देवघाटको कोटामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । फागुन १८

चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलको आयोजनामा शनिबार तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

देवघाट गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयसँगको सहकार्यमा पार्वती माविको प्राङ्गणमा गरिएको स्वास्थ्य शिविरमा ४ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा दुई सय जनाको मधुमेह परीक्षण गरिएको चितवन हस्पिटलका सञ्चालक समिति सदस्य तथा पेट, छाती, मुटु तथा मधुमेह रोग विशेषज्ञ प्राध्यापक डा.विजयप्रसाद पौडेलले जानकारी दिए । उनीहरुमध्ये नयाँ १२ जनामा मधुमेह पहिचान भएको उनले बताए ।
शिविरमा मेडिसन, हाडजोर्नी, प्रसुती, बाल रोग, नाक, कान, घाँटीलगायतको विशेषज्ञ सेवा प्रदान गरिएको थियो । १ सय ३० जनाको भिडिओ एक्सरे र एक सय जनाको ईसिजी गरिएको पौडेलले बताए । शिविरमा आएका बिरामीहरुलाई अस्पताल तथा विभिन्न औषधि उत्पादक कम्पनीबाट संकलन भएका औषधिहरु वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा प्रा.डा.विजयप्रसाद पौडेल, बालरोग विषेशज्ञ डा.कृष्णसागर शर्मा, स्त्रिरोग विशेषज्ञ डा.सुनिता आचार्य र डा.जीवन परियार, सर्जन डा.रसेस श्रेष्ठ, ह्याम्स अस्पतालका डा.चतुरानन्द यादव, रेडियोलजिष्टहरु डा.ज्ञानबहादुर श्रेष्ठ, डा.अमित चौधरी र नाक, कान, घाँटी रोग विशेषज्ञ कुमार श्रेष्ठलगायतका १४ जना चिकित्सकहरुले सेवा दिएका थिए ।

चितवन हस्पिटलकातर्फबाट एक दर्जनबढी प्राविधिकहरु बिरामीको सेवामा खटेको अस्पतालका कार्यकारी निर्देशक भोलानाथ पौडेलले जानकारी दिए । प्रा.डा.विजयप्रसाद पौडेलले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विकट क्षेत्रमा पुगेर विपन्न नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको बताए ।

देवघाट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मणिराज गुरुङले अस्पतालसम्म सजिलो पहुँच नहुँदा उपचारको अभावमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था अझै रहेको बताए । कोटामा ठूलो संख्यामा विशेषज्ञसहितको स्वास्थ्य शिविर पहिलो पटक आयोजना भएको उनले बताए । ‘बिरामी हुँदा समान्य औषधि पनि नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता गाउँमा अझै पनि छ। सरकारले सन्तोषजनकरुपमा स्वास्थ्य सेवा दिन सकेको छैन,’ गुरुङले भने, ‘यो अवस्थामा निजी अस्पतालका विशेषज्ञ डाक्टरहरु आएर सेवा दिँदै धेरै नागरिकले सेवा पाउनुभयो ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको