर्नेमा उक्त अवधिमा विविध कारणले निर्माण कार्य सम्पन्न हुन नसकी पटक पटक म्याद थप हुँदै पछिल्लो पटक थप भएको म्याद समेत २०८० माघ मसान्तमा सकिएको गाउँपालिकाले जनाएको छ ।

२०८० माघ १५ मा त्यस फर्मलाई दशौं रनिङ विल भुक्तानी हुँदा केहि कार्य बाँकी रहेकोमा उक्त कार्य सम्पन्न गरी माघ मसान्तसम्ममा भवन बरबुझारथ गर्नुपर्नेमा उक्त रनिङ विल भुक्तानी भएपश्चात देखि नै भवनको मूल ढोकामा ताला लगाई. हालसम्म बाँकी निर्माण कार्य अगाडि नबढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले बताए ।
साथै सो भवनमा ताला लागेको कारण छुट्टै ठेक्का मार्फत गर्न लागिएको लिफ्ट जडान कार्य समेत शुरु गर्न नपाएको भनी लिफ्ट जडान गर्ने कम्पनीबाट गाउँपालिकामा गुनासो गरिरहेको साथै २०८१ वैशाख १ गते देखि नयाँ भवनबाट यस गाउँपालिकाको प्रशासनिक कार्य शुभारम्भ गर्ने भनी तयार गरिएकोमा उक्त कार्यमा समेत अवरुद्ध भै कार्यालयलाई कठिनाई उत्पन्न हुन गएको हुँदा तत्काल ताला खोली बाँकी कार्य सम्पन्न गरि २०८१ वैशाख १ गतेसम्ममा भवन बरबुझारथ गर्न गाउँपालिकाले अनुरोध गरेको हो ।












