तनहुँ । चैत ५
आज देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ । त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयका सम्बन्धन प्राप्त तथा आङ्गिक क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको हो । विहान ८ बजेदेखी सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म चल्नेछ ।



निर्वाचनमा राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरु चुनावी मैदान छन् । यो निर्वाचन मिश्रीत निर्वाचन प्रणाली अन्तरगत हुनेछ । सभापती, सचिव र कोषाध्यक्ष सहित केही सदस्यहरु प्रतक्ष्य निर्वाचित हुने छन् भने उपसभापती, सहसचिव सहित केही सदस्य समानुपातिक निर्वाचनबाट चुनिनेछन् । प्रतक्ष्य तर्फ सम्बन्धित उम्मेदबारलाई नै मतदान गर्नुपर्नेछ भने समानुपातिक तर्फ निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनलाई मतदान गर्नुपर्नेछ । विद्यार्थी संगठनलाई प्राप्त मतको आधारमा उपसभापती र सदस्यहरु निर्वाचित हुनेछन् ।

स्ववियु विद्यार्थी नेता उत्पादन गर्ने कारखाना पनि हो । विगतका स्ववियुका सभापतीहरु राजनीतिक दलका महत्वपुर्ण पदमा पुगिसकेका छन् । यसबाहेक अर्काे महत्वपुर्ण कुरा के भने स्ववियु निर्वाचन राजनीतिक दलहरुको लागि मिनि आम निर्वाचन पनि हो । किनकी उक्त निर्वाचनमा राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरु चुनावी मैदानमा छन् । उक्त चुनावी परिणामले क्याम्पस तहमा राजनीतिक दलको अवस्था कस्तो छ भन्ने देखाउने हुँदा स्ववियु चुनावलाई राजनीतिक दलका नेताहरुले पनि प्रतिष्ठाको विषय बनाएका हुन्छन् ।
तनहुँका चार क्याम्पसमा स्ववियुको निर्वाचन भइरहेको छ । आबुँखैरेनी क्याम्पस, दमौलीको आदिकवि भानुभक्त क्याम्पस, शुक्लागन्डकी बेलचौताराको भानुभक्त क्याम्पस र भिमादको जनज्योती क्याम्पसमा स्ववियु निर्वाचन भएको छ । चार क्याम्पस मध्ये आबुँखैरेनी, भानुभक्त र जनज्योती क्याम्पसमा निर्वाधरुपमा निर्वाचन भईरहेको छ भने दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा नेविसंघ बाहेकका अन्य विद्यार्थी संगठनको बहिष्कारको बाबजुद क्याम्पस प्रशासनले बलजफ्ती तरिकाले निर्वाचन गरिरहेको छ । ठुलो संख्यामा प्रहरी परिचालन गरेर उक्त क्याम्पसमा क्याम्पस प्रशासनले निर्वाचन गरिरहेको छ ।

अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल समाजबादी र अखिल क्रान्तिकारी बहुमतले विज्ञप्ति प्रकाशित गरि उच्च अदालतको आदेश नआउँदासम्म १५ दिनकोलागि निर्वाचन कार्यक्रम स्थगित गर्न अनुरोध गरेका छन् । तर पनि क्याम्पसले कसैको आवाज नसुनी एकतर्फीरुपमा निर्वाचन गरिरहेको छ ।
नर्वाचन भएका मध्येमा आबुँखैरेनी क्याम्पसमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको छुट्टाछुट्टै प्यानल बनेको छ । आबुँखैरेनी क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाट सभापतीमा रक्षा पोख्रेल, नेपाली काँग्रेस निकट नेविसंघबाट सभापतीमा बोनिस अधिकारी र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट सभापतीमा निशान मगर उम्मेदबार बनेका छन् ।

यस्तै शुक्लागन्डकीको बेलचौतारा स्थित भानुभक्त क्याम्पपमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल बनेको छ भने नेविसंघको एकल प्यानल बनेको छ । सभापतीमा अनेरास्ववियुको प्यानलबाट मिनबहादुर थापा र नेविसंघबाट एजिना महतको उम्मेदबारी परेको छ ।

त्यसैगरि भिमादको जनज्योती क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन बनेको छ भने अनेरास्ववियुको एकल प्यानल बनेको छ । नेविसंघ र अखिल क्रान्तिकारीको प्यानलबाट सभापतीमा अमृत गैह्रे र अनेरास्ववियुबाट सभापतीमा विप्लव भण्डारीको उम्मेदबारी परेको छ ।

आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन भने विवादित बनेको छ । निर्धारित समयमा उम्मेदबारी दर्ता गरेका अनेरास्ववियुका उम्मेदबारहरुले आफुहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै उच्च अदालत पोखरामा निबेदन दर्ता गरेको र निर्वाचन सम्बन्धि कुनै पनि गतिविधि नगर्न अन्तरिम आदेशको माग गरेकोमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्विकार गरि निर्वाचन सम्बन्धि सबै कागजात सहित १५ दिन भित्र अदालतमा उपस्थित हुन विपक्षीलाई आदेश दिएको छ ।












