देवघाट । जेठ ६
देवघाट गाउँपालिकामा आयोजित मादल बजाउने १० दिने तालिम मंगलबार सम्पन्न भएको छ । गत बैशाख २८ गतेबाट आयोजित सो तालिमको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरि समापन गरियो ।



उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष थापाले तालिममा सिकेको सिपले स्थानीय कला र संस्कृतीको संरक्षणमा टेवा पुग्ने बताए । हिजो आज युवाहरु बिदेश पलायन भएको भन्दै अध्यक्ष थापाले संस्कृती संरक्षणकोलागि महिलाहरुको लागि तालिम आयोजना गरिएको बताए ।
अध्यक्ष थापाले स्वास्थ्यको लागि गाउँपालिकाले मनग्य बजेट बिनियोजन गरेको बताए । लैङ्गिक समनता र लैङ्गिक क्षमता अभिवृद्धि गर्नको लागि गाउँपालिकाले पालिकाले सूक्ष्म तरिकाले अध्ययन गरेर अगाडि वढ्ने थापाले बताए । देवघाट महिला सन्जाल स्थापना भएदेखि महिलाहरुको गतिविधहरुको विषयमा कार्यक्रम भइरहेको र देवघाटमा महिलाहरु धेरै अगाडि बढेको थापाले बताए ।
वडा नम्बर ५ का वडा सदस्य बुद्धिबहादुर पाण्डेले तालिममा सिकेको सिपले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । यसले गाउँघरमा चाडपर्वमा ठुलो क्यासेट बजाएर नाच्नुपर्ने प्रबृत्तिको अन्त्य हुने बताए । गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्तले कला र सस्कृतिलाइ जोगाउने यस कार्यक्रम उपयोगी रहेको बताए ।
चक्रवर्ती महिला उद्यमी सहकारी सस्थाकी अध्यक्ष सावित्री न्यौपानेले १० दिने तालिमलाई लम्बाएर १ महिनाको तालिम दिएको भए अझ उत्तम हुने बताइन् । उनले आगामी वर्षमा पनि यस्ता तालिमहरु निरन्तरता दिनुपर्ने बताइन् ।
तालिमकी सहभागी लक्ष्मी सोतीले मादल कसरी बजाउने भन्ने कुरा सिक्न पाउँदा खुसी लागेको बताईन् । उनले १० दिने तालिमले मात्र पुर्ण नभएको र यसलाइ निरन्तर दिन आफै घरमा बसेर मादल बजाउनुपर्ने बताइन् ।
अर्की सहभागी गंगा न्यौपाने काफ्लेले शून्य बाट मादल बजाउदा १० दिनमा धेरै सिकेको बताइन् । आफू विद्यालयको शिक्षिका भएको नाताले आफुले स्कुलमा पनि मादल बजाउन सिकाउने र मनोरोन्जन गराउने काफ्लेले बताइन्। सहभागी गोमा न्यौपानेले अबको समयमा महिलाहरु हरेक गतिविधिहरुमा अगाडि बढ्दै जानुपर्ने बताइन् । १० दिने तालिमले पुर्णता नभए पनि सहभागी महिलाहरुले घरमै मादल किनी मादल बजाउन पर्ने न्यौपानेले बताए ।
देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तव्य सन्जालकी उपाध्यक्ष माया शर्माले र सन्चालन सचिव एलिजा अधिकारी क्षेत्रीले गरेकी थिइन् । सो अवसरमा तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।












